एजुकेशनपत्र, काठमाण्डौं । आर्थिक सर्वेक्षण २०७९/८० ले सबै तहमा गत शैक्षिक सत्रभन्दा यस शैक्षिक सत्रमा विद्यार्थी संख्यामा वृद्धि भएको जनाएको छ ।
सर्वेक्षणका अनुसार गत शैक्षिक सत्रको तुलनामा शैक्षिक सत्र २०७९ मा अध्ययनरत विद्यार्थीको संख्या २.५ प्रतिशतले वृद्धि भइ ७२ लाख ६९ हजार ५२१ पुगेको छ ।
तर विद्यार्थीको संख्या बढेको भन्ने कुरा विश्वास गर्न नसकिने शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाको भनाइ छ । उनी भन्छन्, ‘यो तथ्यांकमा विश्वास गर्न सकिने आधार छैन । विद्यार्थीको चाप हुने क्षेत्र यताउता भएको हुनसक्छ तर बढेको भनेर कसरी भन्न सकिन्छ ? जन्मदर नै घटिरहेको अवस्था छ । अधिकांश विश्वविद्यालयले विद्यार्थीको घटिरहेको भन्दै तथ्यांक बनाइरहेका छन् ।’
उनका अनुसार जन्मदर घट्दै गइरहकोले तल्लो कक्षामा स्वत: विद्यार्थी कम हुने र माथिल्लो तहमा वैदेशिक अध्ययनलगायतको कारणले विद्यार्थी कम भएकोले सर्वेक्षणको तथ्यांकलाई विश्वास गर्न नसकिने बताउँछन् ।
यी बाहेक विद्यालय तहमा विद्यार्थीको संख्या बढी भयो भनेर विश्वास गर्न नसकिने उनको भनाइ छ । सरकारकै जन्मदरको तथ्यांकलाई आधार मानेर पनि विद्यार्थी संख्या बढ्यो भन्न नसकिने उनको भनाइ छ ।
त्यस्तै विश्वविद्यालयहरुले विद्यार्थी अभावको समस्या झेलिरहेको र त्रिवि अन्तर्गतका क्याम्पसहरुले विद्यार्थी अभावको कारण मर्ज गर्ने प्रक्रियामा रहेकोले विद्यार्थी संख्या बढ्न नसक्ने उनको भनाइ छ ।
प्रा.डा.ज्ञवाली भन्छन्, ‘विद्यार्थी अभावकै कारण कतिपय सामुदायिक क्याम्पसहरुले कार्यक्रम नै बन्द गरेका छन भने धरै वटा क्याम्पसहरु मर्जरमा जाने भनिरहेका छन् । त्यस्तो अवस्थामा कसरी विद्यार्थी बढ्यो भन्न सकिन्छ ?’
सेरिडका उप-प्राध्यापक कमल देवकोटा क्याम्पस तहको कतिपय शैक्षिक कार्यक्रममा विद्यार्थी संख्या घट्दै गइरहेको तथ्यांकहरु आइरहेको भए पनि कतिपय शैक्षिक कार्यक्रममा विद्यार्थीको चाप पनि रहेकोले यकिन भन्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘विश्वविद्यालय तथा क्याम्पसहरुमा विद्यार्थी संख्या घट्दै गइरहेको पाइन्छ तर कतिपय शैक्षिक कार्यक्रममा चाप पनि भएकोले यसै भन्न सकिंदैन ।’
मानविकी, शिक्षाका कार्यक्रमहरुमा विद्यार्थी घटे पनि व्यवस्थापन, विज्ञान तथा प्रविधिमा विद्यार्थीको चाप बढिरहेको उनको भनाइ छ ।
आर्थिक सर्वेक्षण २०७८/७९ मा विभिन्न विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा २२.६ प्रतिशतले बढेर ६ लाख ८२ हजार ५८९ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा यो संख्या ५ लाख ५६ हजार ७९७ रहेको थियो ।
देशभर सञ्चालित विभिन्न ११ विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययनरत ६ लाख ८७ हजार ४०१ विद्यार्थी मध्ये त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी संख्याको अनुपात क्रमश ७८.२ प्रतिशत र २१.८ प्रतिशत रहेको छ ।
शैक्षिक सत्र २०७७ मा भन्दा शैक्षिक सत्र २०७८ को माध्यामिक परीक्षा (एसईई) मा सहभागी भएका विद्यार्थीको संख्या २.३ प्रतिशतले बढेको सर्वेक्षणले जनाएको छ ।
सर्वेक्षणको अनुसार शैक्षिक सत्र २०७८ मा ४ लाख ९५ हजार ६ सय ४८ पुगेको छ । शैक्षिक सत्र २०७७ मा यस्तो संख्या ४ लाख ८४ हजार २ सय ७८ रहेको थियो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो
आर्थिक सर्वेक्षण २०७९/८० ले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको देखाएको छ । सर्वेक्षण अनुसार विद्यालयको व्यवस्थापन, नेतृत्व, लगानी र गुणस्तर वृद्धिका लागि गरिएको विभिन्न प्रयासका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको उल्लेख छ ।
शिक्षाविद् प्रा.डा.विद्यानाथ कोईराला पनि सामुदायिक विद्यालयमा अहिले आकर्षण बढेको बताउँछन् । विद्यालयहरुले अहिले शैक्षिक गुणस्तर उकास्नको लागि प्रयास गरिरहेकैले सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको विश्वास बढ्न थालेको बताउँछन् ।
उनी भन्छन्, ‘हो, अहिले विद्यालयहरुले शैक्षिक गुणस्तर उकास्न धेरै मिहिनेत गरिरहेका छन् जसले गर्दा सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको विश्वास बढ्न थालेको देखिन्छ ।’
तर नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भने अहिले नै विद्यार्थीको आकर्षण बढेको भन्न नसकिने बताउँछन् ।
सरकारले दिने छात्रवृत्तिका कारण माथिल्लो कक्षामा निजीबाट सामुदायिकमा जाने क्रम रहेकोले सामुदायिक विद्यालयमा आकर्षण बढेको भन्न नसकिने बताउँछन् । उनी भन्छन् ,’विद्यार्थीको आकर्षण बढेको भन्न सकिँदैन । सरकारी तथ्यांकलाई मान्ने हो भने पनि तल्लो कक्षा र माथिल्लो कक्षाको भर्नादर तुलनात्मक हेर्दा माथिल्लो कक्षामा बढेको देखिन्छ । त्यो भनेको सरकारले दिने छात्रवृत्तिको कारण जानेको संख्या हो ।’
सर्वेक्षणले पनि शैक्षिक सत्र २०७९ मा आधारभूत तह (कक्षा १-५) का कुल विद्यार्थीमध्ये ७०.० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएका छन् । कक्षा बढ्दै जाँदा सामुदायिक विद्यालयतर्फ विद्यार्थी सर्ने क्रम बढ्दै गएको सर्वेक्षणले देखाएको छ ।
सर्वेक्षणले भने कतिपय सामुदायिक विद्यालयको भौतिक पूर्वाधार अभावको कारण विद्यालयले धान्न सक्ने विद्यार्थी मात्र भर्नाका गर्नका लागि प्रवेश परीक्षामार्फत विद्यार्थी छनोट गर्ने गरेको जनाएको छ ।
सीमित विद्यालयमा विद्यार्थीको चाप बढेको र त्यसलाई विद्यार्थीको आकर्षण बढेको भन्न नसकिने उनको भनाइ छ ।
तर शिक्षाविद् प्रा.डा.लक्ष्मण ज्ञवाली पनि सामुदायिक विद्यालयमा अभिभावक तथा विद्यार्थीको संख्या बढेको बताउँछन् ।
प्रधानाध्यापक, शिक्षक, स्थानीय तहले अहिले सामुदायिक विद्यालय सुधारका लागि प्रयास गरिरहेको र प्रभावकारी बन्दै गइरहेकोले आकर्षण बढेको बताउँछन् । उनी भन्छन्, ‘अहिले सामुदायिक विद्यालय सुधार नगरी उपाय छैन भन्ने प्रधानाध्यापक, शिक्षक तथा स्थानीय तहमा चेतना बढ्दै गइरहेको देखिन्छ त्यसैले उनीहरु विद्यालयको गुणस्तर सुधारको लागि विभिन्न उपायहरु अपनाइरहेको देखिन्छ ।’
सेरिड उप-प्राध्यापक कमल देवकोटा पनि विद्यालय तहमा विद्यार्थीको आकर्षण बढेको बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीको आकर्षण बढ्नुमा दुई वटा कुरा छन् एउटा नीतिगत र अर्को विद्यालयहरु आफैंले पनि प्रतिस्पर्धात्मक र गुणात्मक ढंगबाट अगाडी बढ्न प्रयास गरिरहेको कारणले ।’ यीनै कारणले सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढेको उनको भनाइ छ ।
सर्वेक्षणको अनुसार विद्यार्थीको बढी आकर्षण हुने विज्ञान, व्यवस्थापन जस्ता ऐच्छिक विषयहरु सामुदायिक विद्यालयमा भन्दा संस्थागत विद्यालयमा उपलब्ध हुने कारणले संस्थागत विद्यालयको माध्यामिक तह (९-१०) को तुलनामा माध्यामिक तह (११-१२) को तुलनामा माध्यमिक तह (११-१२) मा भर्ना हुने विद्यार्थीको अंशमा वृद्धि भएको छ ।
शैक्षिक सत्र २०७९ मा आधारभूत तह (कक्षा १-५) मा विद्यार्थीको खुद भर्नादर ९७.१ प्रतिशत, आधारभूत तह (कक्षा १-८) मा ९६.१ प्रतिशत, माध्यमिक तह (कक्षा ९-१०) मा ७६.५ प्रतिशत र (कक्षा ९-१२) मा ५७.४ प्रतिशत रहेको छ ।
विद्यार्थीको टिकाउ दर बढ्यो, बालकक्षाको संख्या पनि बढ्यो
सर्वेक्षणले पछिल्ला वर्षहरुमा विद्यार्थीको टिकाउ दर क्रमश बढ्दै गएको देखाएको छ । शैक्षिक सत्र २०७९ मा कक्षा ८ सम्मको टिकाउ दर ८५.७ प्रतिशत, कक्षा १० सम्मको टिकाउ दर ६७.३ प्रतिशत र कक्षा १२ सम्मको टिकाउ दर ३५.६ प्रतिशत पुगेको छ ।
शैक्षिक सत्र २०७९ मा बालकक्षाको संख्या पनि बढेको छ । ३३ हजार ७६२ सामुदायिक (परम्परागत विद्यालयमा सञ्चालित ५३८ समेत) र ६ हजार ८९४ संस्थागत गरी ४० हजार ६५६ वटा प्रारम्भिक बाल कक्षा तथा पूर्व प्राथमिक कक्षाहरु सञ्चालनमा रहेका छन् । शैक्षिक सत्र २०७८ मा यस्तो संख्या ३६ हजार ५३१ रहेको थियो ।
स्थानीय तहबाट थप प्रारम्भिक बाल कक्षाको अनुमति प्रदान गरिएको र गत वर्षको तुलनामा संस्थागत विद्यालयहरुको रिपोर्टिङमा वृद्धि भएका कारण प्रारम्भिक बालविकास तथा पूर्वप्राथमिक कक्षाको संख्या बढेको छ ।
बालविकास केन्द्रको अनुभव लिइ कक्षा १ मा भर्ना हुने विद्यार्थीको अनुपात बर्सेनि वृद्धि हुँदै गएको छ । शैक्षिक सत्र २०७४ मा यस्तो अनुपात ६६.३ प्रतिशत रहेको शैक्षिक सत्र २०७९ मा बढेर ७६.७ प्रतिशत पुगेको छ ।
अपांगता भएका बालबालिकाका लागि ३३ विशेष विद्यालय र २३ एकीकृत विद्यालय सञ्चालनमा रहेका छन् । त्यस्तैगरी आपंगता भएका बालबालिकाको लागि ३८० स्रोत कक्षाको व्यवस्था गरिएको छ ।
दृष्टिसम्बन्धी अपांगता भएका बालबालिकाको लागि निःशुल्क ब्रेल पाठ्यपुस्तक गराउनुका सथौ साङ्केतिक भाषा एवं अन्य सिकाइ सामग्री विकास एवं वितरण गर्ने कार्यक्रम समेत सञ्चालनमा रहेका छन् ।
आधारभूत तथा माध्यमिक तहतर्फ शैक्षिक सत्र २०७९ मा ५६ हजार ५४८ अपाङ्गत भएका बालबालिकाले आवासीय एवम् गैरआवासीय छात्रवृत्ति प्राप्त गरेका छन् ।