करुण अर्याल, लण्डन । अक्सफोर्ड विश्वविद्यालयको एक्सेटर कलेजको प्राज्ञ सभाले प्राध्यापक सूर्यप्रसाद सुवेदीलाई मानार्थ फेलोकाे पदमा निर्वाचित गरेको छ ।
कला, साहित्य, विज्ञान, प्रविधि, चिकित्साशास्त्र, मानविकी, समाजशास्त्र, कानुनजस्ता विधामा उत्कृष्ट योगदान दिने व्यक्तिलाई नियुक्ति गरिने उक्त फेलोसिप अक्सफोर्डको कलेजहरूले दिन सक्ने सबभन्दा उच्च सम्मान हो । उक्त कलेजका प्राचार्य प्राध्यापक सर रिक ट्रेनोरले प्राध्यापक सुवेदीलाई अक्सफोर्डमा उच्च सम्मानको रूपमा हेरिएको बताउनुभयो ।
हेरी पोटरकी चर्चित लेखिका जे के राउलिंग, बेलायती लेखकद्वय आलन बेनेट र सर फिलिप पुलम्यान, स्पेनकी महारानी सोफिया, घानाका पूर्वराष्ट्रपति डा. जोन कुफोउर, जीव विज्ञानशास्त्री सर जोन आसवोर्थ र नेल्सन मण्डेलालगायतका व्यक्ति उक्त कलेजका मानार्थ फेलो छन् । यस्ता चर्चित व्यक्तिबीच आफूलाई पनि मानार्थ फेलो नियुक्त गरिएकोमा गौरवान्वित भएको प्रा. सुवेदीले बताउनु भयो ।
अक्सफोर्डबाटै विद्यावारिधि र महाविद्यावारिधि गर्नुभएका प्रा. सुवेदीको नाममा तीन वर्षअघि उक्त विश्वविद्यालयले एउटा वार्षिक पुरस्कार स्थापना गरी उहाँलाई सम्मान गरेको थियो । उहाँले अन्तर्राष्ट्रिय कानुनका प्राय आयामहरूमा १२ वटा विश्वस्तरका ग्रन्थ र ६० भन्दा बढी अनुसन्धानात्मक लेखहरू ख्यातिप्राप्त जर्नलहरूमा प्रकाशित गर्नुभएको छ । उहाँले मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीबाट मानार्थ ओबीई र मानार्थ क्विन्स काउन्सेलजस्ता विशिष्ट कानुनविद्हरूलाई दिइने उच्च उपाधि प्राप्त गर्नुभएको छ ।
हालै मात्र उहाँले नेपाल सरकारविरुद्धको एनसेल र आजियटाको मुद्दामा अन्तर्राष्ट्रिय प्राधिकरणमा सरकारको तर्फबाट प्रतिनिधित्व गर्नुभएको थियो । नेपालमा द्विपक्षीय लगानी सम्झौताविरुद्ध काम भएको, राज्यले न्याय नदिएको र कर लगाएको भन्दै एनसेल र आजियटा ग्रुपले अन्तर्राष्ट्रिय प्राधिकरणमा दायर गरेको मुद्दामा नेपालले जित हासिल गरेको थियो । सो मुद्दामा प्रा. सुवेदीले बहस गरी नेपालको पक्षमा मुद्दा जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।