एजुेकशनपत्र, काठमाण्डौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले बिहीबार एक सूचना जारी गर्दै करोडौँको चन्दा आह्वान गरेको छ। सूचनामा भनिएको छ, ‘मध्यपश्चिम विश्वविद्यालयले शैक्षिक क्षेत्रमा योगदान गर्ने र विश्वविद्यालयमा आफ्नो विरासत निर्माण गर्ने सुनौलो अवसर प्राप्त हुनेछ।’
यसै नाराका साथ विश्वविद्यालयले कोष सङ्कलन अभियान सुरु गरेको हो । अभियानको उद्देश्य विश्वविद्यालय परिसर भित्र विभिन्न भौतिक पूर्वाधार विकास परियोजनाहरूको लागि रकम जुटाउने हो। विश्वविद्यालयले तोकिएको दान अनुसार दाताहरुले गरेमा उनीहरुको योगदानलाई सम्मान गर्ने विश्वविद्यालयले जनाएको छ।
यस अभियानले इच्छुक दाताहरूले १ देखि २५ लाख नेपाली रुपैयाँसम्म योगदान गर्न सक्ने र विश्वविद्यालय क्याम्पसमा उनीहरूको नाममा भवन निर्माण गर्ने जनाएकोछ । थप रुपमा, भौतिक पूर्वाधार विकासमा योगदान गर्न चाहने दाताहरुले विश्वविद्यालयको गौरव र शैक्षिक विकासमा उनीहरुको योगदानको प्रभावको आधारमा आफ्नो नाम राख्न सक्नेछन्।
सूचनाको बुँदा नम्बर १ मा विश्वविद्यालयको समग्र भौतिक पूर्वाधार निर्माणमा योगदान गर्न इच्छुक चन्दादाताहरू मध्ये १ करोड देखि २ करोड ५० लाख सम्म योगदान गरेको खण्डमा चन्दादाताको पूर्ण कदको प्रतिमा विश्वविद्यालय परिसरमा निर्माण गरिने उल्लेख गरिएको छ । साथै भौतिक पूर्वाधार निर्माणका लागि पूर्ण रूपमा योगदान गर्न इच्छुक व्यक्ति वा संघ/संस्थालाई विश्वविद्यालयको गरिमा र शैक्षिक विकासमा गरेको योगदानका आधारमा सम्पन्न हुने परियोजनाको नामाकरण पनि योगदान गर्ने व्यक्ति वा संस्थाकै नामबाट गरिने विश्वविद्यालयले जनाएको छ ।
यस्तै २ नम्बर बुँदामा विश्वविद्यालयका विभिन्न शैक्षिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको एमयू ग्लोबल स्कलरसीप फन्ट स्थापनार्थ शीर्षकमा चन्दा माग गरिएको छ । जसमा पाँच वटा महादेशको ग्लोबल स्कलरसीपको व्यवस्था गरिएको छ ।
यो शीर्षक अन्तर्गत १ करोड प्रदान गर्ने चन्दादाता वा संस्थाको नामबाट कुनै एक महादेशका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।
यस्तै सोही शीर्षकमा २ करोड प्रदान गर्ने चन्दादाता वा संस्थाको नामबाट कुनै दुई महादेशका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्रदान गरिने उल्लेख गरेको छ ।
३ करोड चन्दा दिनेलाई तीन महादेश, ४ करोड चन्दा सहयोग गर्नेलाई चार महादेश र ५ करोड चन्दा सहयोग गर्नेलाई पाँच वटै महादेशका लागि अन्तर्राष्ट्रिय छात्रवृत्ति प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले अक्षय कोषको स्थापना गरी चन्दा रकमको ब्याजबाट प्राप्त रकममध्ये ५० प्रतिशत महिला तथा ५० प्रतिशत पुरुष हुने गरी प्राविधिक तथा गैर–प्राविधिक विषयमा चन्दादाताकै चाहना अनुसार ५ वटै महादेशबाट विद्यार्थीलाई अन्तर्राष्ट्रिय छात्रवृत्ति प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।
जसको उद्देश्य विश्वविद्यालयलाई ‘कस्मोपोलिटन सेन्टर अफ एकेडेमी एक्सिलेन्स’ बनाउने रहेको छ । चन्दा आह्वान गर्दै उक्त अभियानलाई सार्थक पार्न विश्वविद्यालयले अनुरोध गरेको छ ।
सरकारी अनुदानमा सञ्चालित विश्वविद्यालयले चन्दा माग्दै आएको आलोचना भए पनि विश्वविद्यालयका रजिष्ट्रार प्रा नारायणप्रसाद पौडेलले विदेशी विद्यार्थीलाई आकर्षित गर्ने मुख्य उद्देश्य रहेको बताए । उनले भने, ‘धेरै नेपाली विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाँदा पनि विदेशी विद्यार्थीलाई नेपालमा अध्ययन गर्न त्यति चासो छैन। हामीले विदेशी विद्यार्थीलाई आकर्षित गर्न छात्रवृत्तिको व्यवस्था गरेका छौं।
सरकारले यस्ता पहललाई नियमित रूपमा सहयोग नगर्ने भएकाले यो अभियानलाई सफल बनाउन संस्था र व्यक्तिसँग सहकार्य गर्न हामी इच्छुक छौं। दाताको सहयोग र कोष तयार भएपछि हामी विदेशी विद्यार्थीलाई आकर्षित गर्न सक्छौँ।’