एजुकेशनपत्र, काठमाण्डौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै नेपाल विश्वविद्यालय विधेयक ल्याइएको बताएका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री राईले नेपाल विश्वविद्यालय आवश्यक भएकाले नै सरकारले नेपाल विश्वविद्यालय विधेयक, २०७९ अगाडी सारेको बताए ।
मन्त्री राईले परम्परागत ढाँचामा चल्ने विश्वविद्यालयहरु मात्रै लिएर जानु उपयुक्त नहुने भन्दै नयाँ–नयाँ प्रयोग गरेर जानुपर्ने बताए ।उनले नेपाल विश्वविद्यालयलाई सार्वजनिक विश्वविद्यालयको रुपमा बनाउनुपर्ने बताए । ‘हामीसँग १३ वटा विश्वविद्यालय छन् भन्ने सत्य हो । तर त्योभन्दा पृथक ढंगले, भिन्न ढंगले यो विश्वविद्यालय सञ्चालन गर्न यो विधेयक प्रस्तुत भएको अवस्था छ । अब नयाँ नयाँ प्रयोग गरेर जानुपर्छ । किनभने एउटै खालको परम्परागत ढाँचामा मात्रै चल्ने विश्वविद्यालयहरु लिएर जान उपयुक्त हुँदैन ।’
बैठकमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले विधेयकलाई अगाडि बढाउनुपर्ने बताए । विधेयक कसले ल्यायो भन्दापनि कस्तो ल्यायो भन्नेकुरा महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले ठिक भएको खण्डमा अगाडी बढ्नुपर्ने बताए । उनले विधेयकको सम्बन्धमा पछाडि फर्किनु नहुने धारणा राखे ।
नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपाल विश्वविद्यालय निर्माणमा सरकारको पनि संलग्नता आवश्यक रहेको बताए । नीजि क्षेत्रले बनाउने भनेपनि सरकारको सहयोग र संलग्नता आवश्यक रहेको उनले बताए । उनले नेपाल विश्वविद्यालयको संगठनात्मक संरचना र पाठ्यक्रममा हस्तक्षेप गर्नु नहुने बताए ।
नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले नेपालमा धेरै विश्वविद्यालय आवश्यक नभएको बताउनु भयो । उहाँले त्रिभुवन विश्वविद्यालयलाई राम्रो बनाउनुपर्ने बताए । उनले सम्भव भए नेपाल विश्वविद्यालय विधेयकलाई जहाँबाट आएको हो उतै पठाइदिनुपर्ने बताए । उनले शिक्षा ऐन ल्याउन मन्त्री राईलाई आग्रह गरे । शिक्षा ऐन आउन ढिलाइ भइसकेको उनको भनाई छ ।