नेपालगञ्ज । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालगन्जमा पहिलो पटक आयोजना गरिएको हिमालयन विज्ञान मेला मंगलबार उद्घाटन गर्नुभएको छ।
नेपालगन्ज रङ्गशालामा हिमालयन साइन्स फाउन्डेसनद्वारा आयोजना गरिएको सो विज्ञान मेला उद्घाटन गर्दै मन्त्री शर्माले अहिले प्रविधिको युग भएकाले प्रविधिमा फड्को नमारेसम्म देश अगाडि नबढ्ने बताउनुभयो ।
उहाँले सरकारले प्रविधिको विकास, सदुपयोग र विस्तारका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।
विज्ञान र प्रविधिको विकासका लागि देशको हरेक क्षेत्रमा लगानी बढाउनुका साथै सबैलाई अवसर पनि प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
अहिले सञ्चार मन्त्रालयमा प्रविधि पनि जोडिएकाले अब मन्त्रालयले साइन्स र प्रविधिसँग जोडिएका अग्रजहरूलाई उचित सम्मान र मूल्याङ्कन गरिने मन्त्री शर्माले बताउनुभयो ।
संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले अहिलेको विज्ञान र प्रविधिले देशको विकासमा टेवा पुग्ने बताउनुभयो ।
उहाँले कृषि र रोजगारलाई पनि प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
दुई दिनसम्म चल्ने मेलामा विभिन्न विद्यालयका विद्यार्थीद्वारा बनाइएका विज्ञान र प्रविधिसम्बन्धी ५० भन्दा बढी स्टलहरू राखिएको हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आतङ्क बस्नेतले बताउनुभयो ।
उहाँले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामाग्री प्रदर्शनका लागि राखिएको जानकारी दिनुभयो ।
क्याप्सन बाँकेका अध्यक्ष यम रावत, एम्बिसन गुरुका महानिर्देशक दिनेशराज कार्कीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।