संघीय शिक्षा ऐन संसद्‍को चालु अधिवेशनमै प्रस्तुत हुन्छ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राई | Education Patra

संघीय शिक्षा ऐन संसद्‍को चालु अधिवेशनमै प्रस्तुत हुन्छ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राई


ऐजुकेशनपत्र, काठमाण्डौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्‍मा प्रस्तुत गर्ने बताएकी छिन् । शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री राईले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताका साथ काम अघि बढाइरहेको बताइन् ।

पहिला पनि मस्यौदा तयार भइ मन्त्रिपरिषद्‍मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताए । उनले कानुन मन्त्रालयमा धेरै कानुन निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताए । उनले विद्यालयको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मूल्यांकन गरेर अघि बढ्ने बताए ।

‘शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ र यो धेरै पहिला नै मस्यौदा भइकन प्रक्रियामा अघि बढेको तर सरकार परिवर्तन हुने अवस्थाले मन्त्रिपरिषद्‍मा पुग्दै फिर्ता आउने गरेको रहेछ । अहिले पनि यो प्रक्रियामा छ, यो कानुन मन्त्रालयमा छ । हामीले कानुन मन्त्रालयलाई निरन्तर अनुरोध गरिरहेका छौँ,’ मन्त्री राईले भने, ‘ तर्जुमाका दृष्टिकोणबाट भएका कमीहरु हटाउने सिलसिलामा कानुन मन्त्रालयले हेर्नुपर्ने त्यहाँ अलि समय लागिरहेको छ, धेरै कानुनहरू प्रक्रियामा रहेकाले हुनसक्छ ।’

विद्यालयको पाठ्यक्रममा मनोपरामर्शसम्बन्धी व्यवस्थामा थप सुधार गरिने मन्त्री राईले बताए । ‘यो मनोपरामर्शसम्बन्धी सामान्य कुराहरु त पाठ्यक्रममा छ तर त्यो भन्दा अलि सुधार गरेर यसलाई समाधान गर्ने ढंगले अघि लैजानुपर्ने अवस्थामा पाठ्यक्रमको पुनः मूल्यांकन गर्ने प्रक्रिया चलिरहेको छ, त्यस सम्बन्धमा हामीले आवश्यक ध्यान दिनुपर्छ,’ उनले भने ।

मन्त्री राईले विश्वविद्यालयहरुको छाता विधेयक पनि कानुनी प्रक्रियाको चरणमा रहेको बताए ।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्