आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू | Education Patra

आप्रवासीलाई अमेरिकाको अनुरोधः सीमा बन्द छ, त्यता नजानू


महामारीको सन्नाटामा विश्व शक्तिराष्ट्र अमेरिका « Pahilo News

मेक्सिको सिटी ।

संयुक्तराज्य अमेरिकाको दक्षिणी सीमा मामिला सम्बन्धी अमेरिकी संयोजक रोबर्टा ज्याकोब्सनले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गर्नु भएको छ ।

अमेरिका प्रवेश गर्ने चाहना बोकेका तर प्रवेशाज्ञा अनुमतिको कागजात नभएका हजारौं व्यक्ति मध्य अमेरिकी मुलुकहरुबाट आइरहेका समाचार बाहिरिएसँगै उहाँले अमेरिकी सीमा बन्द गरिएको जानकारी दिनु भएको छ ।

मेक्सिको सिटीमा रहेको अमेरिकी राजदूताबासबाट सार्वजनिक गरिएको उहाँको एउटा अडियो सन्देशमा भनिएको छ, “सीमामा नआउनु होला । सीमा बन्द गरिएको छ ।”

ज्याकोब्सनले अवैधानिक ढङ्गबाट संयुक्तराज्य अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरु आपराधिक तत्वहरु र मानव तस्करबाट पीडित हुने जोखिम पनि रहने बताउनु भएको छ ।

राष्ट्रिय सुरक्षा परिषदमा दक्षिण अमेरिकी प्रमुख हुवाँ गोन्जालेज र ज्याकोब्सनले मेक्सिकोका विदेश मन्त्री मार्सेलो एब्रार्डसँग मेक्सिको सिटीमा वार्ता गरेपछि ज्याकोब्सनको अडियो सार्वजनिक गरिएको हो ।

आर्थिक सङ्कट, अपराध र पर्यावरणीय विपदबाट जीवन कष्टप्रद भएको जनाउँदै मध्य अमेरिकी मुलुकहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न मेक्सिकोको बाटो हुँदै उत्तरतर्फ बढेका छन् ।

बालबच्चा सहित ठूलो संख्यामा मानिसहरु कैयौं दिनदेखि हिँडेरै अमेरिकी सीमामा पुग्न लागेको आप्रवासीका क्षेत्रमा कृयाशील सङ्घसंस्थाले जनाएका छन् ।

ज्याकोब्सनले सन्देशमा मेक्सिकोको उत्तरी सीमा क्षेत्रमा यात्रा निकै कठिनाइपूर्ण रहेको बताउँदै मानव तस्करहरुले सीमापार गराइदिने प्रलोभनमा लुटपाट र शोषण गर्न सक्ने खतरा रहेको बताउनु भएको छ ।

यसबाहेक, विश्वभर नै कोरोनाभाइरसको महामारी फैलिइरहेको अवस्थामा ठुल्ठूलो समूहमा हिँड्दा वा शिविरमा बस्दा कोरोनाभाइरसको सङ्क्रमण हुने खतरा अरु बढ्ने बताउँदै उहाँले आप्रवासी प्रक्रियाका बारेमा बढीभन्दा बढी जानकारी लिन र सुरक्षित रहन आग्रह गर्नु भएको छ ।

अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनले उपलब्ध गराएको तथ्याँकमा गत फेब्रुअरीको एक महिनामै अमेरिका प्रवेश गर्न खोज्ने करिब एक लाख व्यक्तिलाई सीमा क्षेत्रमा नियन्त्रण गर्नु परेको उल्लेख छ ।

आप्रवासीको संख्या दिनहुँ बढ्दै गएका खबरहरु सार्वजनिक भएलगत्तै राष्ट्रपति जो बाइडेनले त्यस्ता आप्रवासीलाई आफ्नो देश नछाड्न आग्रह गर्नु भएको थियो । तर राष्ट्रपति बाइडेनको आग्रहलाई समेत बेवास्ता गर्दै ठूलो संख्यामा आप्रवासीहरु अमेरिकी सीमा क्षेत्रमा ओइरिन थालेपछि अमेरिका र मेक्सिकोबीच वार्ता हुन थालेको छ । रासस–एएफपी–एपी

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्