केही दृष्टान्त | Education Patra

केही दृष्टान्त


Bhagwat Khanal - साहित्य सङ्ग्रहालयसाहित्य ...

भागवत खनाल

पृथ्वीनारायण शाहले चारैतिरबाट घेरा हाल्दै थिए । उपत्यकाभित्र प्रशस्त जासुस समेत छिराए । उता काठमाडौंमा आन्तरिक सत्ता सङ्घर्ष तीव्र हुँदै थियो । आन्तरिक गुटबन्दीले लखतरान भएपछि जोसिला र राष्ट्रभक्त तर हतास र बुद्धिहीन राजा जयप्रकाश मल्लले आफ्नै नजिकका मानिसलाई समेत राष्ट्रघाती देख्न थाले ।

पाल्पाली राजा मुकुन्द सेनले पाँच सय वर्षअघि नै करिब करिब नेपाल एकीकरण गरिसकेका थिए । धेरै राजा भए धेरैजना जागिरे हुन पाइन्छ भन्ने भावना भएका स्वार्थीहरुको झुण्डले राजालाई जोगी हुन उक्साएर देश विभाजन गर्न प्रेरित गर्यो । राजा आफैले निर्माण गरेको देशलाई टुक्राटुक्रा पारेर तपस्या गर्न देउघाटतिर लागे । सत्ता र शक्तिमा हुँदा प्राप्त हुने प्रशंसा र उक्साहट प्रायः बनावटी हुन्छ भन्ने थाहा पाएका व्यक्ति समेत सत्तामा पुगेपछि यो वास्तविकता बिर्सन्छन ।
सुगौलीको सन्धि अघि अङ्ग्रेजसङ्ग लड्नु ससाना रजौटासित लडे जस्तो हैन , ठूलो तयारी चाहिन्छ भन्ने पक्षलाई डरपोक , मौकामा काम नलाग्ने , आदि भन्दै उन्मादी पक्षले खिसी गर्न थाल्यो । युद्ध मैदानको अनुभव नभएका भावुक राष्ट्रवादी भीमसेन थापालाई “वाह राष्ट्रवादी” भनेर उचाल्ने धेरै थिए । राष्ट्रियताको मामिला गम्भीर हुने हुनाले धेरै तर्क गर्दा अराष्ट्रियको आरोप लाग्ने डरले शान्ति चाहनेहरु पनि चुप लाग्नै पर्यो । फिरङ्गीलाई मुला छप्काए जस्तो छप्काएर लघारिन्छ भन्ने “वार पार्टी ” को हतारले गर्दा धेरै गुमाउनु पर्यो ।
सन १७९१-९२ मा नेपालमाथि चीनले आक्रमण गर्दा बहादुर शाहले अङ्ग्रेजको सहयोगको अपेक्षा गरेका थिए , तर अंग्रेज़ले ठाडै धोका दियो । उत्तरबाट च्याप्दै ल्याउदा विवश भै सरकारी खजाना मकवानपुरतिर सार्ने हो कि भन्ने सम्मको स्थिती उत्पन्न भएपछि अन्तमा बेत्रावतीमा असमान सन्धि गर्नु पर्यो । सन्धिमा नेपालमाथि कसैले आक्रमण गरे चीनले सहयोग गर्ने व्यवस्था थियो । जब नेपाल र अंग्रेज़बीच निर्णायक युद्ध भयो , चिनले वास्तै गरेन । दुई ढुङ्गाबीचको तरुललाई हल्लिने , बिच्किने र ढल्किने सुविधा छैन , आफैलाई चोट लाग्छ । दुबै ढुङ्गा “मित्र” हुन् , कम या ज्यादा मित्र होइनन ।
सनकी राजा रणबहादुर शाहको दरबारको छानामा गिद्ध बसेछ । कुनै चुक्लिदारले आएर सुनाइदियो । राजाले सोधे – अब के हुन्छ ? सुनाउनेले सुनायो – अलच्छिन हुन्छ । शासक त शासक हुन्छ । राजाले सोचे – गिद्ध नै सखाप पार्नु पर्यो । देशभरिका साराका सारा गिद्ध मार्ने र गुण समेत भक्ताइदिने उर्दी जारी भयो । राजाको यो बौलट्ठीको वाह राजा ! भन्दै तारिफ गर्नेको संख्या सानो थिएन ।
राष्ट्रवादमा साह्रै लट्ठिएपछि खासै केही गर्नु पर्दैन । मन नपरेको या तत्काल मन नपरेको विदेशी राष्ट्रलाई बेस्सरी गाली गर्नुपर्छ र अलि थोरै गाली गर्नेलाई पनि गाली गर्नुपर्छ भन्ने चलन पुरानै हो । सुगौली सन्धिपछि काठमाडौंमा फिरङ्गीलाई सत्तोसराप गरेर मन बुझाउने चलन खूब झाङियो । गालीले रिस नमरेपछि नेपाली फौजका सिपाहीमध्य केहीलाई अंग्रेज़ र कसैलाई गोर्खाली बनाएर लड्न लगाउने , दुबैबीच घमासान युद्ध भएपछि अंग्रेज़ बनेर लड्ने पक्ष बेपत्तै गाइते भई टोवा टोवा भन्दै भागेको देखेर आनन्द लिने सम्म गरियो ।
सत्ताले अन्धो , बहिरो र उन्मादी बनाउने मात्र होइन , अरुको उपहास गर्न समेत प्रेरित गर्छ । अझ उल्काउने र उक्साउनेहरु समेत भए भने त झन “चारचाँद” लाग्छ । राष्ट्रिय समारोहको दिन थियो , सानो पदका जङ्ग बहादुर कुवरले पनि हात्ती चढ्ने मौका पाए । प्रधानमन्त्री मामा माथवरसिंह थापाले सत्ता उन्मादमा “तिमी पनि हात्ती चढ्ने भयौ” भनेर उपहास गरे । एकदिन उनले भान्जा जङ्गलाई भनेका थिए – राजाको आदेश भयो भने तिमीले मलाई र मैले तिमीलाई पनि मार्नु पर्छ ।” माथवर बहादुर थिए शंका छैन , तर अहंकारले ओतप्रोत । उनी कसैलाइ दुई दामको गन्दैनथे । पछि तिनै जङ्ग बहादुर मामाका काल बने । आफ्ना सहकर्मी र सहयोगीलाई खिसी र उपहास गर्ने बानीले दिगो फाइदा गर्दो रहेनछ ।
जङ्ग बहादुरले हल्ला मचाएर नभई अंग्रेज़लाई भित्रभित्रै घुर्की लाएर हुन्छ कि , सहायता गरेर हुन्छ कि कन्याएर हुन्छ , देशको सीमा फैलाउन सफल भए ।
गिरिजा प्रसाद कोइरालाले संसद विघटन गर्दा स्यावास ! भन्ने थुप्रा थिए । गिरिजाबाबु तिनै उक्साउरेहरुलाई वरिपरी राखेर बस्थे । कोठे गफ गर्नेहरुले दुई तिहाइ पक्का भनेर ढुक्क पारेका थिए ।
शेबदेले गोर्खाली राजाले न्याय गरे भन्दै अर्धसत्तामा जांदा र किस्तीमा उपहार चढाउँदा समेत प्रशंसकहरुको कमी थिएन ।
सिङ्गापुर , स्विजरल्यान्ड आदि देश लडेर , कराएर र हल्ला गरेर “बलिया” बनेका होइनन । मुख्य प्रश्न – कहिले यसको कहिले उसको मोहरा बनिरहने कि खेलाडीमा परिणत हुने ?
लेखकः नेपाल सरकारका पूर्वसहसचिब हुनुहुन्छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्