बेपत्ता महोत्तरीका झा दम्पती मृत अवस्थामा फेला | Education Patra

बेपत्ता महोत्तरीका झा दम्पती मृत अवस्थामा फेला


जनादेश नेपाल, काठमाण्डौ ।

जनकपुरधाम। महोत्तरीमा दुई शव जमिनमा गाडिएको अवस्थामा फेला परेको छ। पिपरा गाउँपिलिका वडा नम्बर २ अतरार जाने बाटोमा जमिनमा पुरिएको अवस्थामा दुई शव फेला परेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए। उनले एउटा शव महिला र अर्को पुरुषको रहेको बताए।

दुई शव एक महिना अघि बेपत्ता भएका झा दम्पतीको रहेको अनुमान गरिएको छ। घटना स्थलमा नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो दुबैको टोली पुगेका छन्। पिपराबाट अतरार जाने बाटो निर्माण भइरहेको क्रममा डोजरले माटो खन्ने क्रममा बोरामा बाँधिएको अवस्थामा मानव कंकाल सहितको पुरुषको शव निस्केको थियो।

वरिपरि गन्ध आएपछि शव हुन आशंकामा बाटो निर्माणमा काम गर्ने मजदूरहरुले प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा प्रहरी पुगेर बोरा खोलेर हेर्दा पुरुषको टाउको काटिएको अवस्थामा देखिएपछि पुनः प्रहरी र स्थानीयको सहयोगमा माटो खन्दा महिलाको शव पनि भेटिएको प्रहरी उपरिक्षक आचार्यले बताए।

हत्या भएको धेरै समय भइसकेको कारण शव गलिसकेको कारण यकिन हुन सकेको छैन शवलाई फोरोन्सिक ल्याबमा शव पठाएपछि त्यहाँबाटै मात्रै पुष्टि हुन सक्छ। तर घटनाको प्रकृति र झा दम्पतिका आफन्तले दाबी गरे अनुसार मुसाफिर र गीता देवीकै शव हुन सक्ने उनले बताए।

गत फागुन १० गते राति घरमा सुतिरहेकै अवस्थामा ओछ्यानसहित सरकारी जागिरबाट अवकास प्राप्त ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा बेपत्ता भएका थिए। महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट झा दम्पती बेपत्ता भएका थिए। झा दम्पती बेपत्ता भएको ४ सातापछि प्रहरीले चारजनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र भारतको बिहार प्रान्त मधुवनी, थाना मधुवापुर, ग्रामपंचायत तरैया वडा नम्बर २ अनदौली घर भई हाल महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ बनौली चौक बस्ने ५० वर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले बेपत्ता भएका दम्पतीको अवस्था सार्वजनिक गर्न नसकेपछि सीआइबीले अनुसन्धान थालेको २ दिन नबित्दै चारै जनालाई घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरी सार्वजनिक गरिएको थियो।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्