बहुप्रतीक्षित सी-बाइडेन वार्ताः अब कस्तो होला वेइजिङ र वासिङ्टनबीचको सम्बन्ध | Education Patra

बहुप्रतीक्षित सी-बाइडेन वार्ताः अब कस्तो होला वेइजिङ र वासिङ्टनबीचको सम्बन्ध


जनादेश अन्तर्राष्ट्रिय वाच।

लामो समयदेखि तनावमा रहेका दुई शक्तिराष्ट्र अमेरिका र चीनका राष्ट्रपतिले अर्थपूर्ण भेटवार्ता गरेका छन् । इन्डोनेसियाको बालीमा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङ वार्तामा बसे । अमेरिकी राष्ट्रपति बाइडेनले सुरुवाती मन्तव्यमा सीलाई भनेका थिए, ‘तपाईं र मबीच व्यक्तिगत रूपमा सञ्चारको लाइनहरू खुला राख्न प्रतिबद्ध छु । किनभने हाम्रा दुई देशहरूसँग सम्झौता गर्ने अवसर छ ।’

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार बाइडेनले थप सन्दर्भहरू पनि जोडेका थिए । छलफलको क्रममा चीन र अमेरिकाले आफ्ना मतभेदहरू व्यवस्थापन गर्न सक्छन्, प्रतिस्पर्धालाई द्वन्द्वको नजिक हुनबाट पनि जोगाउन र आपसी सहयोग आवश्यकको अलावा विश्वव्यापी मुद्दाहरूमा सँगै मिलेर काम गर्ने तरिकाहरू खोज्न सक्छन् भन्ने सन्देश प्रवाहित गर्न चाहेको पनि बताएका थिए ।

सन् २०१७ यता अमेरिका र चीनबीच तनावपूर्ण सम्बन्ध भइरहेको छ । त्यसबीचमा पनि धेरै संवाद र वार्ताहरू भएका थिए । सन् २०१९ मा कोभिड १९ सुरु भएपछि भने अमेरिका र चीनको सम्बन्ध विवादमा परेको थियो । तनावको उत्कर्षतिर लागेकै बेला अर्थात् यसबीचका १८ महिनामा पनि टेलिफोन र अन्य माध्यमबाट अमेरिका र चीनले संवाद भने जारी राखेका थिए । तर, औपचारिक रूपमा शीर्ष तहका नेताहरूबीच भेटवार्ता भने हुन सकेको थिएन ।

राष्ट्रपति बाइडेन र उनका चिनियाँ समकक्षी सी ताइवान, प्रविधि, व्यापार युद्ध, रुस–युक्रेन युद्धप्रतिको दृष्टिकोणलगायतका एजेण्डाका कारण गहिरो तनावमा रहेका छन् । यी दुई देशबीचको सम्बन्ध आधा शताब्दीमा सबैभन्दा न्यून बिन्दुमा रहेको थियो । यहीबीचमा शीर्ष नेताको रूपमा सोमबार पहिलो आमने–सामने बैठक भएको हो ।

इन्डोनेसियामा भएको जी–२० को शिखर सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकाले सबैभन्दा उन्नत कम्प्युटर चिपहरू उत्पादन गर्ने चीनको क्षमतालाई रोक्न व्यापार प्रतिबन्धहरू लगाएको छ । बाइडेनले अन्तर्राष्ट्रिय व्यवस्थालाई पुनः आकार दिने उद्देश्यको साथ चीनलाई एक रणनीतिक शक्तिको रूपमा प्रस्तुत गरेका छन् । जबकि सीले बढ्दो खतरनाक संसारको चेतावनी दिएका छन्, जसमा अज्ञात शक्तिहरू चीनलाई अधिकतम दबाबमा राख्न चाहन्छन् भनेर व्याख्या गरिरहेका छन् ।

त्यसो त, पछिल्ला दिनमा अमेरिकी सभामुख न्यान्सी पेलोसी र रुसले युक्रेनमाथि गरेको आक्रमणलाई चीन–अमेरिकी तनावमा थपिएका कारण मानिएको छ । ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले सोमबारको वार्ताको विषयमा भनेका थिए, ‘बैठक एक महिनाको शान्त कूटनीति र गहन योजनापछि तय गरिएको थियो । राष्ट्रपति जी २० शिखर सम्मेलनको लागि बाली आइपुगेपछि पनि सम्बन्ध सुधारको अन्तिम वार्ता आइतबार साँझसम्म जारी रह्यो ।’

कस्तो थियो मुड
पत्रकार सम्मेलनमा उनलाई नयाँ शीतयुद्ध नहुने सम्भावना छ कि छैन र के चीनले ताइवानमाथि आक्रमणको तयार गर्दैछ भनेर सोधिएको थियो। ‘नयाँ शीतयुद्ध हुनेछैन भन्नेमा म पूर्णत विश्वस्त छु,’ जवाफमा बाइडेनले भने, ‘चीनले तत्काल ताइवानमा आक्रमणको प्रयास गर्छजस्तो मलाई लाग्दैन। ताइवान मुद्दा शान्तिपूर्ण रुपमा समाधान होस् भन्ने हाम्रो चाहना रहेको मैले स्पष्ट पारेको छु। मैले भनेको कुरा उनले राम्ररी बुझे भन्नेमा म विश्वस्त छु।’ उनले ताइवानसम्बन्धी अमेरिकी नीति नबदलिएको आफूले सीलाई स्पष्ट पारेको पनि बताए।

त्यसपछि बाइडेनलाई सी टक्कर लिने हिसाबले प्रस्तुत भएका थिए कि सम्झौता गर्न इच्छुक देखिन्थे भनेर सोधेका थिए। ‘सी सधैँझैँ सीधा र ठाडो रुपमा प्रस्तुत भए। हामी दुवै एकअर्काप्रति स्पष्ट रुपमा प्रस्तुत भयौँ,’ उनले भने। सी केही मुद्दामा सम्झौताका लागि इच्छुक रहेको उनको भनाइ थियो।

पाँच वर्षअघि हामीले डाभोसमा भेट गरेका थियौँ। तपाईंले राष्ट्रपतिको कार्यभार सम्हालेपछि अनलाइन कलमार्फत हामीले सम्पर्क कायम राख्यौँ। तर, आमनेसामने भेटको विकल्प छैन। र, आज हामी आमनेसामने भेट भएका छौँ,’ सीले भने, ‘हामीले अनुभव हासिल गर्यौँ, पाठ सिक्यौँ। इतिहास सबैभन्दा राम्रो पाठ हो। त्यसैले इतिहासलाई हामीले ऐनाका रुपमा लिनुपर्छ।’

‘हाल अमेरिका–चीन सम्बन्ध एक स्थितिमा छ। हामी यसबारे निकै सचेत छौँ। दुई प्रमुख मुलुकका नेताको रुपमा हामीले सही मार्ग तय गर्नुपर्ने आवश्यकता छ,’ उनले थपे, ‘अगाडि हामीले द्विपक्षीय सम्बन्धलाई सही दिशा दिएर सम्बन्ध स्तरोन्नति गर्न आवश्यक छ।’ सीले आफूहरुको भेटले विश्वको ध्यान आकर्षित गरेकाले विश्वमा शान्ति कायम गर्न चीन र अमेरिकाले काम गर्नुपर्ने पनि बताए।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्