जनादेश नेपाल, काठमाण्डौ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ भाइरसको संक्रमणदर मूल्यांकन गदै शैक्षिक संस्थालाई सचेत हुन अनुरोध गरेको छ ।
विगत केही दिनदेखि कोभिड–१९ भाइरसको नयाँ प्रजातिको संक्रमणदर वृद्धि हुन थालेपछि सरकारले सबै प्रकारका शिक्षण संस्थाहरूले जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड पालन गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन अनुरोध गरेको हो ।
शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकमा कोभिड–१९ को संक्रमण र त्यसबाट हुने जोखिम समेत बढेर जाने सम्भावना देखिएको हालको सन्दर्भमा यसबाट शिक्षक तथा विद्यार्थीको स्वास्थ्य र शिक्षण संस्थाका कृयाकलापमा पर्न सक्ने प्रतिकूल असरका विषयमा समीक्षा गरेको छ ।
वर्तमान परिस्थितिमा सम्बन्धित सबै सरोकारवालाहरूले सजग र सचेत रही सावधानीपूर्वक परिस्थितिको विश्लेषण गरी शिक्षण संस्थाका कृयाकलापहरू सञ्चालन गर्नुपर्ने मन्त्रालयका प्रवक्ता दिपक शर्माले जनाएका छन् । सबै प्रकारका शिक्षण संस्थाहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्डका साथै प्रदेश र स्थानीय सरकारबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको पूर्ण रूपमा पालन गर्नसमेत अनुरोध गरिएको छ ।
शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा संक्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन अनुरोध गरिएको छ । यसका साथै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरूको आयोजना नगर्न नगराउन समेत मन्त्रालय सम्वद्ध सबैमा अनुरोध गरेको छ ।
विशेषतः विद्यालयहरूले दैनिक पठन पाठन सञ्चालन गर्दा भीडभाड नहुने गरी गरी सञ्चालन गर्ने व्यवस्था मिलाउनुका साथै मन्त्रालयले जारी गरेको “विद्यालय सञ्चालन सम्वन्धी कार्यढाँचा, २०७७“ को पूर्ण रूपमा अनुसरण गर्न र सो कार्याढाँचाको अधिनमा रही स्थानीय सरकारबाट निर्णय भएबमोजिम गराउन अनुरोध गरिएको छ ।