एजुकेशनपत्र, काठमाण्डौं । विद्यालयमा जे पढाइन्छ, विद्यार्थीले त्यसलाई व्यवहारमा उतार्न सकेनन् भने मान्नुपर्छ—उनीहरूले सिकेनन् वा उनीहरूलाई सिकाइएन। त्यसो त नेपालमा विद्यालय जाने भनेको शिक्षकले पढाउने र विद्यार्थीले पढ्ने भन्ने धारणा छ। त्यो मान्यतामै खोट छ।
विद्यालयमा सिकाएका कुरा व्यवहारमा उतार्न नसक्ने भएकै कारण विद्यार्थीहरू स्वरोजगार र उद्यमशीलता उन्मुख हुन सकेका छैनन्। विद्यालयमै पढाएका कुराको सिकाइमा देशभरिकै विद्यार्थीको उपलब्धि निकै कमजोर देखिन्छ। सरकारकै निकाय राष्ट्रिय परीक्षण गर्दै आएको केन्द्रले देशभरका विद्यालयको सिकाइ उपलब्धि परीक्षण गर्दै आएको छ। देशभरकै परिणाम निराशाजनक छ। झन्–झन् खस्किँदो छ। सन् २०१७ मा गणित विषयमा विद्यार्थीको सिकाइ उपलब्धि ४६ प्रतिशत थियो भने २०२० मा त्यो ३२ मा झरेको थियो। कर्णाली प्रदेशको उपलब्धिमा पनि झन्–झन् कमजोर देखिन्छ।
कक्षा ८ का कर्णालीका विद्यार्थीको गणितको सिकाइ उपलब्धि १३ प्रतिशत देखिएको केन्द्रले जनाएको छ। यसै पनि विकासमा पछाडि परेको कर्णालीको शिक्षाको स्तर खस्किनु थप चिन्ताको विषय हो। बाटो र बिजुलीभन्दा पहिला शिक्षा र स्वास्थ्यमा अब्बल बनाउन सके कर्णाली होस् या जुनसुकै समुदायले छिटो प्रगति गर्छ र खासमा विकास भनेको पनि त्यही हो, जहाँ शिक्षा अब्बल हुन्छ, स्वास्थ्य सेवा गुणस्तरीय हुन्छ र नागरिक स्वस्थ हुन्छन्।
खासमा हाम्रा विद्यालयमा विद्यार्थीलाई सिक्ने वातावरण दिइन्न। शिक्षक विद्यार्थीको चाहना, मनोविज्ञान र उसको रुचि वा विशिष्ट प्रतिभाको पहिचान नगरी आफूले जेजे जानेको छ, त्यही–त्यही नै विद्यार्थीले जान्नुपर्छ भन्ठान्छन्। विद्यार्थीले शिक्षकसँग मन खोलेर जिज्ञासा राख्न सक्ने वातावरण कमै विद्यालयमा हुन्छ। किताब रटाउनु नै ज्ञान दिनु हो भन्ने बुझाइमै खोट छ। ज्ञान त किताबमा सीमित गर्न सकिन्न। ज्ञान बाँड्ने वा दिनेभन्दा पनि सिक्न सक्ने र सिक्ने प्रवृत्तिको विकास गरिदिनुपर्छ। त्यसो भए जुनसुकै विद्यार्थीले पनि जीवनमा आउने जुनसुकै अड्चन पनि सामना गर्न सक्छ।
वास्तवमा हाम्रो शैक्षिक प्रणालीमा बदलाव आवश्यक छ। शिक्षकको थाप्लोमा मात्रै विद्यार्थीको जिम्माको भारी बोकाएर पुग्दैन, अभिभावक, समुदायसमेत मिलेर विद्यालय शिक्षाको गुणस्तर उकास्नुपर्छ।