विजुवार, प्युठान। प्युठानको सरुमारानी गाउँपालिकाले जिल्लामै पहिलोपटक स्कुल बस सञ्चालनमा ल्याएको छ । जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय ल्याउनलैजान स्कुल बस सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिकाबाट विनियोजित ३५ लाख २३ हजार रुपियाँमा स्कुल बस खरिद गरिएको जनाईएको छ। गाउँपालिका अध्यक्ष झग वहादुर विश्वकर्माले सरुमारानी ४ बड्डाडामा स्कुल बसको उद्घाटन गर्दै स्कुल बस सञ्चालनपछि बिद्यार्थीलाई आउजाउका लागि सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, ”दैनिक हिँड्नुपर्ने बालबालिकाको दुःख देखेर स्कुल बस खरिद गर्ने निर्णय गरेका हौँ” ।
सरुमारानिको शैक्षिक विकासका लागि आफू लागिरहेको भन्दै आफूलाई साथ दिन उहाले आग्रह गर्नुभयो । शैक्षिक क्षेत्रमा गरिएको लगानीले समग्र गाउँपालिकाको समृद्धिमा मद्दत पुग्ने अध्यक्ष विश्वकर्माको भनाइ छ ।
शैक्षिक क्षेत्रको विकासका लागि निर्वाचित जनप्रतिनिधिको सक्रीय पहलले सिङ्गो विद्यालय परिवारलाई उत्साहित बनाएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष टिकाराम पल्लीले सुनाउनुभयो ।
चार घण्टासम्म पैदल हिँडेर आउजाउ गर्नुपर्ने बालबालिकाको शिक्षाका लागि बस सेवा प्रभावकारी हुने विश्वास गरिएको छ । बस नहुँदा हपुरखोला, छत्तिवनदमार, मोतिपुर, कुँडुले लगायतका बालबालिकालाई दैनिक २४ किलोमिटर बाटो हिँड्नुपर्ने बाध्यता थियो।
बस सञ्चालनमा आएपछि पैदल हिँडेर स्कुल पुग्ने झण्डै एकसय तीस विद्यार्थी लाभान्वित हुने छन् । वि.सं २०१५ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म पढाई हुने गरेको छ । हाल विद्यालयमा ६ सय ३० जना वद्यार्थी अध्ययनरत रहेको प्रधानअद्यापक गोपाल भुसालले जानकारी दिनुभयो।