गाउँपालिकाद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय पुरस्कृत | Education Patra

गाउँपालिकाद्धारा उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय पुरस्कृत


ताप्लेजुङ, जेठ २२ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई पुरस्कृत गरेको छ ।

शैक्षिक क्षेत्रको विकासमा टेवा गर्ने उद्देश्यसहित गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।

blog

जेहेन्दार तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट कार्य सम्पादन गर्ने शिक्षक तथा प्रधानाध्यापक र उत्कृष्ट शैक्षिक क्रियाकलाप गर्ने विद्यालयलाई पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले जानकारी दिनुभयो । अध्यक्ष लिम्बूका अनुसार उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई नगद पुरस्कार, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको छ ।

उत्कृष्ट मूल्याङ्कन भई पुरस्कृत हुने विद्यार्थीमा कक्षा ८ तर्फ विनिता तामाङ र टेकहाङ लाबुङ रहनुभएको छ । उहाँहरुलाई जनही २० हजार रुपियाँसहित पुरस्कृत गरिएको छ । यस्तै, कक्षा १० तर्फ सामना चौलागाईं र विकेन्द्र लिम्बू पुरस्कृत हुनुभएको छ । उहाँलाई जनही २५ हजार रुपियाँका दरले नगद प्रदान गरिएको छ ।

कक्षा १२ तर्फ भने धनकुमार पौडेल र प्रदिप लिम्बू पुरस्कृत हुनुभएको छ । पौडेल र लिम्बूलाई जनही ३० हजार रुपियाँ नगदसहित पुरस्कृत गरिएको पालिकाका उपाध्यक्ष रवीन लिम्बूले जानकारी दिनुभयो ।

त्यसैगरी उत्कृष्ट शिक्षकतर्फ गणेश प्राथमिक विद्यालयकी चन्द्रा कार्की थापा, सावित्री आधारभूत विद्यालयका मिङ्माठिले शेर्पा, महेन्द्र आधारभूत विद्यालयकी समीक्षा ढुङ्गाना, सरस्वती आधारभूत विद्यालयका राजकुमार राई पुरस्कृत हुनुभएको छ ।

सेवालुङ माध्यमिक विद्यालयकी सरस्वती लिम्बू, सरस्वती माध्यमिक विद्यालयका विप्लव भट्टराई पनि उत्कृष्ट शिक्षकका रुपमा सम्मानित हुनुभएको छ ।

यस्तै प्रधानाध्यापकतर्फ रानी आधारभूत विद्यालयका प्रेमप्रसाद खतिवडा, सरस्वती माध्यमिक विद्यालयका चन्द्रमणि लिम्बू, सुनदेवी माध्यमिक विद्यालयका विशाल राई र सिंवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतम सम्मानित हुनुभएको छ ।

पालिकाभरिको उत्कृष्ट विद्यालयको रुपमा रानी आधारभूत विद्यालय फक्ताङ्लुङ गाउँपालिका वडा नम्बर ४ इखाबुलाई सम्मान गरिएको छ । पढाइलाई निरन्तरता दिनमा प्रेरित गर्न विद्यार्थी र थप प्रभावकारी शिक्षा प्रदान गर्नमा प्रोत्साहन गर्न शिक्षकलाई सम्मान गरिएको हो । सम्मानको कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्