हु न त अहिले घरमै बसीबसी एकैछिनको ‘सर्च’ र ‘क्लिक’बाट ब्रह्माण्डकै जानकारी पाउन सकिने प्रविधिको विकास भएको छ । तैपनि औपचारिक रूपमा सञ्चालन हुने शिक्षण सिकाइ प्रक्रियाको सन्दर्भ उठाउँदा विद्यालय, पाठ्यक्रम, पाठ्यपुस्तक, शैक्षिक सामग्री, शिक्षण विधिजस्ता विषय स्वतः आउँछन् । यिनमा पनि यी सबैको सार्थक प्रयोगका साथ उपयुक्त शैक्षिक वातावरण निर्माण गरी शिक्षण सिकाइ क्रियाकलापलाई सफल पार्ने जिम्मेवारी बोकेको शिक्षकको अनुहार उपस्थित हुन्छ ।
विद्यार्थीलाई पढाउने: सिकाउने भन्दा पनि उनीहरूमा जिज्ञासा उत्पन्न गराउने, अध्ययन गर्ने बानी बसाउने र अमूल्य मानव जीवनको महìवबोध गराउने काम शिक्षकको हो । असल मानवीय संस्कारको विकास गराउने तथा जीवनोपयोगी नयाँ नयाँ ज्ञान, सीप र धारणा सिकाउने काम पनि शिक्षककै हो । अझ विद्यार्थीमा अन्तर्निहित प्रतिभा र व्यक्तित्व विकासका सम्भावनालाई प्रस्फुटन गर्न सहयोग गर्ने उत्प्रेरणामूलक काम पनि शिक्षककै हो । यसरी, शिक्षकमाथि सबैको भविष्य अडिएको छ । असीम विश्वास रहेको छ र सम्पूर्ण आशाभरोसा राखिएको छ ।
आजका बालबालिका नै भोलिका दिनमा परिवार, समाज र देशकै सञ्चालक हुन् । दैनिक छ घण्टा भेट हुने एक जना शिक्षकको बानी, बेहोरा, आचरण तथा जीवनशैलीको प्रभाव तिनीहरूमा पर्छ नै । अनि त्यो बिस्तारै समाज, समुदाय र राष्ट्रमा समेत सर्छ । त्यसैले, शिक्षकलाई ‘इतिहास र युगका निर्माता’ पनि मान्ने गरिएको छ । अतः त्यस्तो सर्वतोमुखी आदर्श व्यक्तित्व ठानिएको शिक्षक निश्चय नै असल हुनुपर्छ । त्यस्तो असल शिक्षक हुन गाह्रो छ किनभने असल हुनका लागि व्यवहारमै देखिने असल गुणको आवश्यकता पर्छ ।
एक जना असल शिक्षकमा हुनुपर्ने गुणका सन्दर्भमा कुरा गर्दा, चार्टस् र वापल्स्को नाम लिइन्छ । ती दुई जना अमेरिकी विद्वान्को अनुसन्धानबाट निकालिएको निष्कर्षअनुसार असल शिक्षकमा राम्रो स्वास्थ्य, आकर्षक चेहरा, अनुकूलता, सहयोगी, विनम्रता, नैतिकता, इमानदारी, सावधान, मौलिकता, व्यवहारमा एकरूपता र सहानुभूति आदि गुण हुनुपर्छ ।
यसबाहेक शिक्षकका गुणका सम्बन्धमा अरू पनि अनुसन्धान भएका छन् । त्यसअनुसार शिक्षकका गुणहरूलाई वैयक्तिक, सामाजिक र शैक्षिक गरी तीन शीर्षकमा बाँडेर पनि उल्लेख गर्ने गरिएको पाइन्छ । वैयक्तिक गुणअन्तर्गत धैर्य, नम्रता, सहनशीलता, असल चरित्रलाई मुख्य ठानिएको छ भने सामाजिक गुणअन्तर्गत निष्पक्षता, सहयोगी, सामाजिक भावना, विनोदप्रियता, नेतृत्व लिनसक्ने क्षमता, समुदायको ज्ञान पर्छन् । अनि शैक्षिक अन्तर्गतचाहिँ विषयवस्तुको ज्ञान, शिक्षण सीपको ज्ञान, बालमनोविज्ञानको ज्ञान, पेसागत निष्ठा, शैक्षणिक योजना, विधि र सामग्रीको ज्ञान, अध्यययनशीलता जस्ता गुणको उल्लेख गर्न सकिन्छ ।
उल्लिखित गुणहरू पर्याप्त हुँदाहुँदै पनि, एक जना असल शिक्षकको गुण र ऊप्रतिको अपेक्षा समयसापेक्ष र बदलिँदो हुन्छ भन्ने कुरा पनि बिर्सन सकिँदैन । यस सन्दर्भमा, वर्तमान नेपाली परिवेशमा असल शिक्षकका गुणहरूलाई यसप्रकार उल्लेख गर्न सकिन्छ ।
राजनीतिक तटस्थता
हुन त बेलाबखत शिक्षकलाई राजनीतिबाट टाढा राख्ने कुरा पनि गरिन्छ । तर हाम्रो देशका राजनीतिक दलले शिक्षकलाई नै आ–आफ्ना ‘सक्रिय कार्यकर्ता’ बनाउने गरेका छन् । प्रयोग गरिने माध्यम शिक्षक नै भएका छन् । राजधानी सहरदेखि दुर्गम गाउँबस्तीसम्मै शिक्षकहरूको उपस्थिति हुने भएकाले दलको राजनीति मूलतः शिक्षकले नै धानिदिने गरेको बताइन्छ । पेसागत हकहितका लागि शिक्षकहरू एकीकृत हुनु, नेतृत्वलाई दबाब दिनु राम्रो भए पनि व्यक्तिगत सुविधा र दलगत फाइदाका लागि पनि शिक्षकले नै मरिहत्ते गरिदिनु किमार्थ राम्रो होइन ।
श्रमप्रतिको सम्मान भाव
श्रमलाई महìव दिएकै कारण संसारका देशहरू विकसित कहलिएका हुन् । तर यो कुरा हाम्रो शिक्षा प्रणालीले बुझेजस्तो लाग्दैन । त्यसैले यहाँ व्यावहारिक ज्ञान र स्थलगत सक्रियताभन्दा भन्दा सैद्धान्तिक जानकारीसहितको कक्षाकोठे ज्ञानमा जोड दिइएको पाइन्छ । यस्तो भएपछि शिक्षकले विद्यार्थीलाई श्रमको महìव बुझाउन सकेकै छैनन् । त्यसैले होला सम्पन्न परिवारमा मात्रै होइन, मध्यमवर्गीय परिवारमै पनि विद्यार्थी हुनासाथ कामै गर्नु हुँदैन, पढेर/लेखेर मात्रै बस्नुपर्छ भन्ने धारणा पाइन्छ । नेपाली शिक्षकले यो कुरालाई चिरेर नमुना बन्न सक्नुपर्छ । शिक्षकद्वारा आफैँ नमुना बनेर श्रमको महत्व व्यावहारिक रूपमा बुझाउन सकियो भने मात्र विद्यार्थी वर्गमा पनि श्रमप्रति श्रद्धाभाव जाग्न सक्छ । यसका लागि हरेक विद्यालयले प्रयोगात्मक परियोजना कार्यका रूपमा विद्यार्थीलाई खेतबारी तथा वनजङ्गलमा खटाउने व्यवस्था गर्नुपर्छ । शिक्षकमा रहेको यस्तो कामलाई असल शिक्षकको अर्को गुण मान्न सकिन्छ ।
मितव्ययिता
नेपाली समाजका धनीमानी र टाठाबाठा अगुवाहरूमा सैद्धान्तिक रूपमा अनेक आदर्शका कुरा गर्ने तर व्यावहारिक रूपमा भने स्वघोषित आदर्शको पूरै खिल्ली उडाउने प्रवृत्ति पाइन्छ । खासगरी स्वर्ग, नर्क, देवता, धर्म इत्यादिको नाममा समाजमा जरो गाडेर रहेको संस्कार र परम्पराले केही व्यक्तिलाई मात्र फाइदा र बाँकी सबैलाई बेफाइदा हुने गरेको छ । हाम्रा नराम्रा संस्कार र परम्पराहरू मितव्ययी बन्न सकेका छैनन् । तिनको सङ्ख्यामा कटौती पनि भएको छैन । उल्टो, ती झन् ढोँगी र फजुलखर्चीसहित थपिएका छन् । यस्तो अवस्थाले खाइपल्केका केही टाठाबाठालाई मात्र फाइदा र बाँकी सबैलाई बेफाइदा हुने गरेको छ । त्यसैले, यस्ता कुराको शालीन र तर्कपूर्ण विरोध गरेर मितव्ययिता तथा सामाजिक न्यायपूर्ण संस्कारको नवस्थापनातर्फ मन लगाउनुलाई असल शिक्षकको गुण मानिनुपर्छ ।
अध्यययनशीलता
संसारमा अन्य कतिपय सभ्य समाजमा धेरै अगाडिको पुस्तादेखि पठन संस्कृतिको विकास भएको पाइन्छ । तर नेपाली समाजमा पठन संस्कृतिको विकास भएको धेरै भएकै छैन । त्यसमा पनि अहिले त जताततै ‘बुक’का ठाउँमा ‘फेसबुक’ले खुट्टो घुमाएको देखिन्छ । एक जना विद्वान्को भनाइ छ, “यहाँ पढेकाहरू जताततै भेटिन्छन् तर पढ्ने पाइन गाह्रो छ ।” नभन्दै हाम्रो वर्तमान यस्तै अवस्थाबाट गुज्रँदै छ । अधिकांश शिक्षकमै अध्ययनशीलता पाइँदैन । सजिलै शैक्षिक योग्यता हासिल गरेका र स्वतः स्थायी हुन पाएका शिक्षकहरू पनि अझै केही बाँकी नै छन्, हाम्रा विद्यालयमा । त्यस्ता शिक्षकहरूले कहिल्यै पढ्नै परेन । आफूले पढ्दा परीक्षामा पास हुन र पछि आयोगको परीक्षामा स्थायी हुन पढेबाहेक नपढ्ने शिक्षकहरू पनि छन् । आफूले कक्षामा पढाउनुपर्ने विषय मात्र करलाग्दी भएर पढ्ने शिक्षकहरू पनि छन् । शिक्षकको मानमर्दन गरेको नठानियोस, कतिपय क्षेत्रमा रहेका आधारभूत तहको विद्यालयमा कार्यरत कतिपय शिक्षकहरू त भाषा, व्याकरण र गणितको आधारभूत जानकारी नै नभएका पनि छन् । त्यस्ता शिक्षकबाहेक, ‘विद्यार्थीहरूलाई आज म यस्तो कुरा बताएर खुसी बनाउँछु’ भन्ने हिसाबले विभिन्न सान्दर्भिक पुस्तकहरू नपढ्ने शिक्षककै कारण तिनीहरूको कक्षा नीरस र सुगा रटाइमा सीमित हुन पुगेको पनि देखिन्छ । विद्यार्थीको चाहनाअनुसार शिक्षण गर्ने त कुरै छोडौँ ।
पाठ्यपुस्तक एउटा साधन मात्र भएको हुँदा विद्यार्थीलाई प्रभावकारी ढङ्गले सिकाउनका लागि एक जना असल शिक्षक ‘विषयवस्तुको उच्च ज्ञान’ सहित सदैव ‘अपडेट’ भइरहनुपर्छ । यति मात्र होइन, नेपाली समाजमा पठनसंस्कृतिको विकास गर्न पनि प्रथमतः प्रत्येक शिक्षकमा अध्ययनशील गुण हुनैपर्छ ।