रोबर्ट स्किडेल्स्की ।च्याटजिपिटी अहिले नै प्राज्ञिक क्षेत्रका शिक्षकका लागि टाउको दुखाइको विषय बनिरहँदा यसको तीव्र विकासले विनाशकारी परिणाम निम्त्याउने देखाउँछ।
मेरी सेलीको सन् १८१८ को चर्चित उपन्यास ‘फ्रेंकेन्स्टाइन अर द मोर्डन प्रोमिथिकस’मा वैज्ञानिक भिक्टर फ्रेंकेन्स्टाइन लासका अंग मिलाएर अत्यधिक तीक्ष्ण ‘महामानव’ बनाउँछन् । तर, यो महामानव आफ्नै सृष्टिकर्तामाथि नै जाइलाग्ने राक्षस बन्छ । मानवीय विवेक भएको मेसिन बनाउन गरिने वैज्ञानिक अनुसन्धानमा त्रुटि भएर प्रत्युत्पादक नतिजा आउँदाको अवस्थालाई उपन्यासमा रहेको फ्रेंकेन्स्टाइन राक्षसलाई बिम्बका रूपमा प्रयोग गरिन्छ ।
२२ मार्चमा फ्युचर अफ लाइफ इन्स्टिच्युटले जारी गरेको खुलापत्रमा टेस्लाका प्रमुख कार्यकारी एलन मस्क र एप्पलका सहसंस्थापक स्टिभ बज्नायकसहित प्रविधि क्षेत्रका सय अगुवाले ओपनएआईको च्याटजिपिटी–४ भन्दा शक्तिशाली एआई प्रविधि विकासमा ६ महिने रोक लगाउन माग गरे । अहिले सो पत्रमा २५ हजारभन्दा बढी हस्ताक्षरकर्ता पुगेका छन् । पत्रमा ‘मानवीय विवेकसँग प्रतिस्पर्धा गर्ने एआई प्रविधिले समाज एवं मानवतामाथि गम्भीर जोखिम निम्त्याउन सक्छ’ लेखिएको छ । पत्रका लेखकले सर्जकलाई समेत माथ दिने डिजिटल दिमागको विकास गर्ने गरी ‘काबुबाहिरको’ प्रतिस्पर्धा भइरहेको उल्लेख गरेका छन् । विश्वकै दोस्रो धनी व्यक्ति मस्कलाई अहिलेको समयको भिक्टर फ्रेंकेन्स्टाइनको संज्ञा दिन सकिन्छ । घमन्डी छवि भएका दक्षिण अफ्रिकी मूलका अरबपतिले पहिले पूर्ण स्वचालित वाहन बनाउने कोसिस गरे, नतिजा मिश्रित आयो, असफलता पनि देखिए । त्यति मात्रै नभई मस्कले मंगल ग्रहमा बस्ती बसाउन तीव्र गतिको अन्तरिक्ष यातायातको महत्वाकांक्षी योजना बुनेका थिए । मस्क त ओपनएआई कम्पनीका सह–संस्थापक नै हुन् । तर, जब सन् २०१८ मा कम्पनीलाई हत्याउने प्रयास असफल भएपछि उनले कम्पनीको बोर्ड सदस्यबाट राजीनामा दिए ।
एआई र मानवीय चेतनालाई एक ठाउँमा ल्याई काम गर्ने योजना मस्कको प्राथमिकतामा पर्ने योजना हो । सन् २०२० मा उनको न्युरालिंक नामक प्रविधि कम्पनीले सुंगुरको मस्तिष्कमा कम्प्युटर चिप राखेर तथाकथित ‘मस्तिष्क–मेसिन मिलन प्रक्रिया’को विकास गरेको थियो । जब सो सुंगुरले चारो खान्थ्यो वा सुँघ्थ्यो मेसिनले सुंगुरको स्नायु प्रणालीलाई ग्राफमा उताथ्र्यो । मस्कले यस प्रविधिले विस्मृति, तनाव, कुलत र अन्धोपनलाई समेत निको पार्ने दाबी गरेका थिए । सुंगुरको प्रयोगपछि न्युरालिंकले भिडियो गेम खेलिरहेको बाँदरको भिडियो जारी गरेको थियो ।
यी तमासा मस्कले सेखी प्रदर्शन गर्ने न्युरालिंकको मस्तिष्क संवर्धन प्रविधिमा आधारित छ । यो प्रविधि लागू हुँदा ‘महामानवीय बुद्धि’ निर्माण हुने गरी मस्तिष्कको क्षमता वृद्धि गर्ने प्रविधियुक्त कम्प्युटर चिप जताततै सस्तो मूल्यमा उपलब्ध हुनेछ । मस्कका अनुसार चिप राख्ने प्रक्रिया पूर्ण रूपमा स्वचालित हुनेछ र शरीरमा निकै कम दुखाइ हुनेछ । र, हरेक वर्ष प्रविधिमा सुधार आउँदा नयाँ मोडलसहित चिप फेर्न सकिनेछ ।
मस्कले मेसिन र जैविक तŒव मिलाएर साइबर्ग मानव सिर्जना गर्न खोजिरहँदा मान्छे नै मेसिनबाट प्रतिस्थापित हुने देखिन्छ । सन् २००५ मा ‘द सिंगुलारिटी इज नियर’ नामक पुस्तकमा भविष्यवादी रे कुर्जेलले सन् २०४५ भित्र एआईले मानवीय बुद्धिलाई उछिन्ने आकलन गरेका छन् । त्यस उपरान्त ‘विवेकी रोबोट’ले प्रविधिगत उन्नतिको जिम्मा लिनेछन् र यी रोबोट अत्यधिक फैलिनेछन्, जसले उत्तर–मानवीय भविष्यलाई उज्ज्वल पार्नेछ ।
अहिले कुर्जेलले आकलन गरेको अवस्था आई नै सकेको छ तर मस्क र अन्य कम्पनीले आफ्नो रबैया बदलेका हुन् कि भन्ने भान हुन्छ । गत वर्ष च्याटजिपिटी जारी हुँदा एआई पण्डितमाझ ठूलो खैलाबैला मच्चियो । उनीहरू एआईबाट नाफा कुम्ल्याउनुको सट्टा दिनप्रतिदिन हानिकारक बन्दै गएको एआईलाई कसरी नियन्त्रण गर्ने भन्नेमा चिन्तित देखिए ।
गुगलको सर्च इन्जिनले खोजेको विषयको लिंक उपलब्ध गराउँछ भने च्याटजिपिटी मान्छेले झैँ स्पष्ट एवं सुसंगत ढंगले उत्तर दिन्छ । हालै मेरा एक दर्शनशास्त्री मित्रले च्याटजिपिटीलाई ‘के नैतिक दर्शनमा महिलापन झल्काउने ढाँचा छ ?’ भन्दै प्रश्न गरेका थिए । उत्तर अचम्म लाग्ने गरी मानवीय थियो । अर्को भाषामा भन्ने हो मानवीय बुद्धिमत्ता पुष्टि गर्ने ट्युरिङ टेस्टमा च्याटजिपिटी उत्तीर्ण भएको छ । च्याटजिपिटी अहिले नै प्राज्ञिक क्षेत्रका शिक्षकका लागि टाउको दुखाइको विषय बनिरहँदा यसको तीव्र विकासले विनाशकारी परिणाम निम्त्याउने देखाउँछ ।
के गर्न सकिएला त ? मस्कसमेतको लगानी भएको फ्युचर अफ लाइफ इन्स्टिच्युटको हालैको नीति संक्षेपले एआईसम्बन्धी जोखिम व्यवस्थापनका उपाय सुझाएको छ । यी सुझावमा तेस्रो पक्षबाट लेखापरीक्षण र प्रमाणीकरण अनिवार्य गर्ने, कम्प्युटेसनल पावरको पहुँचलाई नियमन गर्ने, राष्ट्रियस्तरमा ‘सक्षम’ नियामक निकाय निर्माण गर्ने, एआईबाट हुने क्षतिको जिम्मेवारी लिने प्रक्रिया स्थापित गर्ने, सुरक्षा अनुसन्धानका लागि लगानी वृद्धि गर्ने र एआई उत्पन्न सामग्रीको पहिचान र व्यवस्थापनका लागि मापदण्ड तयार गर्ने रहेका छन् ।
तर बढ्दो भूराजनीतिक द्वन्द्व र वैचारिक ध्रुवीकरणको समयमा नयाँ एआई प्रविधिलाई हतियार बन्नबाट रोक्ने विश्वव्यापी मापदण्डमा सम्झौता हुने सम्भावना निकै कम देखिन्छ । जोखिमलाई लिएर प्रविधि अगुवाले एआई विकासमा ६ महिनाको रोकको माग गरे पनि यी अगुवा आफ्नो सिर्जनामा नैतिक उत्तरदायित्व प्रदर्शन गर्छन् भन्नेमा विश्वास गर्ने ठाउँ निकै कम छ ।
यो रोकले कस्तो परिणाम ल्याउँछ भन्नेमा कुनै स्पष्टता देखिँदैन । किनभने मस्क स्वयं ओपनएआईसँग प्रतिस्पर्धा गर्ने एआई प्रविधिको विकास गर्न उद्यत् छन् । के समकालीन भिक्टर फ्रेंकेन्स्टाइन जेनेरेटिभ एआईका मामिलामा इमानदार हुनेछन् वा यी अभिनय गरिरहेका छन् ? यसबारे भविष्यले बताउनेछ ।
(स्किडेल्स्की बेलायतको उपल्लो सदन हाउस अफ लर्डस्का सदस्य एवं बार्बिक विश्वविद्यालयमा राजनीतिक अर्थशास्त्रका प्राध्यापक हुन्) यो लेख नयाँपत्रिकामा छ ।
प्रोजेक्ट सिन्डिकेटबाट