यादव देवकोटा ।
पहिले उमेरका आधारमा मानिसलाई काममा लगाउने या उसको थान्को कसरी लगाउने भन्ने नियम बनाइयो। त्यसले नथेगेपछि मानिसलाई उसको योग्यताका आधारमा सामाजिक गति थेग्ने थितिमा बाँधियो। कालान्तरमा जनसंख्या वृद्धिका कारण एकले अर्कोको काममा हस्तक्षेप गर्न थालेपछि अरूबाट आफूलाई कुनै प्रकारको हस्तक्षेप नहोस् भनी वर्णहरूको विभाजन गरिएको देखिन्छ।
एकलव्य कृष्णका काका देवश्रवाका पुत्र थिए। सानैमा जंगल गएका बेला कारणवश एकलव्य हराए। उनलाई आर्य समाजले जंगली जातिमा गणना गर्ने निषद जनपदका हिरण्यधनुषले पाएर पालेका थिए। उनी शुद्र जातिका मानिन्थे। तिनै एकलव्यलाई ऋषि द्रोणाचार्यले शुद्र जातिको भन्दै आफूले निच जातिको मानिसलाई शिक्षा नदिने बताए। यसले जातीय भेदभावपूर्ण चिन्तनको तस्बिर बाँकी समयका नाममा दर्ता गरायो।
यौन उमेरमा पुगेका नवयुवतीको योनी ‘भोग’ गर्न पुरुषहरूबीच द्वन्द्व, सम्पत्ति हस्तान्तरणका लागि आफ्नो ‘जीन’ चिन्ने व्यक्तिवादी चेतको आरोपण, ‘कुमारी योनी’ भोगको चिन्तन निर्माण प्रक्रियासँगै विवाह संस्था सुरूआत भएको देखिन्छ (वेस्टरमार्क, एडवर्ड– ए सर्ट हिस्ट्री अफ म्यारिज-दी हिस्ट्री अफ ह्यूमन म्यारिज, विभिन्न पृष्ठहरू)।
आठ हजार वर्षअघि एक पुरुषसँग १७ महिलाहरू सम्भोगका लागि बाध्य थिए, दुनियाँभर। आज ३५ प्रतिशतभन्दा बढी महिला आफ्ना श्रीमान् या अरूबाट शारीरिक या यौन हिंसामा पर्ने गरेका छन्। सात प्रतिशत महिला अपरिचित पुरुषहरूबाट यौन हिंसामा पर्ने गरेका छन्। ३८ प्रतिशत महिलाको हत्या आफ्नै श्रीमान् या ‘अन्तरंग मित्र’ बाट हुने गरेको छ। यस्तो वैदिककालमै पनि भएको थियो।
वृहस्पतिले आफ्नै भाइकी पत्नी ममतालाई भाइ नभएको मौका पारेर बलात्कार गरेका थिए। ममताले बलात्कारपछि जन्माएकी थिइन् भारद्वाजलाई। द्रोर्णाचार्य तिनै भारद्वाजपुत्र थिए। त्यो थाहा पाएर वृहस्पति पत्नी तारा स्तब्ध भइन्। उनी चन्द्रराज्यको भ्रमणमा निस्किइन् र प्रेममा परिन् चन्द्रसँग। वृहस्पति त्यसलाई स्वीकार गर्न चाहन्थेनन्। उनी तारालाई आफ्नो निजी वस्तु मान्थे। उनले आफूलाई छाडेर गएकी तारालाई फर्काउन खोजे तर तारा मानिनन्। वृहस्पतिले इन्द्रलाई गुहारे। देवसभाले चन्द्रसँगको प्रेम टुटाएर तारालाई जबरजस्ती फर्काइयो ।
मानिसले सत्ता चेतनाको आँखीझ्यालबाट निस्किएर बाहिर चियाउने फुर्सद नपाउन् भनेर तिनलाई व्यस्त राख्न बिहान उठेदेखि दैनिक पालना गर्नुपर्ने विभिन्न विधिविधान र आराधना–पूजा गर्ने अनेकन दैवी थितिहरूको संकथन गरियो।
नारी धर्म, पुरुष धर्म, रैती धर्म, शासक कर्म सबैको संहिता बनाइए र दैवी नियमको गाता हालेर मानिसमा आरोपित गरिए। त्यसका लागि इन्द्र, ब्रह्मा, विष्णु, शिवजस्ता अलौकिक नायकहरू खडा गरेर दैवी प्राधिकारका रूपमा खडा गरियो। जुन संहिताहरू जारी गरिए, ती तिनै प्राधिकारहरूले दिएको मन्त्रका रूपमा प्रचार गरियो।
असल पत्नीका जे मापदण्ड बने, ती पुरुषहरूका लागि महिलामाथि कज्याई लाद्ने आधार बने। महिलाले परपुरुषको मुखसमेत हेर्न हुँदैन भनी उल्लेख गर्ने संहिताले पुरुषलाई बहुपत्नी राख्ने सुविधा दियो। रैतीले शासकको सेवा गर्नुपर्ने कर्तव्य सिकाउने संहिताले शासकलाई आफ्नो सत्ता स्वार्थको रक्षा गर्न रैतीको जीवनमाथि समेत खेल्न सक्ने सुविधा दियो।
शास्त्रले शुद्रलाई उपल्ला तीन वर्णहरूको सेवा नगरे दण्डको कस्तो भुक्तमान बेहोर्नुपर्छ भन्ने चेतना वितरण गर्यो। तर, शुद्रमाथि नारकीय दासता लाद्ने उपल्ला वर्णहरूलाई कस्तो दण्ड हुन्छ भन्ने उल्लेखै गरेन।
यस्तोे किन भयो भने, जति पनि संहिताहरू तर्जुमा गर्ने काम भयो, ती सबै पुरुषहरूले, उच्च ब्राह्मणहरूले सत्ताको अमनचयन भोग गरेका क्षत्रीयहरूको स्वार्थ रक्षाका खातिर गरे। पुरुष ब्राह्मण र क्षत्रीयहरूको सुखशान्ति, अमनचयन तलवितल हुन नदिन र आफ्ना आधार वैश्यहरूको कारोबार सुरक्षा गरेर त्यसैको लाभमा आफू व्यवस्थित हुन ती संहिता निर्माण गरिए। र, समयक्रममा एकपछि अर्को गर्दै जारी भएका ऐन, नियम, कानुनहरू वेद, स्मृति, पुराणको स्वरुपमा मानिसहरूमा आरोपित भए।
त्यसको परिपालन र नियमनका लागि पण्डित, पुरोहित र धर्माधिकारीका नाममा धार्मिक प्रहरीहरू परिचालन गरिए। पारिवारिक, सामाजिक, धार्मिक, राज्यसत्ता सञ्चालनका लागि शास्त्र व्याख्या गर्ने पण्डित, पुरोहित, धर्माधिकारीहरूको व्यवस्था आजपर्यन्तै जारी छ।
सुरूमा सानो समाजमा निश्चित संख्यामा शास्त्रका व्याख्याता भए पुग्थ्यो। बदलिँदो सामाजिक हलचल, जनसंख्याको घनत्व र तिनमा बढेको चेतनाको लहर थेग्न र कज्याउन शास्त्रीय व्याख्याताको आवश्यकता बढ्यो। त्यही शास्त्रीय चेतनाको सत्ताको भाष्य नाघ्न नदिन चिन्तन, चेतनामा दैवी चमत्कार, डर, त्रास, मोहका कथ्यहरू घोल्ने र वितरण गर्ने क्रम झन् झन् तीव्रतर बन्दै गयो।
समयक्रमसँगै के खान हुने के खान नहुने भन्ने विषयहरूको सूची पनि तय हुन थाल्यो। ऋग्वेदकालसम्म गाईको मासु खाने अभ्यास थियो। युद्धमा गएर आएपछि र मित्रहरू समेतको भोजनका लागि गौ मासु प्रबन्ध गर्न आह्वान गरिएको यो शुक्तले पुष्टि गर्छ:
यदीदहं युधये संनयान्यदेवयून्तन्वा३ शूशुजानान् ।
अमा ते तुम्रं वृषभं पचानि तीव्रं सुत. पंञ्चदशं नि षिञ्चम् (ऋग्वेद १०ः२७ः२) ।।
यसरी नयाँ समय, समस्या, आकांक्षा सम्बोधन गर्न र नियमन गर्न एकपछि अर्को गर्दै पुरानो मान्यतामाथि नयाँ मान्यताहरू थप्ने निरन्तरको अभ्यास इशाको छैठौं शताब्दीसम्म जारी रह्यो। आजका हामी त्यही पुरानै इशाको छैठौं शताब्दीदेखि स्थिर रहेको चेतना र मान्यताको बलमा आजको समाज कज्याउने बाटोमा अभिसारित छौं।