ओम बाँनिया ।
मनोविज्ञान भन्छ, विचार प्रकाशभन्दा पनि अधिक वेगवान छ, अति सूक्ष्म र बलवान छ । प्रकाशको गति १ लाख ८६ हजार माइल प्रतिसेकेन्ड भएझैं विचारको गति १ लाख ९२ हजार माइल प्रतिसेकेन्ड छ । तर, कतिपय मनोवैज्ञानिकको मत छ कि विचारको गतिको कुनै सीमा छैन । यसको गति असीमित छ । जस्तो कि विचारमा शून्य सेकेन्डमा बुटवलबाट काठमाडौं पुग्न सकिन्छ । शून्य सेकेन्डमा नै बुटवलबाट अमेरिका पुग्न सकिन्छ । वैज्ञानिक प्रयोगद्वारा नै यो सिद्ध भएको छ कि मानिसका लागि विचार शक्ति यस संसारको सबैभन्दा शक्तिशाली ऊर्जा हो । विचारले नै मानिसको शारीरिक ढाँचा, हालचाल, रंगढंग, आचारण तथा चरित्र निर्धारित गर्छ । त्यसैले भन्न सकिन्छः मानिस आफैं आफ्नो चरित्र निर्माता हो । त्यसैले यस ऊर्जालाई आफ्नो हितमा सदुपयोग गरेर मस्तिष्क शक्ति तथा मानसिक शक्ति बढाएर चामत्कारिक कार्य गर्न सकिन्छ । असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ ।
विचारको उद्गमस्थल मस्तिष्क हो । विचारको प्रभाव पनि सबैभन्दा बढी मस्तिष्कमा नै पर्छ अनि मस्तिष्कमार्फत् सम्पूर्ण शरीरमा पर्छ । वैज्ञानिक रूपमा नै प्रमाणित भएको छ कि जब मानिसको मनमा विचार उत्पन्न हुन्छ, तब मस्तिष्कमा रासायनिक क्रिया तथा प्रतिक्रिया उत्पन्न हुन्छ, जसले गर्दा विचारसँग सम्बन्धित रसायन–न्युरोपेप्टाइड्स सक्रिय हुन्छन् । न्युरोपेप्टाइड केवल मस्तिष्कमा मात्र हँुदैन, शरीरभरि नै रहन्छ । पेट, मिर्गौला तथा कलेजोलगायतका अंगहरूमा पनि यसको उपस्थिति हुन्छ । यसै कारणले नै विचारले मानिसको शरीरिक ढाँचा तथा रंगढंग पनि निर्धारित गर्ने गर्छ ।
मानिसको मस्तिष्कमा सयौं प्रकारका स्नायु रसायन छन्, तीमध्ये सेरोटोनिन, नोरएपिनेफ्रिन तथा डोपामिन– यी तीन प्रसन्न मेसेन्जर हुन् । यिनै रसायनिक मेसेन्जरमा नै मानिसका आनन्द, खुसी तथा प्रसनन्ता टिकेको हुन्छ । यदि यी रसायनले ठीक काम गरेनन् भने मानिस खुसी र प्रसन्न रहन सक्दैन, जसले गर्दा अनिद्रा, चिन्ता तथा डिप्रेसन हुने गर्छ । तर, मानिसले शुभ विचार राख्छ, कालो बादलमा पनि चाँदीको घेरा देख्छ भने तनमनमा सकारात्मक ऊर्जा फैलिन्छ, स्नायु रसायनले पनि सन्तुलित अवस्थामा कार्य गर्छन् । स्नायु रसायनले ठीक ढंगबाट कार्य गरेको खण्डमा मानिस आफ्नो प्राकृतिक अवस्थामा रहन्छ, उसको इच्छा शक्ति, मस्तिष्क शक्ति तथा स्मरण शक्ति पनि प्र्रचण्ड हुन्छ । त्यसैले त भनिएको नै छ शुभ विचार तथा शुभ संकल्प शक्तिले नै मानिसलाई महान् बनाउँछ ।
मानिसको पहिलो सुख भनेको नै निरोगी शरीर हो । सकारात्मक विचारले आशा, उत्साह, जोस र जागर बढ्छ । जीवनको महान् लक्ष्य बन्छ
एउटा प्रसिद्ध लोकोक्ति छ: खेतमा जुन बाली रोपिन्छ, त्यही बाली नै भित्र्याउन सकिन्छ । खेतमा धानको बिउ रोप्यौं भने धान नै फल्छ, गहुँ फल्न सक्दैन । त्यसैले धान फलाउन धान नै रोप्नुपर्छ, गहुँ फलाउन गहुँ । प्रकृतिको यो सार्वलौकिक नियम ठीक यसै प्रकारले मानवीय जीवनमा पनि लागू हुन्छ ।
मानिसको मन–मस्तिष्क पनि एक किसिमको खेत नै त हो । जहाँ जस्तो विचारको खेती गरिन्छ, उत्पादन त्यस्तै हुने गर्छ । यदि विफलताको विचार रोपिन्छ भने विफलताको मनोवृत्ति नै उम्रिन्छ, हुर्किन्छ । फुल्छ, फल्छ । तर, विफलताको विचारबाट सफलता उत्पादन हुन सक्दैन । त्यसैले विफलताको विचारबाट सफलताको आशा गर्नु भनेको सिमीको बीज रोपेर स्याउको आशा गर्नुजस्तै हो ।
के यो सम्भव छ ? कदापि छैन । त्यसैले आफ्नो मन–मस्तिष्कमा कुन बीज रोप्ने हो, छनोट गर्नुपर्छ । आँप रोप्ने हो कि कटहर ? धान रोप्ने हो कि गहँु ? कोदो रोप्ने हो कि फापर ? तर, एउटा उल्लेखनीय कुरा के भने बोट बिरुवाको लागि उपयुक्त माटो र हावा पानी चाहिन्छ । जुनसुकै बिरुवा जुनसुकै माटो र जलवायुमा उम्रिन सक्दैन, हुर्किन सक्दैन । फुल्न र फल्न सक्दैन । तराईमा स्याउ फलाउन सकिँदैन, हिमालमा आँप । हिउँदमा धान रोप्न हँुदैन, वर्षायाममा गहँु । यो प्रकृतिको नियम नै हो । यो नियम मानवजीवनमा पनि लागू हुन्छ । त्यो ’cause मानिस पनि प्रकृतिकै एउटा अंग हो ।
विचारका दुई रूप हुन्छन् अर्थात् विचार दुई किसिमका हुन्छन् । एक, सकारात्मक विचार तथा अर्को नकारात्मक विचार । यसलाई राम्रा र नराम्रा विचार भन्न सकिन्छ, असल र खराब विचार वा शुभ र अशुभ विचार पनि भन्न सकिन्छ । विचारको बुभ्mनैपर्ने मनोविज्ञान के हो भने मानिसको मन–मस्तिष्कलगायत सम्पूर्ण शरीरमा राम्रा विचारको प्रभाव सधैं राम्रो पर्छ र नराम्रो विचारको प्रभाव सधैं नराम्रो नै पर्छ । वास्तवमा सकारात्मक विचार मन–मस्तिष्कको ऊर्जा हो भने नकारात्मक विचार तेजाब हो, सकारात्मक विचार जीवनको उज्यालो हो भने नकारात्मक विचार अँध्यारो । त्यसैले सकारात्मक र नकारात्मक विचारको प्रभाव बुझ्न यहाँ विचारको प्रभावको वासलात प्रस्तुत गरिएको छ ।
नकारात्मक विचारको नतिजा:
नकारात्मक विचारका कारण स्नायु रसायनले ठीकसँग कार्य गर्न सक्दैन, जसले गर्दा शारीरिक तथा मानसिक दुवै स्वास्थ्य खराब हुन्छ । नकारात्मक विचारकै कारण व्यक्तिको मनमा तनाव, चिन्ता, उदासीनता तथा निराशा छाउँछ । यदि यस्तो स्थिति लामो समयसम्म रहिरहेको खण्डमा मानिस पागल हुन सक्दछ । मानिसले आत्महत्या गर्न सक्छ । नकारात्मक विचारका कारण मानिसको जीवन उद्देश्यविहीन बन्न पुग्छ । मानिस अँध्यारोतिर जाकिँदै मनको दास जिउँदो लास बन्दछ । परिवार, साथीभाइ, सहपाठी तथा वैवाहिक सम्बन्धमा तीतोपना आउँछ । परिवार तथा वरिपरिका व्यक्तिलाई समेत कुप्रभाव पार्छ । साथी–भाइ, परिवार, समाज तथा राष्ट्रलाई नै हानि हुन्छ । व्यक्ति परिवार, सामाज तथा देशकै लागि बोझ बन्छ । अतः नकारात्मक विचारका बेफाइदा नै बेफाइदा छन्, एउटा पनि फाइदा छैन ।
सकारात्मक विचारका फाइदा
सकारात्मक विचारका कारण स्नायु रसायनले ठीकसँग कार्य गर्छन्, जसले गर्दा मस्तिष्कले अथाह ऊर्जा पाउँछ, मानिसको शारीरिक तथा मानसिक दुवै स्वास्थ्य ठीक रहन्छ । जीवन यात्रामा अघि बढ्न निरोगी शरीर हुनु अति आवश्यक छ । मानिसको पहिलो सुख भनेको नै निरोगी शरीर हो । सकारात्मक विचारले आशा, उत्साह, जोस र जागर बढ्छ । जीवनको महान् लक्ष्य बन्दछ । मानिस लक्ष्यको उज्यालोतिर बढ्दै जान्छ । दिनप्रति दिन प्रगति र उन्नति गर्दै जान्छ । परिवार, साथीभाइ, सहपाठी तथा वैवाहिक सम्बन्धमा खुसीयाली छाउँछ । आनन्द बढ्छ, लक्ष्यको बाटो नै मनोरञ्जनका साधन बन्छ । जीवन सुन्दर लाग्न थाल्छ । वरिपरिका व्यक्तिसमेत उत्प्रेरणा प्राप्त हुन्छ । परिवार, समाज तथा राष्ट्रलाई नै फाइदा हुन्छ । व्यक्ति परिवार, समाज तथा देशको नै धुरी खम्बा तथा सम्पत्ति बन्न सक्छ । अतः सकारात्मक विचारका फाइदा नै फाइदा छन्, एउटा पनि बेफाइदा छैन ।
तर, नकारात्मक वातावरणले भरिएको संसारमा सकारात्मक सोच तथा दृष्टिकोण खोज्न सजिलो छैन, निकै गाह्रो छ । त्यसैले संसारका अधिकांश मानिस नकारात्मकताको हिस्सा बनेर बिलाउँछन् भने जो जसले नकारात्मकताभित्र पनि सकारात्मकता खोजेर अघि बढ्छन्, उनीहरूले अवश्य नै सगरमाथाको चुचुरोमा सफलताको झन्डा गाड्छन् । यो नै सफलताको मनोविज्ञान हो । त्यसैले जीवनमा अगाडि बढ्न आशावादी दृष्टिकोण तथा सकारात्मक सोच राख्नु हरेक मानिसका लागि ज्यादै आवश्यक छ । वास्तवमा नकारात्मक सोच भनेको नर्क हो, सकारात्मक सोच भनेको स्वर्ग हो । अब नर्क रोज्ने कि स्वर्ग यो मानिसको हातमा नै छ । राजधानीबाट
(लेखक साइकोथेरापिस्ट तथा मेमोरी ल्याब प्रमुख हुन् ।)