मृतक बालकको परिवारलाई दश-दश लाख दिइने | Education Patra

मृतक बालकको परिवारलाई दश-दश लाख दिइने


जनादेश काठमाण्डौ ।

भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई रु दश÷दश लाख प्रदान गरिने भएको छ ।

निर्माण कम्पनीले खनेर छाडेका पोखरीमा डुबेर गत बुधबार बालकको मृत्यु भएको थियो । बिहीबार उचित क्षतिपूर्तिको माग राख्दै परिवारले शव बुझेका थिएनन् । भद्रपुर नगरपालिका, कमलधाप पर्यटन क्षेत्र विकास समिति र पीडित पक्षसँग भएको छलफलपश्चात् पाँचबुँदे लिखित सम्झौतापछि परिवारले दश घण्टापछि मृतक तीनै जना बालकको शव बुझेका थिए ।

कमलधाप पर्यटन तथा सिमसार क्षेत्र निर्माणस्थलमा खनिएको पोखरीमा डुबेर भद्रपुर–२ डिगाउँ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अङ्कुस तामाङ, बिर्तामोड नगरपालिका–९ हाल मावाला बस्दै आएका दीपक थामीका दुई छोरा १४ वर्षीय करण र ११ वर्षीय अर्जुन थामीको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा अनिलको शव बुधबार साँझ ७ बजे भेटिएको थियो, भने थामी दाजुभाइको शव बिहीबार बिहान ९ बजे मात्रै भेटिएको थियो । थामी दाजुभाइको शव नबुझ्ने भन्दै पीडित पक्षले घटनास्थलमा विहीबार दिनभर न्याय र राहतको माग गर्दै धर्ना दिएका थिए ।

छलफलपश्चात् भएको सम्झौतामा नगरपालिकाले सम्बन्धित सबै सरोकारवाल पक्ष र सरकारसँग समन्वय गरी मृतकका परिवारलाई रु १० लाखको दरले राहत उपलब्ध गराउने, पीडित पक्षको सम्बन्धित व्यक्तिलाई यस कमलधापमा सञ्चालित परियोजनामा रोजगारको व्यवस्था, निर्माणाधीन स्थलमा पुनः यस्ता घटना नदोहोरिनको लागि निर्माणस्थलमा सुरक्षाको व्यवस्था, कमलधाप पर्यटन क्षेत्र विकास समिति खारेज र पीडितका परिवारलाई ३५ दिनभित्रमा राहतलगायतको सम्झौता कार्यान्वयन गर्ने निर्णय भएको छ ।

सम्झौतापत्रमा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, २ नम्बर वडाध्यक्ष भीमबहादुर सुब्बा, बिर्तामोड नगरपालिका–९ नम्बर वडाका सदस्य हरि चम्लागाई र बालकृष्ण कार्की, नेकपाका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली काँग्रेसका राजु गिरी, तामाङ समाजका दलबहादुर लामा, थामी समाजका मेघराज थामी, कमलधाप पर्यटन क्षेत्र विकास समितिका राजु दाहाल, सुब्बे थामी र पूर्णबहादुर तामाङले हस्ताक्षर गर्नुुभएको छ । रासस

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्