सम्बन्धनको विषयलाई लिएर मध्यपश्चिम विश्वविद्यालयमा लफडा | Education Patra

सम्बन्धनको विषयलाई लिएर मध्यपश्चिम विश्वविद्यालयमा लफडा


ऐजुकेशनपत्र, सुर्खेत । सम्बन्धनको विषयलाई लिएर यतिबेला मध्यपश्चिम विश्वविद्यालयमा विवाद बढ्दै गएको छ । केही समय अघि निजी कलेजलाई समेत सम्बन्धन दिने गरी सूचना प्रकाशित गरेपछि विद्यार्थी संगठन र प्राध्यापक संघ–संगठनहरु विरोधमा उत्रिएका हुन् ।

सम्बन्धनको विषयलाई लिएर मध्यपश्चिम विश्वविद्यालयमा तनाव

उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले विश्वविद्यालयलाई निजीकरण गर्न खोजेको भन्दै केही दिन अघिदेखि विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । सोही विषयलाई लिएर उपकुलपति सिंहले मंगलबार आफ्नै निवासमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।

तर, उनको निवासमै विद्यार्थी नेताहरुको धर्ना जारी थियो भने प्रहरी तैनाथ गरिएको थियो । जसका कारण केही समय पत्रकारलाई समेत भित्र छिर्न दिइएन । पछि पत्रकारहरु गेटभित्र छिरे । करिब साढे १ घण्टा बोलेका सिंहले आफूले ऐन नियममै भएको व्यवस्थामा टेकेर सम्बन्धनको विज्ञापन खुलाएको दाबी गरे ।

सम्बन्धन दिने विषयमा केही सीमा रहेको र त्यसैको जगमा टेकेर सम्बन्धन दिइने उनको भनाइ थियो । तर, उनी आक्रोशित र चिन्तित पनि थिए । सिंहले आफू कर्णालीकै भएकाले कर्णालीको शैक्षिक उन्नतिकै लागि भनेर काम गरे पनि त्यसको जस पाउनुको सट्टा विरोध नै विरोध भइरहेको भन्दै गुनासो पोखे ।

अहिले विश्वविद्यालयस्थित उनको कार्यालयमा तालाबन्दी छ । उनी केही दिनदेखि कार्यालय प्रवेश गर्न पाइरहेका छैनन् भने सोमबार काठमाडौंबाट फर्किएका उनी निवासमै रहेको थाहा पाएपछि विद्यार्थी संगठनका नेताहरु त्यहीँ पुगेर धर्ना दिन थाले ।

सिंह भन्छन्, ‘म समाजवाद उन्मुख मान्छे हो । म संविधानको कुराभन्दा बाहिर गएको छैन । ऐनले दिएको व्यवस्थामा रहेर सम्बन्धन दिन लागिएको हो ।’

आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पक्षमा रहेको उनको भनाइ छ । उनले भने, ‘मैले आएदेखि नै यही अभियानका साथ विश्वविद्यालयको उन्नतिका लागि काम गरिरहेको छु । तर पनि सुख पाउन सकिएन ।’

आफू पैसा कमाउनका लागि नभई विश्वविद्यालयको उन्नति र शैक्षिक हब बनाउने उद्देश्यसहित आएको बताउँदै सिंहले आफूलाई ‘फेसबुके भिसी’ भनेर अपमान र तिरस्कार गरिरहेको सुनाए । उनले सम्पूर्ण राजनीतिक दलहरुलाई आफ्ना विद्यार्थी संगठनलाई सम्झाउन आग्रह गरे ।

‘म विश्वविद्यालयमा आएदेखि भौतिक संरचनाहरुको परिवर्तनका साथै केही हदसम्म उचाईमा पु¥याउने प्रयास भएको छ तर, ती कामको मूल्याङ्कन हुँदैन,’ उपकुलपति सिंहले भने, ‘ठुलो मात्राको बेरुजुलाई शून्यमा झार्ने अन्तिम प्रयासमा छु, यो काम कसैले देख्दैन । केवल राजनीतिक दल र केही व्यक्तिको आडमा रहेर विद्यार्थीहरुले आन्दोलन गर्ने र विवाद गराउने काम भइरहेको छ ।’

सिंहले विद्यार्थीलाई उचाल्ने काम प्राइभेट क्याम्पस चलाएका र मध्यपश्चिम विश्वविद्यालयमा पढाइरहेका केही प्राध्यापकले गरिरहेको बताए । यतिमात्र होइन, तिनै व्यक्ति विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री प्रचण्डकहाँ पुगेरै आफूविरुद्ध कुरा लगाउने कामहरु भइरहेको उनको भनाइ छ ।

‘यदि विश्वविद्यालयको हकहित विरुद्धमा म गएको छु भने अख्तियारदेखि सबै बसेर छलफल गरौँ, मैले के गल्ती गरेको छु ? त्यसको सजाय भोग्न तयार छु,’ उनले भने, ‘होइन भने विद्यार्थी उचाल्ने, अपशब्द बोल्ने, अराजकता मच्चाउनेदेखि धम्क्याउने काम गर्न बन्द गर्नुहोस्, राजनीतिक दलहरुलाई आफ्ना विद्यार्थी संगठनलाई सम्झाउन आग्रह गर्दछु ।’

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्