एजुकेशनपत्र, सुर्खेत । नेकपा एमालेका महासचिव श्री शंकर पोखरेलज्यूको प्रमुख आतिथ्यता एवं मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूको अध्यक्षतामा “मपविका विद्यार्थीसँग शंकर पोखरेल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय कुइनेपानी स्थित सेमिनार हलमा संचालित अन्तरक्रिया कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो ।
स्वागत मन्तव्य पश्चात विश्वविद्यालयका उपकुलपतिज्यूद्वारा कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको थियो भने प्रमुख वक्ताको रुपमा महासचिव शंकर पोखरेलज्यूले मन्तव्य राख्नु भएको थियो । उहाँले मध्यपश्चिम विश्वविद्यालयले शैक्षिक क्षेत्रमा हासिल गरेको प्रगती र सकारात्मक प्रयासको प्रसंशा गर्नुका साथै विश्वविद्यालय नेतृत्वले गरेका सकारात्मक प्रयास र कार्यमा सबैले साथ सहयोग दिनु पर्ने कुरामा जोड दिनु भएको थियो ।
प्रमुख अतिथिज्यूको मन्तव्य लगत्तै मध्यपश्चिम विश्वविद्यालयको विगत र वर्तमान झल्किने ‘मध्यपश्चिम विश्वविद्यालय रूपान्तरण वृतचित्र (Mid-West University Transformation Documentary) प्रस्तुत गरिएको थियो ।
अन्तरक्रिया कार्यक्रमकै क्रममा सिसाको घैंटोमा राखिएका विद्यार्थीहरुका प्रश्नहरुको जवाफ एमालेका महासचिव शंकर पोखरेलज्यूले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको अन्तमा सभाधक्ष्य एवं विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहज्यूले धन्यवाद ज्ञापन प्रस्तुत गर्नु भएको थियो ।
समापनका क्रममा बोल्नुहुँदै उपकुलपति प्रा. डा. सिंहज्यूले एमालेका महासचिव, पुर्व मन्त्री एवं लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलज्यूले गरेको विश्वविद्यालय भ्रमण तथा अन्तरक्रिया कार्यक्रमले सबैमा सकारात्मक उर्जा प्रवाह गरेको र विश्वविद्यालयको शैक्षिक उन्नयनमा हातेमालो गर्दै सकारात्मकताका साथ अगाडी बढ्न सबैलाई प्रेरणा प्रदान गरेको उल्लेख गर्नु भएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका नेत्री सुजिता शाक्यज्यू, विश्वविद्यालयका पदाधिकारीज्यू, प्राध्यापक, कर्मचारी, पत्रकार, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो भने स्कुल अफ ल मा अध्ययनरत विद्यार्थी दिपक प्रसाद उपाध्याय र हिमाली पाण्डेले कार्यक्रमको संचालन गरेका थिए । अन्तरक्रिया कार्यक्रमको प्रतक्ष्य प्रसारण मध्यपश्चिम विश्वविद्यालयको आधिकारिक फेसबुक पेज मार्फत समेत गरीएको थियो ।