एजुेकशनपत्र, काठमाण्डौं । च्याटजीपीटी र बार्डले ल्याएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट बनाउने र आफ्ना विभिन्न प्लाटफर्ममा त्यसलाई प्रयोग गर्ने दौड सिलिकन भ्याली र विश्वका अन्य प्रविधि क्षेत्रमा मात्रै सीमित छैन, ह्याकर र साइबर अपराधीहरूले पनि आफ्नै च्याटबट बनाएर त्यसको प्रयोग गर्न सुरू गरेका छन् ।
अमेरिकी प्रविधि पत्रिका ‘वायर्ड’ले प्रकासित गरेको एक समाचार अनुसार यस्ता च्याटबटहरूले साइबर अपराधमा संलग्नलाई आफ्ना मालवेयर र जालसाजीवाला ईमेलहरू द्रुत गतिमा लेख्न मात्रै सघाएको छैन, सर्वसाधारणले सजिलै आफ्ना पासवर्ड, ईमेल, फोन नम्बरलगायत जानकारीहरू उपलब्ध गराइदिने साधन पनि बन्ने गरेका छन् ।
वायर्डका अनुसार जुलाई महिनायता डार्कवेब र अन्य अनलाइन बजारहरूमा विशेषगरी दुई लार्ज ल्याङ्वेज मोडल (एलएलएम)मा आधारित च्याटबट चर्चित छन् । ओपनएआईको च्याटजीपीटी र गुगलको बार्डजस्तै काम गर्ने यी एलएलएम टुलहरू वैद्य कम्पनीका च्याटबटले गर्नेभन्दा फरक अर्थात् गैरकानुनी काम गर्नका लागि प्रचार गरिएका छन् । वर्मजीपीटी र फ्रडजीपीटीजस्ता नाम राखेर बनाइएका यस्ता च्याटबटले आधिकारिक कम्पनीका च्याटबटले गर्न नसक्ने काम पनि गरिदिन्छन् । जस्तै ठगी, जालसाजी लगायत गैरकानुनी काम गराउन खोजेमा आधिकारिक च्याटबटहरूमा सुरक्षाका विभिन्न प्रावधान हुन्छन् तर अनाधिकृत च्याटबटले यस्ता काम द्रुत गतिमा गरिदिनसक्ने गरी बनाइएका हुन्छन् । फ्रडजीपीटीले त साधारण एन्टी-मालवेयरले पत्ता लगाउन नसक्ने मालवेयर पनि निर्माण गरिदिनसक्ने दाबी गर्दै आएको छ ।
अमेरिकाको फेडेरल न्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) र युरेपेली ल इन्फोर्समेन्ट एजेन्सीहरूले यसअघि नै अनाधिकृत र गैरकानुनी कार्यका लागि जेनेरेटिभ एआईको प्रयोग भइरहेको भन्दै सतर्क रहन सावधान गराएका थिए । बेलायतको इन्टेलिजेन्स एजेन्सीले पनि व्यक्तिगत संवेदनशील जानकारी, लगइन इन्फरमेसन लगायत जम्मा गर्न एआई च्याटबट र त्यस्तै देखिने प्लाटफर्महरू प्रयोग भइरहेको भन्दै सतर्क रहन र च्याटबटहरूमा आफ्ना अति व्यक्तिगत जानकारीहरू प्रविष्ट नगर्न अनुरोध गरेको थियो । ह्याकर र साइबर अपराधीहरूको अनलाइनमा नयाँ फिल्म, फेशन वा नयाँ ट्रेन्ड आउनेबित्तिकै त्यसैसँग मिल्दोजुल्दो एआईमा आधारित टुल र प्लाटफर्महरू बनाइहाल्ने र प्रलोभनमा पारेर ठगी गर्ने कार्यमा यस्ता अनाधिकृत एआइ प्लाटफर्महरू अत्यन्तै उपयोगी साबित हुने गरेको अध्ययनहरूले देखाएका छन् । कान्तिपुरबाट