एजुकेशनपत्र, काठमाण्डौं । नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्सले धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको बुधबार भ्रमण गरेका छन् । भ्रमणको क्रममा अस्ट्रेलियाली सरकार र केयूबीचको शैक्षिक गतिविधिका बारेमा जानकारी आदानप्रदान गरिएको उपकुलपति भोला थापाले जनाए ।
‘घुम्न आएको बेला नेपालको विश्वविद्यालय पनि हेरौं भन्ने दूतावासले हामीसँग आग्रह गरेको थियो,’ उनले भने, ‘यो हाम्रो लागि खुसीको कुरा थियो, घुमेर प्राध्यापक, विद्यार्थीसँग अन्तरक्रिया गर्नुभयो ।’
अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयसँग केयूले विगतदेखि नै सहकार्य गर्दै आएको छ । ती सहकार्य र भविष्यमा थप गर्न सकिने सहयोग आदानप्रदानको विषयमा चर्चा गरिएको विश्वविद्यालयले जनाएको छ । केयूको स्कुल अफ आट्स, स्कुल अफ इन्जिनियरिङले अस्ट्रेलियाको विश्वविद्यालयसँग सहकार्य गरेर पीएचडी कार्यक्रम संचालन गर्दै आएका छन् ।
केयूले वेस्टन सीड्नी युनिभर्सिटी र आरआरमाईटी युनिभर्सिटीसँग संयुक्त रुपमा पीएचडी कार्यक्रम संचालन गर्दै आएको छ । केही अनुसन्धान प्रोजेक्ट पनि संचालनमा रहेको छ । ‘धेरै नेपाली विद्यार्थी अस्ट्रेलियामा छन्, त्यस्तैगरी नेपालमा पनि त्यहाँका विद्यार्थी आदानप्रदान गर्ने वातारण कसरी बनाउन सकिएला भनेर छलफल भयो, विदेशमन्त्रीले सकारात्मक कुरा गर्नुभएको छ,’ थापाले भने ।
केयूले संचालन गर्न लागेको ग्रिन हाईड्रोजन र माइनिङ इन्जिनियरिङको कार्यक्रमबारे वाट्सलाई जानकारी दिइएको थियो । मेडिकल क्षेत्रमा मेन्टल हेल्थ रिसर्च सेन्टरसँग त्यहाँको सहकार्य कसरी गर्न सकिएला भनेर छलफल गरिएको थापाले बताए ।
स्कुल अफ एजुकेसनअन्तर्गत शिक्षक तालिमको आदानप्रदान गर्न पनि विश्वविद्यालयका पदाधिकारीले आग्रह गरेका थिए । ‘अस्ट्रेलियामा पढेर आउनुभएका केयूमा अध्यापकहरु हुनुहुन्छ, त्यहाँको कानुनले दिन्छ, गुणस्तर मान्यता पाउँछ भने केयूको कार्यक्रम अस्ट्रेलियामा संचालन गर्न चाहन्छौं भनेर प्रस्ताव पनि राखेका छौं,’ थापाले भने । कान्तिपुरबाट