नागरिक आन्दोलनले टुँडीखेलमा घोषणापत्र सार्वजनिक गर्ने | Education Patra

नागरिक आन्दोलनले टुँडीखेलमा घोषणापत्र सार्वजनिक गर्ने


जनादेश नेपाल, काठमाण्डौ । बृहत् नागरिक आन्दोलनले फागुन ७ गते टुँडीखेलमा नागरिक घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

शोभाभगवतीमा मंगलबार सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको सालिक अघि गरिएको कार्यक्रममा पत्रकार तथा लेखक नारायण वाग्लेले घोषणापत्र सार्वजनिक गरेपछि नयाँ आन्दोलनको उभार आउने बताए ।

शुक्रराज शास्त्रीलाई फाँसी दिइएको टेकु र धर्मभक्त माथेमालाई फासी दिइएको सिफलचौरमा आन्दोलनका कार्यक्रम गरेर मंगलबार नागरिक आन्दोलन शोभाभगवती पुगेको थियो ।

नागरिक अगुवा वाग्लेले चार जनाको शहादत र हजारौं नेपालीको योगदानपछि ७० वर्षअघि प्राप्त प्रजातन्त्रको इतिहास पुनर्व्याख्या गर्दै कहाँ-कहाँ नागरिक अधिकार दमन र कुन्ठित गरियो भनेर पुनर्प्रश्न गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले शासकहरु सेवक हुनुपर्नेमा कसरी शोषक भए भन्ने प्रश्नसमेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि पशुपती मन्दिरस्थित शिवलिंगमा सुनको जलहारी हाल्न पैसा दिने उद्‌घोष गरेर राज्यकोष लुट्न लागेको टिप्पणी वाग्लेले गरे ।

लोकतन्त्रमा खोप लगाउने राज्यकोषको पैसाले तोप पड्काउने शासकहरुलाई एक एक हिसाब सोध्न र गलत नितीको चिरफार गरेर नयाँ आन्दोलनको उभार ल्याउनका लागि प्रजातन्त्रको पहिलो घोषणा भएको टुँडीखेलमा जम्मा हुन उनले आह्वानसमेत गरे ।

वाग्लेले राणाशासनमा ठूला–ठूला दरबार वरपर हिँड्न कर्फ्यु लगाइएजस्तै अहिले निषेधाज्ञा लगाइएको उल्लेख गरे । ‘महत्वपूर्ण ठाउँहरुमा काँडेतार छ । फरक कहाँ छ ?’ उनले भने, ‘फागुन ७ मा टुँडिखेलमा भेला भएर ७० वर्षयताको एक एक हिसाब माग्नुपर्छ ।’

मंगलबारको आन्दोलनमा लिम्बु गीत प्रस्तुत, डोटेली भाषाको कविता वाचन गरिनुका साथै चन्द र श्रेष्ठलाई कसरी गोली हानेर राणाशासकले मारेका थिए भन्ने बुझाउन शिल्पी थिएटरका कलाकारहरुले नाटक प्रदर्शन गरेका थिए ।

 

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्