एजुकेशनपत्र, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षामा १.६ जीपीए ल्याएका विद्यार्थीको कक्षा ११मा भर्ना सम्बन्धमा महत्वपूर्ण निर्णय गरेको छ । बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न अनुरोध गरेको हो ।
कार्यालय प्रमुख जयन्ती सत्यालले यो निर्णयको भएको जनाकारी गराउँदै नयाँ भर्नामा मापदण्ड पालना गर्न सबै शैक्षिक संस्थालाई आग्रह गरेकी छन् । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को वैशाख १९ गते बसेको बैठकले माध्यमिक शिक्षा पूरा गरी एसइईमा न्यूनतम १.६ ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न योग्य हुने निर्णय गरेको थियो ।
एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीले अध्ययन गर्न सक्ने विषयमा बोर्डले मापदण्ड तयार गरिसकेको छ । बोर्डका अनुसार विद्यार्थीले जीपीएका आधारमा एउटै शैक्षिक वर्गमा पर्ने विषय मात्र पढ्न पाउँछन्। यसले विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक योग्यतासँग मिल्दोजुल्दो र उपयुक्त विषयहरूमा भर्ना हुन सहजता प्रदान गर्ने छ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गरेपछि बोर्डले जीपीए र प्राप्त ग्रेडका आधारमा कक्षा ११ मा कुन–कुन विषयमा पढ्न सकिन्छ भन्ने जानकारी दिएको छ ।
न्यूनतम २ जीपीए ल्याएका विद्यार्थीले समेत विज्ञान समूहका विषय पढ्न पाउँछन् । विज्ञान समूहमा भौतिकशास्त्र, रसायन विज्ञान, जीवविज्ञान, गणित, कम्प्युटर विज्ञान, कृषि र पशु विज्ञान विषयहरू पढाइन्छ। तर, विज्ञान र गणित विषयमा ‘सी प्लस’ ग्रेड चाहिन्छ।
त्यस्तै अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा ‘डी प्लस’ ग्रेड आवश्यक पर्छ । आफ्नो सम्बन्धित विषयमा कुनै पनि ग्रेड प्राप्त गरेका विद्यार्थीहरूले व्यावसायिक विषयहरूको आधारभूत तहको अध्ययन गर्न सक्छन्।
यसैगरी विषयअनुसार जस्तोसुकै ग्रेड ल्याए पनि न्यूनतम् जीपीए १।६ प्रतिशत मात्र ल्याएका विद्यार्थी भने सीपमूलक समूह पढ्न पाउँछन् ।यसमा एनिमल साइन्स, प्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, र कम्प्युटर इन्जिनियरिङ जस्ता विषयहरू समावेश छन्।
मानविकी र शिक्षा संकायमा अध्ययन गर्न समग्रमा १.६ जीपीए अनिवार्य गरिएको छ ।