वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छ : उपसभापति निधि | Education Patra

वर्तमान सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुन्छ : उपसभापति निधि



पर्सा । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रनारायण निधिले मुलुकमा विद्यमान राजनीतिक सङ्कटको निकास प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने बताउनुभएको छ । उहाँले सरकारकोे असंवैधानिक निर्णयबाट सिर्जना भएको राजनीतिक संवैधानिक सङ्कटको समाधान प्रतिनिधिसभाको प्राप्तिले मात्र हुने प्रष्ट पार्नुभयो ।

कांग्रेस बुथ कमिटी बगहीले आइतबार वीरगञ्ज महानगरपालिका–२८ बगहीमा आयोजना गरेको बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उपसभापति निधिले वर्तमान समस्याको समाधान गर्न प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताउनुभयो ।
उहाँले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको रिटको फैसला गर्दै प्रतिनिधिसभा पुनःस्थापना भए समस्या समाधान हुन्छ, नभए प्रनिधिसभाको निर्वाचनमार्फत समस्याको समाधान खोज्नु नै उपयुक्त बाटो भएको धारणा व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको पुनःस्थापना वा निर्वाचन दुवै मध्यमबाट प्राप्त भएको प्रतिनिधिसभाले मात्र राजनीतिक सङ्कटलाई सम्बोधन गर्न सकिने बताउँदै नेता निधिलै दुवै बटो संवैधानिक, लोकतान्त्रिक र राजनीतिक सम्मत रहेको प्रष्ट पार्नुभयो । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका उपसभापति निधिले मुलुकमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार, महँगीले आमनेपाली जनता पीडित भए पनि वर्तमान सरकारले त्यसलाई नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयो ।

कांग्रेस बुथ कमिटी बगहीका अध्यक्ष सरजुग महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुलाह मन्सुर, सदस्य अजयकुमार चौरसिया, गगन थापालगायतका नेताले पद, पैसा र प्रतिष्ठानको लोभका कारण मुलुक राजनीतिक संवैधानिक सङ्कटमा फसेकोे बताउनुभयो ।

उहाँहरूले नेकपाभित्रको आन्तरिक विवादलाई समाधान गर्नुको सट्टा विभिन्न आन्दोलन र हजारौँको शहादतबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई नै धरापमा पारेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकालाई उपसभापति निधिले स्वागत गर्नुभएको थियो । रासस

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्