एजुकेशनपत्र, काठमाण्डौं । नेपाल संस्कृत विश्वविद्यालयको स्थापना योगी नरहरिनाथले चिम्टा गाडेर सुरुवात गर्नुभएको थियो । हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्मे हुन्थ्यो संस्कृत विश्वविद्यालय परिसर, केही महिनाअघि मात्रै राष्ट्रपति आउँदा विश्वविद्यालयको केन्द्रीय कार्यालयभित्र पुग्ने सडकका खाल्डाखुल्डी सम्म्याउने काम भएको थियो ।
यसपटक दीक्षान्त समारोह आयोजना हुने भएपछि उक्त क्षेत्रको सडक नै कालोपत्रे गरिएको छ । घोराही तुलसीपुर सडकखण्डदेखिको विश्वविद्यालयको मूल गेटदेखि केन्द्रीय कार्यालयसम्मका साथै सहायक गेटसम्म पुग्ने सडक कालोपत्रे गरिएको छ । लुम्बिनी प्रदेश सरकारले उक्त क्षेत्रको सडक कालोपत्रे गर्नका लागि बजेटको व्यवस्था गरेको थियो ।
विश्वविद्यालयले २०६८ सालयता १२ वर्षपछि पाँचाै दीक्षान्त समारोह आयोजना गर्न लागेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेले २०६७ सालदेखि २०७६ सालसम्म शास्त्री, एक वर्षे शिक्षा शास्त्री, आयुर्वेद स्नातक तह(विएएमएस), आचार्य र विद्यावारिधि उत्तीर्ण गरेका चार हजार सात सय ७३ जनामध्ये दीक्षितका लागि आवेदन दिएका पाँच सय ७५ जना विद्यार्थीहरू दीक्षान्त समारोहमा सहभागी हुन थालेको बताउनुभयो ।
समारोहमा सम्पूर्णानन्द विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न हुन थालेको हो । दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न हुँदैछ । दीक्षान्त समारोहमा प्रधानमन्त्रीसहित शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राई, सूचना तथा प्रविधिमन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आउने कार्यक्रम रहेको छ ।
उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेका अनुसार बुधबार बिहान ९ बजे प्रधानमन्त्री आउने कार्यक्रम तय गरिएको छ । लामो समयसम्म दीक्षान्त समारोह नभएकै कारण विद्यार्थीले मूलप्रमाणपत्र प्राप्त नगरेका कारण विदेशमा पढ्न जानबाट वञ्चित हुँदै आएका थिए । आयुर्वेद स्नातक तह(विएएमएस)का विद्यार्थी पहिलो पटक दीक्षित हुन थालेका छन् ।