एजुकेशनपत्र, दोलखा । विगु गाउँपालिका–३ स्थित शारदा माविका विद्यार्थीहरु विषय शिक्षकको माग राख्दै अहिले आन्दोलनमा उत्रिएका छन् । सोमबार कक्षा बहिष्कार गरी चर्को घाममुनि विद्यालयमा जम्मा भएर विद्यालय प्रशासन प्रति असन्तुष्टि व्यक्त गर्दै नाराबाजी गरेका थिए ।
विद्यालयमा गत फागुनदेखि नै दरबन्दी अनुसारका चारजना शिक्षकहरु नहुँदा स्कुलले विभिन्न समस्या भोगी रहेको छ । यसले सिकाइ र सिकाइ प्रक्रियालाई नराम्ररी प्रभावित गरेको छ ।
विद्यार्थीहरू विषय शिक्षक र गुणस्तरीय शिक्षाको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । शिक्षा सेवा आयोगले स्थायी दरबन्दीका लागि मनोनयन गरेका शिक्षक विद्यालय हाजिर भएपछि राहत कोटाका एक शिक्षकले राजीनामा दिएका छन् ।
शिक्षक भर्नाका लागि गत फागुनमा विज्ञापन प्रकाशित भए पनि करार शिक्षकका लागि परीक्षा सञ्चालन हुन नसकेको प्रधानाध्यापक बालकृष्ण मल्ल ठकुरीले बताए ।
विद्यालय व्यवस्थापन र नगरपालिकाको शिक्षा विभागले राजनैतिक कारणले प्रधानाध्यापक परिवर्तन गर्न लगाएका कारण शिक्षण सिकाइको वातावरण प्रभावित भएको उनले बताए ।
तर स्थायी दरबन्दीसमेत उक्त विद्यालयमा कोटा नपरेपछि पठनपाठ प्रभावित बनेकोले विद्यार्थी आन्दोलनमा उत्रेको प्रधानाध्यापक बालकृष्ण मल्ल ठकुरीले बताए ।
‘विद्यालयमा शिक्षक भर्नाका लागि गएको फागुनमा विज्ञापन गरिएको थियो,’ उनले भने ‘तर अझैसम्म करारमा लिइने शिक्षकको परीक्षासमेत हुने सकेको छैन ।’
राजनीतिक आधारमा विद्यालयका प्रधानाध्यापक परिवर्तन गरेर मात्रै शिक्षक भर्ना गर्ने विद्यालय व्यवस्थापन र पालिकाको शिक्षा शाखाको अडानका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको ठकुरीले बताए ।
पछिल्लो समय सञ्चालक समिति र प्रधानाध्यापकबीचको विवाद बढ्दै गएको छ । विगु गाउँपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजालले विद्यालय व्यवस्थापन र प्रशासनले माग सम्बोधन गर्न नसकेका कारण विद्यालयमा रिक्त दरबन्दीका लागि विज्ञापन गर्न नसकेको बताए ।
प्रिन्सिपल र व्यवस्थापन समितिबीच चलिरहेको विवादले विद्यार्थीको पठनपाठनमा प्रतिकूल असर परेको भन्दै सम्बन्धित अभिभावकले तत्कालै हस्तक्षेप गर्नुपर्नेमा जोड दिए । विद्यालय विगत चार महिनादेखि यही द्वन्द्वमा फसेकाले शैक्षिक वातावरणमा ठूलो असर परेको छ ।