‘तानाशाह’लाई सडकमा कसरी ल्याउनुपर्छ जनतालाई राम्रोसँग थाहा छ : डा. केसी | Education Patra

‘तानाशाह’लाई सडकमा कसरी ल्याउनुपर्छ जनतालाई राम्रोसँग थाहा छ : डा. केसी


काठमाडौँ — चिकित्सक तथा नागरिक अभियन्ता डा. गोविन्द केसीले तीन करोड नेपालीले रगत र पसिना बगाएर ल्याएको संविधानको हत्या गर्ने अधिकार कसैलाई नभएको बताएका छन् ।

तस्बिर : केशव थापा/कान्तिपुर

प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार काठमाडौंमा आयोजित ‘अहिंसात्मक नागरिक प्रदर्शन’ लाई सम्बोधन गर्दै डा. केसीले संविधानको हत्या गर्ने ‘तानाशाह’लाई सडकमा कसरी ल्याउनुपर्छ भन्ने कुरा नेपाली जनतालाई राम्रोसँग थाहा भएको बताए । ‘संविधानको हत्या गर्ने ती तानाशाहलाई सडकमा कसरी ल्याउनुपर्छ भन्ने कुरा जनतालाई राम्रोसँग थाहा छ,’ उनले भने ।

आफूहरु कुनै पनि पार्टीको समर्थन र विरोधमा नभएर संविधानको रक्षार्थ आन्दोलनमा रहेको पनि उनले बताए । उनले भने, ‘हामी कुनै पार्टीको समर्थन र विरोधमा आएका होइनौँ । हामी सबै पार्टीका नेतृत्वलाई जनताप्रति जवाफदेही बनाउनुपर्छ भन्ने मान्यता राख्छौँ ।’

जनताकै करबाट तलबभत्ता खाए पनि अधिकांश पार्टीका नेताहरुले जनपक्षीय काम नगरेको डा. केसीको आरोप थियो । ‘जनताले आफ्नो छाक काटेर तिरेको करबाट तलबभत्ता खाने तर उनीहरु जनताका पक्षमा ऐनकानुन बनाउँदैनन्,’ उनले भने ।

देश र जनता समृद्धिको बाटोतिर अगाडि बढ्लान् भनेर झन्डै दुई तिहाई दिए पनि नेकपा र उ नेतृत्वको सरकारले काम गर्न नसकेको पनि डा. केसीको गुनासो थियो । ‘दुई तिहाईको सरकार भएपछि त देशले समृद्धिको बाटोतिर जान्छ होला जनताले सुख पाउलान् भन्ने लाग्याथ्यो तर दुई समूहबीचको कुर्सीको लडाइँले अहिले यस्तो समस्या आयो,’ केसीले भने ।

त्यस्तै प्रधानमन्त्री ओलीले एकपछि अर्कोगरी नागरिक अधिकार खोस्ने काम गरेको पनि केसीले बताए । ‘नागरिक अधिकारहरु एकपछि अर्कोगरी ओली सरकारले खोसे । पहिले राजाले नागरिकको अधिकार खोसेका थिए । अहिले ओलीले खोसे,’ केसीले भने ।

कोरोना महामारीबाट निम्तिएका समस्यालाई सम्बोधन गर्नुपर्ने बेलामा पार्टीको आन्तरिक विवादका कारण ओलीले प्रतिनिधिसभा नै विघटन गरी असंवैधानिक कदम चालेको पनि केसीले बताए ।

‘कोरोनाको प्रभावले ज्यालामजदुरी गर्नेहरु भोकै बस्ने अवस्था छ । यस्तो बेलामा त कोरोनाको प्रभावबाट कसरी मुक्ति पाउने भन्ने विषयमा छलफल हुनुपर्ने हो ।अनावश्यक चुनाव अर्बौं खर्चेर चुनाव गर्नुभन्दा गाउँगाउँमा अस्पताल खोल्न सकिन्थ्यो । कोरोनाले भोकै परेका मजदुरहरुलाई हेर्न सकिन्थ्यो नि । जनता मरुन् बाँचुन् केही मतलब छैन । उनले असंवैधानिक कदम त चाले नै राज्यकोषको पनि दुरुपयोग गर्ने काम गरे,’ केसीले भने ।

डा. केसीले संविधानको रक्षा गर्नु जनताको कर्तव्य भएको उल्लेख गर्दै भने, ‘न्यायालय पनि जनताप्रति उत्तरदायी हुनुपर्छ । जनताप्रति ओली पनि जवाफदेही हुनुपर्छ । असंवैधानिक कदम फिर्ता लेउ, यदि फिर्ता लिँदैनौँ भने तिमी प्रधानमन्त्री त के सामान्य जनता हुन पनि योग्य छैनौँ ।’

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्