जनादेश नेपाल, काठमाण्डौं । नेपालमा कोरोना संक्रमण उकालो लाग्दै गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकले देखाएको छ । गत शुक्रबारदेखि बिहीबार २ गतेसम्मको तथ्यांक हेर्ने हो भने २९ हजार ९ सय २८ पीसीआर परीक्षणमा २ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस अवधिमा ९९६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै यस अवधिमा २१ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या देशभर ४ हजार ३ सय ८४ रहेको छ भने ६८ जना क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म नेपालमा २ लाख ८२ हजार ५४ जना कोरोना संक्रमित भएकोमा ३ हजार ६६ जनाको ज्यान गएको छ भने २ लाख ७४ हजार ६ सय ४ जना निको भएका छन् ।
चैत २७ गते २८८ ,२८ गते ३३७, २९ गते ३०३, ३० गते ४९६ र ३१ गते ४६० जना संक्रमित देखिएका छन् । वैशाख १ गतेको तथ्यांक हेर्दा संक्रमितको संख्या एकैदिन ५८० पुगेको देखिन्छ । बिहीबार ४ हजार १५२ पीसीआर परीक्षणमा कोरोना संक्रमितको संख्या ४९० रहेको छ । त्यस्तै ५६४ एन्टिजेन परीक्षण गरिएकोमा ४४ नमुनामा एन्टिजेन पोजिटिभ पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ ।
सीमानाकाको हेल्थडेस्कमा परीक्षण गरिएको ११ हजार २९१ एन्टिजेन परीक्षणमा हालसम्म ६०१ जनामा पोजिटिभ केस भेटिएको छ ।