शिक्षक महासंघको प्रदर्शन-माइतीघरमा | Education Patra

शिक्षक महासंघको प्रदर्शन-माइतीघरमा


ऐजुकेशनपत्र, काठमाण्डौं । नेपाल शिक्षक महासंघको अगुवाइमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा १४ संघसंगठनले प्रदर्शन गरेका छन् । प्रदर्शनमा शिक्षकका विभिन्न संघसंगठन, विद्यालय कर्मचारी लगायत सहभागी थिए ।

उनीहरुले शिक्षा क्षेत्रको समस्याहरु समाधान गर्न आवश्यक संघीय शिक्षा ऐन खोई भन्दै प्रदर्शन गरेका हुन् । साथै उनीहरूले आगामी बजेट मार्फत न्यून बेतनमा काम गरिरहेका विद्यालय कर्मचारी र बालकक्षा शिक्षक (ईसीडी) लाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनु पर्ने माग राखे ।

न्युनतम पारिश्रमिकको माग राख्दै विद्यालयका कर्मचारी र ईसीडी शिक्षक विगत एकवर्षदेखि निरन्तर आन्दोलनमा छन् । उनीहरुलाई संघीय सरकारले ८ हजार मात्रै मासिक तलबभत्ता दिँदै आएको छ । केही स्थानीय तहले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई थप रकम दिएर १५ हजारसम्म मासिक पारिश्रमिक दिने गरेका छन् ।

शिक्षक महासंघले २०७५ र २०७८ सालमा शिक्षा मन्त्रालयसँग भएको ५१ बुँदे सम्झौता कार्यान्वयन गर्न समेत स्मरण गराएको छ । उक्त सम्झौताअनुसार शिक्षा ऐन जारी हुनुपर्ने प्रदर्शनकारीहरुको धारणा थियो । विगतका सम्झौता कार्यान्वयनका लागि दबाब दिन प्रदर्शन गरिएको महासंघले जनाएको छ । शिक्षक सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षक सरह तलबभत्ता दिनुपर्ने, सबै तह र श्रेणीका स्थायी शिक्षकको ग्रेड र तलब समान तहका निजामती कर्मचारी सरह गराउनुपर्ने माग राखिएको छ ।

तलबभत्ता सशर्त अनुदान शीर्षक अर्न्तगत पठाउने र निकासा गर्न पालिका परिषद्को निर्णय नचाहिने व्यवस्था गर्नुपर्ने माग अघि सारिएको छ । संविधानले माध्यमिक शिक्षा सम्मको अधिकार स्थानीय तहमा रहने व्यवस्था गरे पनि शिक्षकहरु पालिका मातहतमा रहँदा बेखुसी हुँदै आएका छन् ।

प्रदर्शनमा स्थायी, अस्थायी, करार, राहत, बालकक्षा, साबिक उच्चमावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालय शिक्षक लगायतका शिक्षक र विद्यालयका लेखापाल, कार्यालय सहयोगी लगायत कर्मचारी सहभागी थिए ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्