काठमाडौँ । त्रिभुवन विश्वविद्यालय गैरविद्यार्थीहरूको तालाबन्दीमा परेको छ । गैरकानूनी रूपमा त्रिवि क्षेत्रमा टहरा बनाएर व्यापार व्यवसाय गर्दै आएकाहरूले तालाबन्दी गरेका हुन् ।
प्रायः विद्यार्थी, शिक्षक, कर्मचारीको तालाबन्दीको सिकार बन्ने त्रिवि यो पटक भने व्यवसायीको तालाबन्दीको मारमा परेको हो । संघर्ष समितिमार्फत् असार ७ गतेदेखि त्रिवि उपकुलपति कार्यालय, प्रिन्सिपल कार्यालय, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरिएको हो ।
उनीहरूले त्रिविले हटाउन खोजेको टहराहरूमा आफूले विगतकै जसरी व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले २ पटकको वार्ता असफल भएको बताए । ‘सिन भन्दा अनसिन माग धेरै छन् । कीर्तिपुरबासीले रोजगारी पाउनुपर्छ । यहाँ पसल व्यापार व्यवसाय गर्न पाउनुपर्छ भन्ने छ ।हामीले नियमानुसार गर्छौ, जान्छौं भनेर अडानमा छौं,’ उनले भने ।
हाल त्रिविका विद्यार्थी र शिक्षक कर्मचारीबाट तालाबन्दी भने गरिएको छैन । तर विगतको इतिहास हेर्ने हो भने विद्यार्थी संगठन तालाबन्दीका प्रमुख हर्ताकर्ता देखिन्छन् ।
यसमा विशेष गरी, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियूबाट बढी तालाबन्दी हुने गरेको छ ।
हाल तिनै विद्यार्थी संगठनहरूले तालाबन्दी नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् । तर, देशभरको अवस्था हेर्दा कतिपय ठाउँका क्याम्पसहरूमा भने तालाबन्दी गरिएको छ ।
चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थान महाराजगञ्ज मेडिकल कलेजमा आजदेखि स्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रमुखले आफ्ना मागहरूबारे बेवास्ता गरेको भन्दै स्ववियुले नै अनिश्चितकालीन तालाबन्दी गरेको हो ।
गत शुक्रबार त्रिवि शिक्षाध्यक्षको कार्यालयमा नेविसंघले तालाबन्दी गरेको थियो । केही समयमा प्रहरी गएर ताला तोडेको थियो भने तालाबन्दी गर्ने नेविसंघका त्रिवि इकाइ अध्यक्ष विष्णु बडैलासहित ५ जनालाईं प्रहरीले पक्राउ गरेको थियो ।
बाँस्कोटाको पालामा २१३ दिन तालावन्दी
२०७८ माघ ७ गतेदेखि हालसम्म २१३ दिन त्रिविमा ताला लागेको देखिन्छ । धर्मकान्त बाँस्कोटा त्रिविको उपकुलपति भएर आएपछि धेरै तालाबन्दीको सामना गर्नुपरेको छ ।
२०७६ कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले बाँस्कोटालाई उपकुलपतिमा नियुक्त गरेको थियो । उनी आएको ४४ महिनामा २१३ दिन तालाबन्दी गरिएको हो । जसमा बढी नेविसंघ, अखिल क्रान्तिकारीबाट तालाबन्दीको सामना गर्नु परेको छ ।
त्रिविको रेकर्डअनुसार २०७८ माघ २ गतेदेखि २०७९ जेठ २७ गतेसम्म १८० दिन तालाबन्दी भएको थियो । त्यसबेला नेविसंघ र अखिल क्रान्तिकारीले तालाबन्दी गरेका थिए ।
२०७८ माघ ७ देखि २०७९ जेठ २७ सम्म १४१ दिन बन्द भएको थियो । त्यसपछि दोस्रो चरणमा २०७९ असार २८ गतेदेखि साउन १६ गतेसम्म २१ दिन तालाबन्दी गरिएको थियो । तेस्रो पटकमा २०७९ भदौ १२ देखि २८ गतेसम्म १८ दिन बन्द गरिएको थियो ।
प्राध्यापकहरू नै तालाबन्दीमा
त्रिविमा अध्यापन गराउने र विद्यार्थीलाई नैतिकताको पाठ सिकाउने प्राध्यापक नै तालाबन्दीमा उत्रिएको देखिन्छ । आंशिक प्राध्यापकले समान कामको समान ज्याला माग गर्दै २०७८ को माघ ७ देखि तालाबन्दी गरेका थिए ।
यतिसम्म कि प्राध्यापक संघले लगाएको तालामाथि नेविसंघले अर्को ताला लगाएको थियो । त्रिविमा १ हजार ४२० को संख्यामा रहेका आंशिक प्राध्यापकहरूले समान कामको समान ज्यालाको माग राख्दै तालाबन्दी गरेका थिए ।
‘भ्रष्टाचार’ को विरोध गर्दै नेविसंघको ताला
तात्कालीन हरि आचार्यको नेतृत्वमा रहेको त्रिवि नेविसंघले त्रिवि पदाधिकारीको कक्षमा तालाबन्दी गरेको थियो । उसको माग थियो, ‘भ्रष्ट त्रिवि पदाधिकारी’ लाई खारेज गर्नुपर्ने ।
त्रिविमा कतिबेला कुन समूहले तालाबन्दी गर्छ भन्ने यकिन नै हुँदैन । कुन समूहलाई के विषयमा चित्त बुझ्दैन, त्रिविमा ताला ठोकिहाल्छन् । यसले गर्दा त्रिविका अधिकारीहरूले प्रायः बाहिरैबाट काम गर्नुपर्ने बाध्यता छ ।
विश्वविद्यालयको कार्यकारी परिषद्ले युथ क्याम्पस जनकपुरलाई बीसीए (ब्याचलर अफ कम्प्युटर एप्लिकेसन) कार्यक्रम सञ्चालनको लागि दिएको सम्बन्धन खारेज गरेपछि नेविसंघले भ्रष्टाचारको विषय उठाएको थियो ।
क्याम्पस प्रमुख शिवनरायण झाले घुस नदिएका कारण सम्बन्धन खारेज भएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यही आधारमा आचार्यको समूह तालाबन्दीका लागि अघि सरेको थियो ।
तालाबन्दीमा बाहिरैबाट काम
त्रिविमा कतिबेला कुन समूहले तालाबन्दी गर्छ भन्ने यकिन नै हुँदैन । कुन समूहलाई के विषयमा चित्त बुझ्दैन, त्रिविमा ताला ठोकिहाल्छन् । यसले गर्दा त्रिविका अधिकारीहरूले प्रायः बाहिरैबाट काम गर्नुपर्ने बाध्यता छ ।
यतिसम्म कि गत चैत ५ गते स्ववियु निर्वाचनको मिति तय भएको थियो । तर, विद्यार्थी संगठनहरूले विभिन्न माग राखेर तालाबन्दी गरिदिए । वार्तापछि ताला खुलेको थियो ।
ताला खोल्न अदालतको आदेश
त्रिविको स्थापना कालदेखि नै तालाबन्दीको सामना गर्दै आएको छ । कुनैबेला भागबण्डाको विषयमा कुरा नमिलेर तालाबन्दी गरिन्थ्यो भने कुनैबेला शुल्क बढाएको विषय तालाबन्दीका लागि निहुँ बन्थ्यो ।
२०७७ सालमा त्रिविमा भागबण्डाको विषयलाई लिएर उत्पन्न विवादमा पाटन उच्च अदालतले ताला खोल्न अन्तरिम आदेश दिएको थियो । त्रिवि केन्द्रीय कार्यालय तथा विषयगत विभागमा विद्यार्थी र प्राध्यापक संगठनहरूले तालाबन्दी गरेका थिए ।
ताला नखुलेपछि अदालतमा मुद्धा हालिएको थियो । पाटन उच्च अदालतमा त्रिविका कर्मचारी महेश्वरमान श्रेष्ठले तालाबन्दी खोली पाउँ भनेर मुद्दा हालेका थिए । २०७७ साउन ४ गते नेविसंघ र ५ गते प्राध्यापक संघले ताला लगाएका थिए ।
भिसीमा बाँस्कोटा नियुक्त भएदेखि सुरू भएको विवाद रजिष्ट्रारमा पेशल दाहाल, शिक्षाध्यक्षमा शिवलाल भुषाल नियुक्त हुँदै डिन र विभागीय प्रमुख नियुक्तिसम्म पुग्दा थप चर्किएको थियो ।
सुरक्षा माग गर्दा बेवास्ता
त्रिविमा हुने राजनीतिक तथा गैरराजनीतिक तालाबन्दीले पदाधिकारी आजित भइसकेका छन् । उनीहरूले यसको अन्त्यका लागि सुरक्षाको माग गर्दै आएका छन् । तर, सरकारले सुरक्षाकर्मीको व्यवस्था गर्न सकेको छैन ।
त्रिविका पूर्व उपकुलपति प्राडा केदारभक्त माथेमाले तालाबन्दीको जड नै विद्यार्थी संगठन रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शिक्षामन्त्री बनेका शिशिर खनालले विद्यार्थी संगठनहरू खारेज गर्ने प्रक्रिया अगाडि बढाएका थिए । तर, उनको कार्यकाल निकै छोटो रह्यो । त्यो योजना त्यत्तिकै अलपत्र पर्यो ।
केही दिन अगाडि त्रिवि उपकुलपति बाँस्कोटाले सुरक्षा प्रबन्ध मिलाईदिन पटक पटक आग्रह गर्दा कसैले नसुनेको बताए ।
‘सुरक्षा प्रबन्ध नहुँदा हामीले कतिपटक बैठक त बाहिर गर्नुपर्ने अवस्था छ । प्रधानमन्त्री, गृहमन्त्रीदेखि प्रहरी प्रमुखलाई समेत सुरक्षा प्रबन्ध मिलाईदिन अनुरोध गर्दै आएका छौं । तर, अहिलेसम्म कसैले सुनेको छैन ।’ उनले भने ।
तालाबन्दीको जड नै विद्यार्थी संगठन
त्रिविका पूर्व उपकुलपति प्राडा केदारभक्त माथेमाले तालाबन्दीको जड नै विद्यार्थी संगठन रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट शिक्षामन्त्री बनेका शिशिर खनालले विद्यार्थी संगठनहरू खारेज गर्ने प्रक्रिया अगाडि बढाएका थिए । तर, उनको कार्यकाल निकै छोटो रह्यो । त्यो योजना त्यत्तिकै अलपत्र पर्यो ।
जबसम्म विश्वविद्यालय भित्रको राजनीतिको अन्त्य गर्न सकिदैन, तबसम्म तालाबन्दीको अन्त्य गर्न नसकिने पूर्व उपकुलपति माथेमाले बताए । ‘तालाबन्दी के कति कारणले हुन्छ भन्दा रोग त पत्ता लागेकै छ । त्रिविमा हुने गरेको राजनीति रोग हो । यसको उपचार गर्नुपर्नेमा के कति कारणले तालाबन्दी भयो भन्नेतिर लागिरहेका छौं । विद्यार्थी संगठनहरू खारेज गरौ । राजनीति भागबण्डाको आधारमा हुने नियुक्तिको अन्त्य गरौं । सबै समस्या समाधान हुन्छ,’ उनले भने ।
आजभन्दा २५ वर्ष अगाडि पनि तालाबन्दी हुने गरेको तर त्यो बेलाका माग मुद्धा नै फरक रहेको माथेमाले बताए । ‘त्यो बेला विद्यार्थीहरूले शुल्क बढ्यो भनेर आन्दोलन गर्थे । अहिले त विद्यार्थी संगठन बनायो । बाहिर एउटा देखिन माग राख्यो, भित्र अर्कै माग हुन्छ । अनि कतिको माग पुरा गर्नु ।’ उनले भने । रातोपाटीबाट