फुटबल टोली क्वारेन्टिनमा बस्ने | Education Patra

फुटबल टोली क्वारेन्टिनमा बस्ने


काठमाडौं । कतारमा सन् २०२२ मा हुने विश्वकपको छनोट चरण खेलको लागि प्रशिक्षण सुरु गर्नुअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीलाई क्वारेन्टिनमा राख्ने भएको छ ।

भदौ १ गतेबाट प्रशिक्षण थाल्ने तयारीमा रहेका एन्फाले साउन १६ गते रिपोर्टिङका लागि खेलाडीहरुलाई सम्बन्धित क्लबमार्फत पत्रचार गरेको छ । फागुनको पहिलो साता सम्पन्न सहिद स्मारक ए डिभिजन लिगको प्रदर्शनका आधारमा प्रशिक्षणलाई बोलाइएका ३५ जना खेलाडीलाई रिपोर्टिङका लागि बोलाइएको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

प्रशिक्षणमा समावेश हुने खेलाडीले १४ दिन क्वारेन्टिनमा बस्ने र पिसिआर अनिवार्य रुपमा परिक्षण गर्नुपर्ने छ । त्यसै अनुसार एन्फाले आवश्यक तयारी गरिरहेको तुलाधरले बताए ।

एन्फामा अहिले ललितपुर महानगरपालिकाले क्वारेन्टिनको रुपमा प्रयोग गरिरहेको छ । त्यो खाली गराएपछि प्रशिक्षणमा समावेश हुने खेलाडीलाई एन्फाकै होस्टलमा राख्ने तयारी गरिएको तुलाधरले बताए ।

खेलाडी बस्नुअघि होस्टल खाली गरेर सेनिटाइज गरिने तुलाधरले जानकारी दिए । त्यति बेला सम्म भने काठमाडौं उपत्यकामा घर हुने खेलाडी र आफै बस्दै आएका खेलाडीलाई होम क्वारेन्टिनमा राख्ने, उपत्यकाका बाहिरका खेलाडीको हकमा होटलमा राख्ने विषयमा छलफल भइरहेको तुलाधरले जानकारी दिए ।

‘दुई तीन वटा विकल्पमा छलफल भइरहेको छ । एक सबै खेलाडीलाई होटलमा कोरेन्टिनमा राख्ने । त्यो अवस्थामा होटलका स्टाफहरुको पनि पिसिआर परिक्षण गर्नु पर्नेछ, अर्को उपत्यका बाहिरका खेलाडीलाई मात्र होटलमा राख्ने’, तुलाधरले भने, ‘सरकारले दिएको सबै स्वास्थ्य मापदण्डलाई पुरा गरेरर मात्र काम गर्नेछौं । सबै हिसाबले सुरक्षित भएपछि अनि एन्फाको आफ्नै होस्टलमा राख्नेछौं । ’

मन्त्रीपरिषद्को मंगलबार बसको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न र प्रारम्भिक प्रशिक्षण सुरु गर्न दिने नियर्ण गरसँगै एन्फाले विश्वकप छनोटको तयारीका लागि प्रक्रिया अघि बढाएको हो ।

एसियाली फुटबल महासंघ (एएफसी) ले असोज २२ गते विश्व कप छनोटको स्थगित खेल्ने यसअघि नै जानकारी गराइसकेको छ । विश्वभर महामारीको रुप लिइरहेको कोभिड १९ का कारण चैतमा हुनु पर्ने विश्व कप छनोट स्थगित भएको थियो । नेपालले विश्व कप छनोटका अब ३ वटा खेल खेल्न बाँकी छ । ती सबै खेल दशरथ रंगशालामा हुनेछन् ।

छनोट अन्तर्गत समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम तीन खेल खेल्न बाँकी रहेको छ । नेपालले बाँकी तीनै खेल आफ्नो घरेलु मैदान दशरथ रंगशालामा खेल्ने कार्यक्रम रहेको छ । सुरुवात पांच खेलमा नेपालले १ जित र ४ हारसहित ३ अंक जोडेको छ । पाँच राष्ट्र सम्मिलित समूहमा नेपाल चौथो स्थानमा छ । नेपालले पछिल्लो पटक घरेलु मैदान तयार नहुँदा कुवेतसँगको खेल भुटानको चाङलिमिथाङ मैदानमा खेलेको थियो ।

उक्त खेलमा नेपाल १-० ले पराजित भएको थियो । त्यसअघि खेलेका ४ अवे खेलमध्ये नेपालले चाइनिज ताइपेइको मैदानमा २-० को जित हासिल गरेको थियो । उक्त जितमा दुवै गोल अन्जन विष्टले गरेका थिए । नेपालले पहिलो खेलमा कुवेतको मैदानमा ७-० को हार बेहोरेको थियो । दोस्रो खेलमा जित दर्ता गरेपछि अष्ट्रेलिया पुगेको नेपाली टोलीले त्यहाँ ५-० को हार बेहोरेको थियो । चौथो खेलमा नेपाल जोर्डनको मैदानमा ३-० ले पराजित भएको थियो । अब नेपालले घरेलु मैदानमा चाइनिज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्ने कार्यक्रम रहेको छ ।

नयाँ खेल तालिका अनुसार नेपालले असोज २२ (८ अक्टोबर)मा चाइनिज ताइपेइसँग खेल्नेछ भने अष्ट्रेलियासँग त्यसको पाँच दिन पछि (असोज २७ गते) प्रतिस्पर्धा गर्नेछ । २७ कार्तिक (१२ नोभेम्बर)मा जोर्डनसँग खेल्दै नेपालले आफ्नो विश्वकप छनोट सम्पन्न गर्नेछ ।

पाँच राष्ट्र सम्मिलित समूहको शीर्ष स्थानमा रहने टोलीले एसियन कपमा छनोट हुनुका साथै विश्वकप छनोटको तेस्रो चरणमा सहभागी हुन पाउनेछ । दोस्रो हुने उत्कृष्ट चार टोली पनि विश्वकपको तेस्रो चरणका साथै एसियन कपमा अगाडी बढ्नेछन् भने तेस्रो स्थानसम्मका टोली एसियाली कपको छनोटको तेस्रो चरणमा छनोट हुनेछन् । समूहको उत्कृष्ट ४ चौथो हुने टोली एसियाली कप छनोटको तेस्रो चरणमा पुग्दा बाँकी टोलीले उक्त छनोटमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।

हालसम्मको नतिजा हेर्दा नेपाल एसियन कप छनोटका लागि प्लेअफ खेल्नुपर्ने स्थितिमा छ । नेपालले बाँकी तीन खेलमा भने सुखद नतिजा हासिल गर्ने अपेक्षा गरिएको छ । नेपालले महाभूकम्पका कारण रंगशाला बिग्रीएपछि अन्तर्राष्ट्रिय मान्यताप्राप्त फिफाको खेल खेलेको छैन ।

नेपाल रहेको समूह ‘बी’मा अष्ट्रेलिया ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक रहेको छ । नेपाल ३ अंकसहित चौथो स्थान तथा अंकविहिन चाइनिज ताइपेइ अंकविहिन रहेको छ ।

प्रशिक्षणमा डाकिएका खेलाडी

गोलरक्षक – विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, किरण चेम्जोङ

रक्षक – रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकास खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तान

मिडफिल्डर – विशाल राई ‘बी’, सेसेहाङ आङदेम्बे, तेज तामाङ, विक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट, रोहित चन्द

फरवार्ड – अभिषेक रिजाल, जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्