एजुकेशनपत्र, काठमाण्डौं । एसईई परीक्षा दिएर कक्षा ११ मा भर्नाको तयारीमा रहेका र कक्षा १२ को परीक्षा दिएर उच्च शिक्षाको पखाईमा रहेका विद्यार्थीलाई लक्षित गरी जेठ ३२ गते बिहीबारदेखि असार ३ गते आइतबारसम्म शैक्षिक मेला हुने भएको छ ।
मेलामा विद्यार्थीलाई पढ्ने विषय/संकाय, पाठ्यक्रम, शैक्षिक संस्था, भर्ना, शुल्क, छात्रवृत्तिलगायत विविध जानकारी दिइने आयोजक उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ (हिसान)ले जनाएको छ । शैक्षिक मेलाको आठौं संस्करण ‘कान्तिपुर हिसान एडुफेयर’ काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । बुधबार कान्तिपुर पब्लिकेसन्सका सिइओ महेश स्वाँर र हिसान अध्यक्ष रमेश सिलवालले एडुफेयर सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
४ दिन चल्ने मेलामा धेरैभन्दा धेरै विद्यार्थी जुटाएर उनीहरुले चाहेको शैक्षिक जानकारी उपलब्ध गराउन मेला आयोजना गरिएको सिईओ स्वाँरले बताए । अध्यक्ष सिलवालले मेलामा आएर एक सयभन्दा बढी शैक्षिक संस्थाबारे विद्यार्थी र अभिभावकले एकै ठाउँबाट चाहेको जानकारी प्राप्त गर्नसक्ने बताए ।
‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ शैक्षिक मेला आयोजना हुन लागेको हो । नेपालमा सञ्चालित शैक्षिक संस्थाबारे पर्याप्त जानकारी नभएर पनि विद्यार्थी पढ्नका लागि विदेश जाने गरेको उनको भनाइ छ । कक्षा ११ र स्नातक तहमा भर्नाको तयारीमा रहेका विद्यार्थीलाई नेपालमा कस्ता/कस्ता शिक्षण संस्था छन्, के–के विषयमा पढाइ हुन्छ ? पाठ्यक्रम कस्तो छ भनेर शिक्षकहरुबाटै मेलामा अन्तर्क्रिया गराइने हिसान अध्यक्ष सिलवालले बताए ।
मेला संयोजक टंकराज आचार्यले युवा विद्यार्थीको सहभागिता बढाएर बृहत् शैक्षिक मेला सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘नेपालमै सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाबारेमा सत्यतथ्य र यथार्थ जानकारी गराउन मेला आयोजना गरिएको हो,’ उनले भने, ‘विद्यार्थी र अभिभावकहरू निःशुल्क रूपमा मेलामा प्रवेश गरी शिक्षण संस्था, विषय, पठनपाठन विधिलगायत विविध विषयमा जानकारी लिन सक्नेछन् ।’
आयोजकले दैनिक हजारौं विद्यार्थीले मेलामा सहभागिता जनाउने गरी तयारी थालिएको जनाएको छ । विद्यालयदेखि कलेज र विश्वविद्यालयसम्मको जानकारी मेलाबाट लिन सकिने आयोजकको भनाइ छ । ती शैक्षिक संस्थाका शिक्षक र पढिरहेका विद्यार्थीसँग मेलामा आउने विद्यार्थीले काउन्सिलिङ गर्न पाउने हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले जनाए ।
मेलालाई थप आकर्षक बनाउन विद्यार्थीबीच अतिरिक्त क्रियाकलाप, इखेलकुद प्रतियोगिता, अन्य प्रतिभा प्रस्फुटन हुने प्रतियोगितासमेत सञ्चालन गरिने जनाइएको छ । कोभिड महामारीका बेला स्थगित कान्तिपुर हिसान मेला गत वर्ष पनि आयोजना गरिएको थियो ।
त्यतिबेला दुई लाखभन्दा बढी विद्यार्थी सहभागी भएको आयोजकले जनाएका छन् । माई सेकेण्ड टिचर मेलाको टाइटल स्पोन्सर रहेको छ । मेलाबाट स्वदेशी शैक्षिक प्रवर्द्धन गर्न उत्साही रहेको माई सेकेण्ड टिचरका को–फाउण्डर शुलभ बुढाथोकीले जनाए । कान्तिपुरबाट