लीला बहादुर के.सी. । अहिले देश चुनावमय भएको छ। पार्टीहरुले चार थरी गठबंधन गरेका छन्। एक थरीले लोकतांत्रिक बाम गठवन्धन गरेका छन् भने अर्का थरीले एमाले, राप्रपा, सिके राउत, उपेन्द्र लगायतको गठबंधन गरेका छन्। त्यसै गरी चुनाव वहिस्कीरवादीहरुले पनि दुई थरी गठबंधन गरेका छन्। एउटा गठबंधन नेकपा क्रान्तिकारी (वैद्य समूह), नेकपा बहुमत (धर्मेन्द्र वास्तोला समूह) तथा नेकपा मसालबाट छुट्टिएको समूह छ भने अर्को थरी वहिस्कीरवादी गठबंधन नेकपा (विप्लव समूह) तथा नेकपा आहुतिको सानो समूह लगायत छन्।
नेपालको संविधान २०७२ घोषणा भए पछी साम्राज्यवादी भारतको नेपाल प्रतिको हेपाहा प्रवृत्तिले संविधान घोषणासंगै गरेका नाकाबंदी र नेकपा माओवादी संसदीय मूलधारमा आएको विश्लेषण तथा संविधानमा उल्लेख गरिएको संसदीय संरचना र सरकार निर्माणको प्रावधानले वृहत वामपन्थी चुनावी कार्यगत एकताको आधारभूमी बनाउने वाध्यता महशुस भयो। त्यसै पृष्ठभूमिमा एउटा सेन्टिमेन्टमा कम्यूनिस्ट पार्टीको एकता गर्ने पद्धति विपरित नेकपा एमाले र माओवादीको नेतृत्व भावनात्मक भेलमा बग्न पुग्यो र पार्टी एकता समेत गर्यो।
कम्यूनिस्ट पार्टीको एकता गर्दा दुई पार्टीको वीचमा सजातीय विषयवस्तु के हुन्, विजातीय विषयवस्तु के हुनरु ती विषयवस्तुलाई राजनैतिक र सांगठनिक तवरले कसरी हल गर्ने, कुन कुराहरुलाई तल्लो कमिटीमा छलफलकोलागि लैजाने, राजनैतिक फ़ोरम कसरी चलाउने, सांगठनिक संरचना के गर्ने, कुन कुन एजेन्डा छलफल गर्दै जाने र ती एजेन्डाहरुलाई महाधिवेशनबाट हल गर्ने, देशको समग्र पक्षको विश्लेषण, अन्तर्राष्ट्रीय राजनैतिक, आर्थिक परिवेशको विश्लेषण तथा पूंजीवाद र साम्राज्यवादका वर्तमान स्वरुप र नेपाललाई पार्ने प्रभाव आदि थुप्रै कुराहरु पार्टी एकता हुनु भन्दा अगावै छलफल हुनुपर्थ्यो तर त्यो नभई पार्टी एकता गरेपछी एकताको दस्तावेज बनाउन लगाउने काम भएकोले दस्तावेज बनाउने जिम्मा लिएका नेताहरुले न त केपी ओलीको त्यो एकता प्रकृयाको विरुद बोल्न सके न त प्रचन्डको विरुद्ध । बरु प्रचन्ड र केपीको निर्देशन बमोजिम एकता पुष्टि गर्ने निरिह दस्तावेज तयार गरे। जसरी भए पनि पार्टी एकता गर्नुको मूल उद्येश्य संविधानमा व्यवस्था भए वमोजिम सके दुई तिहाई नभए स्पष्ट बहुमत ल्याए पछी मात्र देशमा पाँच बर्षको लागि स्थायी सरकार दिनु थियो। नभन्दै झन्डै दुई तिहाई को बहुमत प्राप्त पनि भयो र केपी कै नेतृत्वमा सरकार पनि बन्यो। मन्त्रीहरु पनि बने, देशका संपूर्ण वामपन्थीहरु उत्साहित पनि भए। ठूला ठूला योजनाहरु पनि जनतालाई बांड्ने काम भयो।
समाजवाद उन्मुख संवैधानिक प्रावधान पनि भएको र सरकारले समृद्धि र सुखका सपना बांडेकोले हामी सबै सोझा साझा नेपालीले पनि पत्यायौं। तर यो सब व्यक्तिवादी र आत्म केंद्रित सोंचमा आधारित एकता भएको कुरा तीन बर्ष मैं पुष्टि भयो। आफूलाई समर्थन नगर्ने संसद पटक पटक भंग गर्ने काम गरियो। सरकारका शक्तिशाली तीन अंग मध्ये न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकाको निर्माण गर्नु पर्ने वाध्यात्मक स्थिति श्रृजना गरियो। यी आदि कामहरु त निकै शक्तिशाली राज्य संचालकहरुका आफ्ना निहित स्वार्थहरुका लागि गरिएका कामहरु थिए।
हामी हाइस्कूल पढ्दा पनि हिंजो आजको जस्तै पावर पोलिटिक्स गर्ने र त्यहि पावर भित्र विद्यार्थीहरु वरिपरी झुम्मिने प्रचलन थियो। त्यती बेला हाइस्कूलमा एक प्रकारको विद्यार्थी युनीयन नै हुन्थ्यो। मैले पढेको श्री हिमालय मा वि धुर्कोट बस्तु, गुल्मी २०१५ सालतिर स्थापित हाइस्कूल भएकोले त्यो हाइस्कूलमा गुल्मीको पश्चिमी क्षेत्रका सबै विद्यार्थीहरुको अलावा दक्षिण पश्चिम अर्घाखांची, बाग्लुंगको पश्चिम दक्षिण भेग तथा प्यूठानको उत्तरी भेगका विद्यार्थीहरु समेत पढ्न आउंथें। उमेर पुगेका प्रौढ़ र घरको आर्थिक स्थिति सवल भएका विद्यार्थीहरु बाहिरबाट डेरा गरी बस्ने भएकोले उनीहरुको लवाई खवाई स्थानीय विद्यार्थीको भन्दा केहि स्तरीय देखिन्थ्यो। विद्यार्थी युनीयनको चुनाव शायद चार बर्षे आव्धिक थियो किरु म स्थानीय विद्यार्थी भए पनि कक्षा ६ देखि त्यो स्कूलमा पढ्न गएकोले यस्तो प्रकारको विद्यार्थी चुनावको अनुभव एक पटक मात्र लिन पाएं। चुनाव हुने मिति घोषणा भयो। सूचना पार्टीमा टांस भयो।
निर्वाचन प्रमुख एक जना माध्यमिक तहमा पढाउने सरलाई तोकियो । सहायक मतदान अधिकृत निमावि तहको सरलाई तोकियो। निर्वाचनको समग्र कार्यतालिका सार्वजनिक भयो। निर्वाचन कार्यतालिका वमोजिमका कामहरु पाँच दिन भित्र सम्पन्न गर्ने भनी उल्लेख गरियो। विद्यार्थी नेताहरु एकान्त जान थालें। कोहि कुम्लाका बनतिर जान थालें। कोहि पौंडी शेषकान्तको दुकान तर्फ जान थालें। कोहि नन्दराम भन्डारीको दुकान हुंदै रानी पंधेरातिर हान्निए। एक थरी नेताहरुले केहि विद्यार्थी लिई आफ्र चिली खोला हुंदै जलुकेपानीको दुकान तर्फ लाग्न थालें भने अर्का थरी हटिया हुंदै वुढि पोखरातिर लागे। केहि बांकी विद्यार्थीहरु हटिया ( भुईं तला हुंदै रजस्थल कोट र लुंगखर्क तर्फ लागे। म रजस्थल कोट तर्फ घर भएकोले त्यहि ग्रुप संगै आफ्नै पायक पर्ने समूह तर्फ लागें।
अहिलेको निर्वाचनमा जस्तै दुई पक्षीय, त्रिपक्षीय र बहुपक्षीय वार्ताहरु गरिए। विद्यार्थी विद्यार्थीको वीचमा गरिएका वार्ताहरु असफल भए। तोकिएको समयमा नोमिनेशन गर्नै पर्थ्यो। त्यसैले निर्वाचन निष्पक्ष र धांधली रहित हुने झिनो आशा मात्र रह्यो निर्वाचन आयोग र मतदाताहरुलाई। यस्तो जटिल अवस्थामा हामी पढिरहेका विद्यार्थी भन्दा सिनीयर विद्यार्थीहरुको सहयोगको अपेक्षा विद्यार्थी नेता र मतदाताहरुमा बढ्ने नै भो। अहिले हाम्रा राजनैतिक पार्टीहरु आफू मिल्न नसक्दा भारतीय राजदूत र पश्चिमा देशका राजदूतहरुले हाम्रो गांठो फुकाइदिए जस्तै केहि सिनीयर नेताहरुले हामीलाई विभिन्न प्रकारको फ्लेवर लगाइदिए। कसैले हामीलाई कांग्रेस पक्षधर समूहको, कसैले हामीलाई कम्यूनिस्ट पक्षधरको र कसैले हामीलाई घोर दक्षिणपन्थी क्षेत्रीयतावादी फ़्लेवर लगाइदिए। हामी आ(आफ्नै तरीकाले ती सिनीयर दाजुहरुको कुरामा सहमत भयौं।
एउटा यस्तो परिस्थिति बन्न गयो कि हामी अन्त्यमा घोर दक्षिणपन्थी क्षेत्रीयतावादी थाहै नपाई बन्न पुगेछौं। स्थानीय विद्यार्थी र धेरै टाढाबाट आउने उपल्लो कक्षामा पढ्ने विद्यार्थीहरुको संख्या करिव बराबरी थियो। सानो कक्षामा पढ्ने विद्यार्थीहरु अहिलेका नेपाली जनताहरु जस्तै सोझा थिए। उनीहरुलाई उपल्लो कक्षामा पढ्ने विद्यार्थीहरुले विभिन्न तरीकाले प्रभावमा पार्न सक्थे। बाहिरबाट आएका विद्यार्थीहरु बस्ने घरका साना विद्यार्थी र उनीहरु बस्ने घरको छर छिमेकका विद्यार्थीहरुलाई बाहिरी विद्यार्थीहरुले प्रभाव पार्न सक्थे। यो स्थानीय विद्यार्थीले चुनाव जित्न चुनौतीपूर्ण विषय हुन्थ्यो। फेरी क्षेत्रीयताको नारा लगाउंदा चुनावको लागि गाँठों पारियों भनेर ढुक्क भएका विद्यार्थीको सामु नोमिनेशन हुने अंघील्लो दिन एउटा आकस्मिक र चुनौतीपूर्ण खबर आयो। उपल्लो कक्षामा पढ्ने स्थानीय र नेतृत्व क्षमता भएका राम्रै परिवारमा हुर्किएका तारा प्रसाद भन्डारी दाजुलाई बाहिर टाढाबाट पढ्न आएका विद्यार्थीहरुले माथिल्लो पद दिने प्रलोभन देखाएको खबर आउनु हाम्रो गुटकोलागि निकै अफ्ठेरो विषय बन्यो। दुइ तीन दिन देखि मत माग्ने खुसामद गर्ने काम भएका थिएं। पैसा भएकाहरु विशेष गरी बाहिरी विद्यार्थीहरु कसैले २-४ देखि पाँच रुपियांसम्म मतदाता आकर्षित गर्न नगद दिएछन् भन्ने हल्ला सुनिन्थ्यो। कसैले चीया नास्तामा मतदातालाई आकर्षण गर्थे। स्थानीय विद्यार्थी नेताहरुले खासै खर्च गरेको सुनिदैनथ्यो।
बाहिरी विद्यार्थीहरुको समूहमा आएका तारा प्रसाद दाजुहरुले आफैले खर्च गर्नु परेन। तर पनि हिंजो आजको चुनावमा भारत, अमेरीका र युरोपियनहरुले आफ्नो इच्छा वमोजिमको सरकार बनाउन उमेदवारहरुलाइ पैसा खनाए जस्तै थुप्रै पैसा कहाँ कहाँ बाँट जम्मा भयो त्यो समूहले निकै पैसा खर्च गरेको हल्ला सुनियो। त्यो बेला स्थानीय विद्यार्थीको समूहबाट जंग बहादुर श्रीस र दाजु विष्णु जिसीले नेतृत्व गर्नु भएको थियो भने अर्को समूहबाट दाजु तारा भन्डारी र नारायण भट्टराईले नेतृत्व गरेको समूह बनेको थियो। विद्यार्थीहरुलाई प्रलोभनमा पारी आफ्नो समूहमा तान्ने त्यो वेला एउटा निकै मिठो लाग्ने वस्तु थियो कटहर विस्कुट। यो कटहर विस्कुटको त्यस वेलाको मूल्य १ः२५ रु थियो अर्थात् त्यस्को किम्मत पाँच गिलास चीया बराबर थियो। त्यस्तो मिठो विस्कुट कार्टुनका कार्टुन बांडेको हल्ला समेत बाहिर आएको अवस्था थियो।
लाटा देशको के तन्नेरी भने झैं कक्षाको पहिलो दोश्रो कहलिने चलाक र अनुशासित विद्यार्थी भएकोले मेरा अनुयायी बढ़ी हुने आंकलन गरी मलाई पनि स्थानीय विद्यार्थीको समूहबाट नोमिनेशन गर्न लगाउने प्रस्ताव आयो। बाहिरी चुनावको माहौल हेर्दा धेरै खर्च गर्नु पर्ने र नोमिनेशन दस्तूर पनि ६ रुपैया लाग्ने भएकोले त्यो चुनावमा भित्र कता कता म मा पनि नेतृत्वको भोक भए पनि चुनावमा मेरो उमेदवारी मेरो कावु भन्दा बाहिरको विषय बनेकोले सिनीयर दाजुहरुको कुरामा सहमति जनाउन सकिन। हाम्रो समूहमा दाजुहरुले मेरो हातमा धेरै भोट भएको महशुस गरे पछी मेरो इन्कारीलाई समर्थन गर्नु भएन। हुन पनि उपल्लो कक्षाका जानेमाने विद्यार्थी नेताहरुको लागि त्यो चुनाव प्रतिष्ठाको विषय थियो कुनै पनि हालतमा चुनाव हार्ने छुट थिएन वहांहरुका लागि। त्यसैले मैले जसरी पनि रु ६ खोज्नै पर्ने भयो। हाम्रो नेतृत्व गर्ने समूहले अन्य खर्च मबाट नलिने सहमति गरें पछी मैले पनि नोमिनेशन गर्ने मनःस्थिति बनाएँ।
नोमिनेशन गर्ने दिन दुइ दिन मात्र बाँकी रह्यो पैसा जुटाउन सकिएन। घरमा वित्तीय संकट थियो आर्थिक मन्दी थियो त्यसैले त्यस्तो अवस्थामा आमालाई मेरो पिडा भन्न सकिन। फूपु र भान्ज दाईलाई पनि भन्न सकिन। बाबा सिलांगमा हुनुहुन्थ्यो । त्यो बेला न चिट्ठी न पत्र न कुनै फ़ोन भएकोले मेरो पिडा पोख्ने ठाउं थिएन। मलाई कहिले काहिं मेरो जीवनमा घटेका कतिपय घटनाहरु र समस्याहरु आकस्मिक रुपमा हल भएको जस्तो पनि लाग्छ। संयोग नोमिनेशन गर्दाको अंघल्लो दिन राती टुप्लुक्क बाबा घर आउनु भो। संकटको बेला बाबा घरमा आएकोले मेरो खुसीको सिमा रहेन। उक्त दिन मेरो चुनावी सफलताका भावी तस्वीर दिमागमा कोर्दै आनन्दस्वरूप सुतें। अर्को दिन विहान ८ बजेतिर मैले बाबासंग आफ्नो दुख विसाएं। उहांले ल्याएको पैसा आमालाई फूंगोमा राख्न दिनु भएको रहेछ। मेरो संकट मोचनकोलागि उहांले फूंगोबाट ६र रुपैयां निकाल्न अनुमति दिएकोले खुसी हुंदै १र१ रुपैयांका नयां नेपाली नोट निकाली गोजीमा राखें। मलाई संझना भए अनुसार जिन्सिको रुपमा किताव, कापी, कलम र कपडा त मैले बाबाबाट समय समयमा पाएं तर नगद पाएको भने त्यहि संकटकालीन वेला पाएको रु ६ मात्र हो। त्यहि पैसाले मैले चुनावमा नोमिनेशन गरेको थिएं। चुनावको शरगर्मी बढ्न थाल्यो।
अहिलेको हाम्रो चुनाव प्रणालीबाट सत्ता शक्तिको प्राप्तीले आउने शान जस्तै पो थियो त्यो चुनाव। हाम्रो समूहले मात्र होइन विपक्षीहरुले पनि चुनावमा आफ्नो समूह विजयी भएमा विद्यार्थी सुविधा र हक़ हितका धेरै कुरा गर्ने घोषणा गरेका थिएं। प्रिन्टेड नभए पनि राम्रा अक्षर भएका विद्यार्थीहरुलाई प्रचार प्रसार सामाग्री लेख्न कत्ति पनि फुर्सद थिएन। वाल पेन्टिंग गर्ने पोस्टरिंग गर्ने काम दुबै तर्फबाट भइरहेका थिए। दुबै तर्फको स्वयं सेवकहरु रात दिन सतर्क थिएं र आफ्नो सुरक्षा अवस्था हेरी घर घरमा निगरानी राख्थे। निर्वाचन आयोग भने करिव करिव अहिलेको जस्तै थियो। चुनावी आचार संहिता उल्लंघन गरेको जानाकारी पाउंथ्यो तर कार्यवाही गर्ने हैसियत थिएन किन भने निर्वाचन आयोगमा विचरा शिक्षकहरु थिएं। दुई चार दिन भित्र हुने चुनावमा कार्यवाही गरेमा ती नेतृत्व गर्ने ठूला वयस्क विद्यार्थीले निर्वाचन आयोगमा रहेका शिक्षकहरुको कक्षा बहिस्कार गर्ने हुंदा ती शिक्षकहरुलाई आफ्नो जागीर जोगाउने चुनौति भएकोले कार्यवाही गर्न संभव थिएन। त्यसैले आयोगले फगत सूचना पाटीमा आचार संहिता संवन्धी दफ़ा दफा टिपी कडा सूचना मात्र निकाल्थ्यो। त्यसलाई कसैले टेर्दैनथे।
विपक्षी समूहले निकै पैसा खर्च गरेको थाहा भए पछी हाम्रो समूहले फरक खालको रणनीति बनायो। हाम्रो नेपाल लगायत दक्षिण एशियाली राष्ट्रहरुमा चुनाव जित्ने अर्को हतियार भने मसल र लाठी पनि हो। हाम्रो समूहले धेरै लाठी काट्यौं र लुंगखर्क तथा भुल्के पानी त्यसको भन्डारण गर्यौ। हामीले सोंचेको भोट विपक्षी समूहमा जाने सुइंको पाउंदा वित्तिकै हामी लाठी सहित मसलको प्रयोग गरी धम्की समेत दिन थाल्यौं। कुनै कुनै घरमा डेरा गरी बस्ने विद्यार्थीलाई उनीहरुको आफ्नो डेरामा बस्न खतरा छ भन्ने अफवाह पनि व्यापक फैलाएकोले कतिले आफ्नो डेरा समेत छाडे। चुनाव जंग विष्णुको समूहले भारी मतले जित्ने भन्ने हल्लाद्वारा निर्वाचन आयोगलाई हाम्रो समूह प्रति अली उदार हुने परिस्थिति पनि श्रृजना गर्यौं। विपक्षी समूहलाई धम्की धम्कीले केहि हतोत्साहित बनायौं। चुनाव शान्ती पूर्ण तरीकाले सम्पन्न भयो। मत गणनामा खासै धांधली गर्नु परेन। हाम्रो समूह पुरै विजयी घोषणा भयो। विजय जुलुस निस्कियो। हार्ने समूहको नेताहरु कति बेला कता भागे पत्तै भएन। जुलुसमा अस्लिल नारा लगाइएन। व्यक्तिलाई गाली गलौज पनि गरिएन।जुलुसमा एउटै नारा घन्कियो, “जंग विष्णु जीन्दावाद, कटहर विस्कुट मूर्दावाद”।
विजयी भए पछी मेरो पनि विद्यार्थी प्रति थप ज़िम्मेवारी बढ्यो। हामी विभिन्न जिम्मेवारीमा रह्यौं। जंग विष्णु सभापति, उपसभापति, कोहि अर्थ मन्त्री, कोहि क्रिडा मन्त्री आदि। संसारको सबैभन्दा कान्छा मलेशियाका युवा तथा खेलकूद मन्त्री सिद्दिक २५ बर्ष मै मन्त्री भए जस्तै मैले पनि १३ बर्ष कै उमेरमा साहित्य मन्त्री सम्हाल्न पुगें।
सानै देखि यस्ता अभ्यास गरेकोले चुनावमा के गर्नु पर्छ भन्ने मलाई राम्रो जानाकारी भए पनि सानै उमेरमा चुनाव जिती मन्त्री पद खाएकोले अहिले मलाई न उमेदवार बन्नेचाहाना छ, न मन्त्री पद खाने चाहाना। मात्र यती भन्छु, “नेता भवन्तु सुखिन”।