जनादेश, काठमाडौँ । चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीले संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ‘श्री ७’ महाराजको जस्तो भएको बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा माइतीघरमा शनिबार आयोजित विरोधसभामा डा. केसीले राजालाई फाल्ने जनताले ओलीलाई पनि फाल्ने बताए ।
‘ओलीको व्यवहार श्री ७ महाराजको जस्तो भएको छ । जनताले श्री ५ महाराजलाई त फाले अब श्री ७ महाराजलाई पनि फाल्छन्,’ डा. केसीले थपे, ‘सत्ताको उन्मादमा रहेको ओली सरकारलाई दण्डित गर्नु, संविधानको रक्षा गर्नु जनताको कर्तव्य हो ।’
संसद् विघटनविरुद्ध जनताले ठाउँठाउँमा विरोध गरिरहेको डा. केसीको भनाइ थियो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताए । उनले आगामी दिनमा प्रदेश सरकारहरू पनि विघटन गर्ने सम्भावना रहेको बताए । उनले वैशाखमा निर्वाचन गराउनका लागि घोषणा नगरिएको बताए ।
प्रदर्शन गर्न माइतीघर गएकाहरूलाई सुरक्षाकर्मीले केहीबेर अवरोध गरेका थिए ।