एजेन्सी ।
फ्रेन्च तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर रहने भएका छन् ।
कप डे फ्रान्सको फाइनल दौरान चोट बोकेर तीन साता मैदान बाहिर रहनुपर्ने भएपछि एमबाप्पेले फ्रेन्च लिग कपको फाइनलका साथै च्याम्पियन्स लिगको क्वाटरफाइन खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ । फ्रेन्च लिग कप ३१ जुलाईमा तथा एटलान्टाविरुद्धको क्वाटरफाइनल १२ अगस्टमा पोर्चुगलको लिस्वनमा हुदैछ । पीएसजी सेमिफाइनल र फाइनल पुगेको अवस्थामा भने टोलीमा उपलब्ध हुने क्लबले जनाएको छ ।
सेन्ट एटिएनका कप्तान लोइस पेरिनले एमबाप्पेमाथि निकै गम्भीर फल गरेका थिए । पेरिनको फलमा रेफ्रीले सुरुवातमा पहेंलो कार्ड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले रातो कार्ड दिएका थिए । फाइनलमा नेयमारको गोलमा अग्रता लिइसकेको पीएसजीले त्यसै गोलको मद्दतले उपाधि जितेको थियो । एमबाप्पेले खेल दौरान र उपाधि उचाल्दा बैसाखीको सहारा लिएका थिए ।
क्लबले जारि गरेको विज्ञप्ति अनुसार एमबाप्पेको दायाँ खुट्टाको एंकलको एक्स्टर्नल लेटरल कम्पार्टमेन्टमा गम्भीर चोट लागेको छ । चोट पुर्ण रुपमा निको हुन कम्तीमा पनि तीन साता लाग्नेछ । एमबाप्पेले यस सिजन ३४ खेल ३० गोल गरेका छन् । फ्रान्सको शीर्ष डिभिजन लिगसहित सम्पूर्ण प्रतियोगिता कोरोना भाइरसका कारण रद्ध भएपनि पीएसजी च्याम्पियन बनेको थियो ।
एटलान्टालाई पराजित गरे त्यसको एक सातापछि (१८–१९ अगस्ट)मा क्लबले सेमिफाइनल खेल्नेछ । फाइनल खेल २३ अगस्टमा हुनेछ ।