शैक्षिक संस्थाको टाउकोमा सरकारको डण्डा | Education Patra

शैक्षिक संस्थाको टाउकोमा सरकारको डण्डा


बिबिसी नेपाली । चुनावलगत्तै बुटवलमा रहेको मुख्यमन्त्री कार्यालय दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयका भवनमा स्थानान्तरण गरिएको छ।

एसियाली विकास ब्याङ्कको सहयोगमा स्थापना भएको राप्ती प्राविधिक शिक्षालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका प्राविधिक कक्षाहरू २०५० साल देखि सञ्चालन हुँदै आएका थिए।

अहिले सो शिक्षालयलाई त्यहाँभन्दा करिब ५ किलोमिटर दक्षिणमा गढवा गाउँपालिकामा रहेको सरस्वती मावि रहेको भवनमा स्थानान्तरण गरिएको छ भने सरस्वती माविका विद्दार्थीहरुका लागि त्यहाँ हालै मात्र बनाइएको टिनले छाएको कच्ची संरचनामा कक्षा सञ्चालन गरिएको छ।

अस्तव्यस्त शिक्षालय

“यहाँ सबै कुरा अस्तव्यस्त छ,” सिभिल इन्जिनियरिङ डिप्लोमा तहको अध्ययन गरिरहेका प्युठानका सुनिल विश्वकर्माले भने।

“पुरानो शिक्षालयमा प्राविधिक अध्ययनलाई नै लक्षित गरेर त्यही अनुसारका भवन तथा प्रयोगशालाहरू बनाइएको थियो तर यहाँ जबर्जस्ती काम चलाउने हिसाबले मात्र काम भइरहेको छ।”

अहिले सो शिक्षालयमा करिब ७ सय विद्यार्थीहरू विभिन्न विषयमा अध्ययनरत रहेको बताइन्छ।

“बनाउने हो भने यहाँ पनि व्यवस्थित होला तर अहिले त्यस्तो केही संरचना छैन,” फार्मेसी विषयमा डिप्लोमा अध्ययन गर्दै आएकी घोराहीकी स्मारिका शर्माले भनिन्।

“यो गाउँमा यातायातको समस्या छ, बस्ने कोठा पनि राम्रो पाइँदैन, जसले गर्दा पढाई पनि प्रभावित हुने हो की भन्ने डर छ।”

विज्ञान प्रयोगशाला

‘संरचना बन्दै जान्छन्’

सरस्वती माविमा प्राविधिक शिक्षालय स्थानान्तरण गरिए पछि सरस्वती माविमा अध्ययनरत करिब ४ हजार विद्यार्थीहरुलाई नजिकै अर्को विद्यालय भवन बनाएर व्यवस्थापन गरिएको लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसी बताउँछन्।

तर त्यहाँका विद्यार्थीहरुका अनुसार टिनले छाएको एक तले भवनमा पढ्न गर्मी महिनामा सहज भने हुने छैन।

मुख्य मन्त्री केसीले राजधानी व्यवस्थापनका लागि नेपाल सरकारले राप्ती गांउपालिकामा रहेको राप्ती प्राविधिक शिक्षालयको जग्गा प्रदेश सरकारलाई उपलव्ध गराएका कारण शिक्षालयलाई अन्यत्र सार्नुपरेको बताउँछन्।

इन्जिनियरिङ पढाइ

“यहाँको राप्ती प्राविधिक शिक्षालय र गढवाको सरस्वती माविलाई जिम्मेवारी तरीकाले व्यवस्थापन गरेका छौँ,” केसीले भने।

“राम्रो व्यवस्थापनका साथ फराकिलो ठाउँमा पठाएका छौँ अरू संरचना त पछि बन्दै जाने पक्ष हो।”

यसअघि राप्ती प्राविधिक शिक्षालयको स्वामित्वमा रहेको झन्डै १९ बिगाहा जग्गा तथा शिक्षालयको लागि निर्माण गरिएका भवनहरू अहिले राजधानीका मन्त्रालय प्रदेशसभा भवन तथा अरू सरकारी कार्यालयका लागि प्रयोगमा ल्याउने गरी काम सुरु गरिएको छ ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्