सीटीईभीटीले स्थगित परीक्षा भदौ २ र ६ गते सञ्चालन गर्ने | Education Patra

सीटीईभीटीले स्थगित परीक्षा भदौ २ र ६ गते सञ्चालन गर्ने


एजुेकशनपत्र, काठमाण्डौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीले शनिबार र बुधबारलाई तोकिएको प्रवेश परीक्षा स्थगित गरेको छ । स्थगित परीक्षा भदौ पहिलो साता सञ्चालन गरिने परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले जनाए ।

चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच विवाद हुँदा प्रवेश परीक्षा स्थगित गरिएको हो ।

शिक्षामन्त्री अशोककुमार राई र शिक्षासचिव सुरेश अधिकारीले आयोग र सीटीईभीटी समन्वय गरी अघि बढ्नुपर्ने निर्देशन दिएपछि प्रवेश परीक्षापछि सारिएको सीटीईभीटीले जनाएको छ ।

शिक्षा मन्त्रालयमा प्रवेश परीक्षा सञ्चालनका विषयमा बुधबार र बिहीबार बैठक भएको थियो । आयोग उपाध्यक्ष श्रीकृष्ण गिरी र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी उपस्थिति बैठकमा आपसमा समन्वय गरेर अघि बढ्ने अनौपचारिक सहमति भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

सीटीईभीटीले चिकित्सा ऐनविपरीत मेडिकल शिक्षा पठनपाठन गराउने शिक्षणसंस्थालाई सम्बन्धन दिने, सिट निर्धारण र भर्ना आह्वान गरेपछि दुई निकायबीच द्वन्द्व सुरु भएको थियो । ऐनमा चिकित्सा शिक्षाको नियमन आयोगले गर्ने उल्लेख छ । सीटीईभीटीले ऐन मिचेपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले समेत निर्णय सच्याउन अल्टिमेटम दिएका थिए ।
सीटीईभीटीको अवैध निर्णय सुधार नभए साउन अन्तिम सातादेखि सत्याग्रह थाल्ने उनले चेतावनी दिएका छन् । ‘चिकित्सा आयोगको सहमतिमा मात्रै सीटीईभीटीले सम्बन्धन, भर्ना, सिट निर्धारण, शुल्कलगायत विषयमा निर्णय लिने कुरा भएको छ,’ बैठकमा सहभागी एक सहसचिवले भने, ‘१५ दिनभित्र समन्वय र सहमति गरी भदौ पहिलो साता सीटीईभीटीको प्रवेश परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।’

सीटीईभीटीले स्थगित परीक्षा भदौ २ र ६ गते सञ्चालन गर्ने जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय सूचना जारी गरी प्राविधिक कारणले प्रवेश परीक्षा स्थगित गरेर पुनः अर्को मिति तोकिएको जनाएको छ ।

सीटीईभीटीकाअर्न्तगतका ४९ वटा कलेजलाई चिकित्सा शिक्षा ऐनविपरीत सम्बन्धन दिइएको थियो । ती कलेजमा आफैंले सिट निर्धारण गरेर भर्ना आह्वान गरिएको हो । त्यसबाहेक गतवर्ष अयोगबाट सिट निर्धारण गरिएका १ सय ४९ कलेजमा पनि यसपालि सीटीईभीटीले आफूखुसी भर्ना आह्वान गरेको थियो ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्