सिराज खान,नेपालगञ्ज । कोहलपुर नगरपालिकाले विदेशमा सिकेको सिपलाई स्थानीयस्तरमा उपयोग गर्ने योजना बनाएको छ । नगरपालिकाको सबैलाई रोजगारी दिने नीतिअनुसार विदेशमा गएर गरेको र सिकेको सिपलाई उपयोग गर्न विदेश गएर फर्किएका युवाको तथ्यांक संकलन सुरु गरिएको हो ।
कोहलपुर नगरपालिकाअन्तर्गत सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले दिगो तथा सम्मानित रोजगारीका लागि रोजगारीको सिलसिलामा विदेश गएर फर्किएकाको तथ्यांक संकलन सुरु गरिएको बताउनुभयो ।
उहाँले दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो चरणसँगको साझेदारीमा कोहलपुर नगरपालिका क्षेत्रका युवाको तथ्यांक संकलन सुरु गरिएको बताउनुभयो ।
परियोजनाको आर्थिक वर्ष २०८९/०८० को कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारबाट फर्केका युवाका लागि सीपसम्बन्धी तथ्यांक संकलन, अद्यावधिक कार्यसम्बन्धी अभिमुखीकरणसमेत गरिएको छ ।
सामाजिक विकास समितिका संयोजक विश्वकर्माकाअनुसार तथ्यांक संकलनमा खटिने कर्मचारीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
उहाँले कोहलपुरको विकासका लागि सीपयुक्त जनशक्ति परिचालन गर्ने उद्देश्य नगरपालिकाको रहेको बताउनुभयो ।
कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले देश विकासका लागि युवाको आवश्यकता महसुस गरेर यो सर्वेक्षण शुरु गरिएको बताउनुभयो ।