अमेरिकाको एउटा प्राथमिक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु | Education Patra

अमेरिकाको एउटा प्राथमिक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु


बिबिसी नेपाली । संयुक्त राज्य अमेरिकाको टेनिसीस्थित नाश्भिल सहरको एउटा विद्यालयमा एक आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गर्दा छ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन जना बालबालिका हुन्।

ती बालबालिका नौ वर्ष वा कम उमेरका छन्। ज्यान गुमाउनेमध्ये अरू तीन जना कर्मचारी हुन्। उनीहरू ६० देखि ६१ वर्षका छन्।  प्रहरीका अनुसार सन्दिग्ध आक्रमणकारीको नाम अड्री हेल हो र उनी ट्रान्सजेन्डर हुन्।

विद्यालयमा प्रवेश गर्दा हेलसँग एउटा अर्धस्वचालित राइफलसहित तीनवटा बन्दुकहरू थिए। प्रहरीको गोली लागेर उनको घटनास्थलमै मृत्यु भयो। उनी उक्त निजी इसाई प्राथमिक विद्यालयकी पूर्वविद्यार्थी भएको प्रहरीको भनाइ छ। उक्त विद्यालयमा तीनदेखि १२ वर्षसम्मका झन्डै २०० विद्यार्थी छन्।

१४ मिनेटको त्रासदी

प्रहरीले सार्वजनिक गरेका तस्बिरहरूमा आक्रमणकारीले घटनास्थलमा प्रहरी पुग्दा उनीहरूतिर गोली प्रहार गरेको देखिन्छ। प्रहरीले घटनाबारे स्थानीय समयानुसार सोमवार बिहान १०ः१३ बजे पहिलो सूचना पाएको थियो।

सन्दिग्ध आक्रमणकारी एउटा कार चढेर उक्त विद्यालयसम्म पुगेको र एउटा प्रवेशद्वारमा गोली हान्दै भित्र छिरेको बताइएको छ। उनी त्यहाँ पुग्दा विद्यालयका सबै द्वारहरू बन्द थिए। हेलले विद्यालय भवनको भुइँतलामा गोली हानेको र त्यसपछि दोस्रो तलातिर गएको प्रहरीले जनाएको छ।

विद्यालयमा प्रहरीका गाडीहरू आइपुग्दा तिनमाथि दोस्रो तलाबाट गोली प्रहार भएको थियो। एउटा गोली प्रहरीको एउटा गाडीमा लाग्दा सिसा फुटेर एक प्रहरी घाइते भए। विद्यालयभित्र प्रवेश गरेर प्रहरीले सन्दिग्ध आक्रमणकारीमाथि गोली प्रहार गर्दा उनको मृत्यु भयो।

नजिकै पार्क गरिएको एउटा कारको खानतलासी गर्दा आक्रमणकारीले बाल्यकालमा उक्त विद्यालयमा अध्ययन गरेको आधार फेला परेको प्रहरीले जनाएको छ।

‘योजनाबद्ध आक्रमण र प्रतिशोध’

खानतलासीका क्रममा भवनभित्र प्रवेश गर्ने स्थान देखिने नक्सा, आक्रमणको योजना र एउटा घोषणापत्र फेला परे। छिमेकमा रहेको एउटा घरमा खानतलासी गर्दा प्रहरीले सन्दिग्ध आक्रमणकारीका बुवासँग पनि कुरा गरेको थियो।

नाश्भिल प्रहरी प्रमुख जोन ड्रेकले एनबीसी न्यूजसँग कुरा गर्दै सन्दिग्ध व्यक्ति ‘प्रतिशोधको भावना’बाट प्रेरित भएको देखिएको जनाएका छन्। तर त्यो के हो भन्ने स्पष्ट भइसकेको छैन।

ड्रेकले आक्रमणकारीले “विद्यालयमा जोकोहीलाई लाग्न सक्नेगरी निसाना बनाएको… जसलाई देख्यो उसैमाथि गोली प्रहार गरेको” बताएका छन्।  प्रहरीका अनुसार उनको घोषणापत्र भनिएको दस्तावेजमा उल्लेख गरिएका कैयौँ ठाउँमध्ये उक्त विद्यालय पनि थियो।

अमेरिकामा बारम्बार ठूला गोलीकाण्ड

घटनापछि विद्यालय र गिर्जाघरहरूले प्रार्थनासभा गर्ने योजना बनाएका छन्। राष्ट्रपति जो बाइडनले अमेरिकी संसद्सँग पुनः त्यस्ता आक्रमणमा प्रयोग गरिने राइफलहरूलाई प्रतिबन्ध लगाउने कानुन पारित गर्न आग्रह गरेका छन्।

सो कानुनले युवावस्थाका क्रेतालाई बन्दुक किन्नमा कडाइ गर्नुका साथै जोखिमयुक्त ठानिएका व्यक्तिबाट बन्दुक फिर्ता लिन राज्यहरूलाई प्रोत्साहन गर्छ। उनले यस महिनाको अन्त्यसम्म अमेरिकी झण्डा आधा झुकाउने आदेश दिएका छन्।

अमेरिकामा बन्दुकका कारण हुने हिंसाको तथ्याङ्क सङ्कलन गर्ने गैरनाफामूलक संस्था ‘गन भाइअलन्स आर्काइभ’ का अनुसार यो सहित अमेरिकामा सन् २०२३ मा १२९ वटा सामूहिक गोलीकाण्ड भइसकेका छन्।

एडूकेशन वीकले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष गत सातासम्म अमेरिकामा मानिसहरू हताहत हुनेगरी विद्यालयहरूमा १२ वटा गोलीकाण्ड भएका थिए।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्