जनादेश संवाददाता,
काठमाडाँै । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो ।
नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त हुनुभएको हो ।
त्यस्तै राखेपमा पहिलो पटक खुला आह्वानद्वारा सदस्य सचिव नियुक्त हुनुभएको हो । नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित तीन जनामध्येबाट सिलवाल सदस्य सचिव नियुक्त हुनुभएको हो ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।
सिलवाल गत वर्ष असार २३ गते सदस्य सचिव पदमा नियुक्त हुनुभएको थियो भने नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उहाँ पदमुक्त हुनुभएको थियो । रासस