सिन्धुपाल्चोक । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–५, चनौटेमा रत्नराज्य माध्यमिक विद्यालयको भवन निर्माण भएको छ।
विद्यालय परिसरमा छवटा अत्याधुनिक एवं सुविधायुक्त भवन निर्माण गरिएका छन्। भवन निर्माणमा एक अर्ब रुपियाँभन्दा बढी लगानी भएको विद्यालय प्रशासनले जनाएको छ। भूकम्पपछि टहरामा बसेर कष्टपूर्वक अध्ययन गरेका बालबालिकाले अत्याधुनिक भवनमा बसेर पढ्न पाएका छन्।
विद्यालयमा जुगल गाउँपालिकाका ४२५ बालबालिका अध्ययनरत छन्। विगतमा कक्षा ८ देखि १२ सम्मका ६० प्रतिशत विद्यार्थीले भाडामा कोठा लिएर पढ्नुपर्ने बाध्यता थियो। विद्यालयमा सुविधायुक्त ८४ कोठे छात्रावास बनेपछि कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको प्रधानाध्यापक टीकादत्त पौडेलले जानकारी दिनुभयो।
भाडाको कोठामा बस्दा विशेषतः दलित विद्यार्थीले समस्या खेप्दै आएका थिए। कक्षाकोठा २४ र विद्यालय प्रशासनका लागि २२ कोठा छन्। विद्यालयमा पुस्तकालय, ५० वटा कम्प्युटरसहितको विज्ञान प्रयोगशालालगायतका सुविधा रहेको छ।