एजेन्सी ।
एफसी बर्नमाउथ र वाटफोर्ड इंग्लिस प्रिमियर लिगबाट रेलिगेसनमा परेको छ । लिगको अन्तिम खेलमा एभर्टनलाई ३–१ ले हराएपनि बर्नमाउथले रेलिगेसन टार्न सकेन ।
वाट्फोर्ड आर्सनलसँग ३–२ ले पराजित हुदै दोस्रो डिभिजनमा घटुवा हुन पुग्यो । बर्नमाउथले ३८ खेलबाट ३४ अंक जोडेर १८औं स्थानमा रहेर लिगको अन्त्य गर्दा वाट्फोर्ड पनि ३४ अंक नै जोडेर १९औं स्थानमा रहेर रेलिगेसनमा पर्यो । नर्विच यसअघि नै रेलिगेसनमा परेको थियो ।
बर्नमाउथले यो सिजन ९ खेलमा जित, ७ बराबरी र २२ खेलमा हार बेहोर्यो । यस्तै वाट्फोर्डले ८ जित, १० बराबरी र २० खेलमा हार भोग्यो ।
गुडिसन पार्कमा आइतबार राति एभर्टनमाथिको जितमा बर्नमाउथका जोसुवा किङ, डोमिनिक सोलांके र जुनियर स्टानिलासले गोल गरे । बर्नमाउथसँग हार बेहोर्दै एभर्टनले १२औं स्थानमा यो सिजन अन्त्य गर्यो ।
अर्काे खेलमा वाट्फोर्डले आर्सनलसँग ३–२ को हार बेहोर्यो । आर्सनलको जितमा कप्तान पिएरे इमिरिक औवामियाङले दुई तथा काइरन टाइअनेले एक गोल गरे । वाट्फोर्डका ट्रोए डिनी र ड्यानी वेलब्याकले गोल गरेपनि हार टार्न सकेन । आर्सनलले ५६ अंक जोडेर आठौं स्थानमा यो सिजन अन्त्य गर्यो ।