पूर्वाञ्चल विश्वविद्यालय: लोक सेवालाई बेवास्ता गर्दै कर्मचारी पदपूर्ति प्रक्रिया सुरु गरेकोप्रति लोक सेवाले आपत्ति | Education Patra

पूर्वाञ्चल विश्वविद्यालय: लोक सेवालाई बेवास्ता गर्दै कर्मचारी पदपूर्ति प्रक्रिया सुरु गरेकोप्रति लोक सेवाले आपत्ति


एजुेकशनपत्र, काठमाण्डौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगले लोक सेवा आयोगलाई बेवास्ता गरी पदपूर्ति प्रक्रिया सञ्चालन गरेको छ । सेवा आयोगले २२ वर्षपछि विज्ञापन गरी स्थायी कर्मचारी पदपूर्ति प्रक्रिया सुरु गरेकोप्रति लोक सेवाले आपत्ति जनाएको छ । पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० तीन सदस्यीय सेवा आयोगमा लोक सेवाको प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।

सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालले पदपूर्ति प्रक्रिया अघि बढाएको सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि लोक सेवाको ध्यानाकर्षण भएको छ । दाहालले लोक सेवा आयोगका प्रतिनिधिको उपस्थितिमा प्रक्रिया अघि बढाएका थिए ।

लोक सेवा आयोगका सदस्य सचिव तथा प्रवक्ता तोयनारायण सुवेदीले विज्ञप्तिमार्फत विश्वविद्यालय कार्यकारी परिषद्को कार्यालयबाट प्राप्त विश्वविद्यालयको स्वीकृत संगठन संरचना र दरबन्दीमध्ये रिक्त पदको विज्ञापन प्रकाशन गर्नेसम्मको कार्यमा मात्रै लोक सेवाको प्रतिनिधित्व भएको जनाएका छन् । त्यसपछि जनशक्ति छनोटको कुनै पनि चरणमा भएको कामकारबाहीमा लोक सेवाको संलग्नता नभएको उनको भनाइ छ । पदपूर्ति प्रक्रियामा विश्वविद्यालय ऐनले लोक सेवा आयोगको प्रतिनिधित्व अनिवार्य गरेको छ ।

सेवा आयोगले अधिकृत २१, मुख्य सहायक ३१, सहायक ४० र श्रेणीविहीन ३४ गरी कुल १ सय २६ कर्मचारी भर्नाका लागि २०७८ चैत १५ मा विज्ञापन खुलाएको थियो । यसअघि २०५७ मा विज्ञापन खुलेको थियो । अनलाइन फाराम भराएर सबै प्रक्रिया पूरा भएपछि लोक सेवाका प्रतिनिधि राखेर पहिलो पत्रको परीक्षा २०७९ भदौ २६ देखि २८ सम्ममा लिएको अध्यक्ष दाहालले बताउँदै आएका छन् ।

उनले पहिलो पत्रको परीक्षामा आवेदन गरेकामध्ये अधिकृतमा १८, प्रमुख सहायकमा ४९, सहायकमा २८९ जना उत्तीर्ण भएको परिणाम २०७९ असोज २४ मा सार्वजनिक गरेको बताएका थिए । श्रेणीविहीनको अन्तर्वार्ता लिएर पदपूर्ति गर्ने व्यवस्था रहेको उनको भनाइ छ ।

सेवा आयोगले सार्वजनिक गरेको पहिलो पत्रको परीक्षाको परिणामअनुसार विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव कोइरालाका स्वकीय सचिव सञ्जय बस्नेत, उनको खाना पकाउने बस्बिन वाग्लेको सहायक प्रशासनमा, डिन नवीन लामिछानेकी पत्नी सविता ओझाको सहायक प्रशासनमा नाम निस्केको छ । उनीहरू जस्तै, विश्वविद्यालयको आंगिक जनता आदर्श क्याम्पसका प्रमुख महेश निरौलाकी पत्नी विद्या सत्यालको सहायक प्रशासनमा नाम निस्केको छ । सहायक लेखामा नाम निकालेकी विमलाकुमारी बरालका श्रीमान् लेखा सेवामा कार्यरत छन् ।

यस्तै, सेवा आयोगका अध्यक्ष दाहालका नाति उत्सव ढकालको सहायक लेखामा, डिन नवीन लामिछानेका भतिजा विवेक लामिछानेको सहायक भण्डारमा, अधिकृतमा नाम निकालेका टिकेन्द्र भट्टराईकी पत्नी सेवा आयोगमा कार्यरत कर्मचारी छन् । सेवा आयोगमा विषय विज्ञसमेत रहेका वन विज्ञान तथा कृषि क्याम्पसका प्रमुखकी पत्नी रोशना पौड्यालको सहायक प्रशासनमा नाम निस्केको छ । विश्वविद्यालयमा कार्यरत अन्य कर्मचारी तथा पदाधिकारीका नाता, सम्बन्ध, आफन्तहरूको अनियमितता गरी नाम निकालेको भन्दै विद्यार्थी संगठनहरूले विरोध गर्दै आएका छन् ।

सेवा आयोगले पहिलो पत्रको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि सूचना जारी गरी असार २१ देखि साउन ३ सम्म दोस्रो पत्रको परीक्षा लोक सेवाका प्रतिनिधिबिना नै लिएको छ । सेवा आयोगले पहिलो पत्रको परीक्षाको परिणाम सार्वजनिक गरेपछि पुस ३ मा नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रूपमा विभिन्न माग राखेर विश्वविद्यालयमा तालाबन्दी गरेका थिए । विद्यार्थी संगठनहरूले निहित स्वार्थ राखेर सेवा आयोगले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया तत्काल खारेज गरी वैज्ञानिक एवं निष्पक्ष रूपमा कर्मचारी भर्ना प्रक्रिया सुरु गर्नुपर्ने माग गरेका थिए ।

तालाबन्दीले पदपूर्ति प्रक्रिया रोकिएपछि जेठ १४ मा विश्वविद्यालयले सुन्दरहरैंचा नगरस्तरीय सर्वपक्षीय भेला बोलाएको थियो । उक्त भेलामा स्थानीय नेताहरूले निर्णय गरेर सेवा आयोगमा लगाइएको ताला फुटाएका थिए । विश्वविद्यालयले आफूहरूसँग वार्ता, छलफल र प्रहरी प्रशासनमार्फत समस्याको कानुनी समाधान नखोजी स्थानीय नेताहरूलाई गुन्डाका रूपमा प्रयोग गरेको भन्दै विद्यार्थीहरूले आरोप लगाएका थिए । केही विद्यार्थीहरूले जेठ १३ मा सेवा आयोगका अध्यक्ष दाहाललाई निवासमा मोसो दलेका थिए । अध्यक्ष दाहाललाई अभद्र व्यवहार गरेको मुद्दामा पक्राउ परेका नेविसंघ मोरङ अध्यक्ष सरोज पोखरेल धरौटीमा छुटेका छन् ।

सेवा आयोगका अध्यक्ष दाहालले लोक सेवासँगको समन्वयमा नै पदपूर्तिका लागि परीक्षा सञ्चालन गरेको दाबी गरेका छन् । विश्वविद्यालयका कर्मचारी तथा पदाधिकारीहरूको नाता, सम्बन्ध, आफन्तहरू योग्य भएकाले नाम निकालेको पनि उनको दाबी छ । कान्तिपुरबाट

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्