त्रिविले सो जग्गा प्राध्यापक संघ भवन बनाउने प्रयोजनलाई दिएको थियो। तर प्राध्यापक संघले प्रशंसा बस्नेतलाई सो जग्गा सम्झौता गरी भाडामा दिएको थियो।
त्रिविले प्राध्यापक संघबाट जग्गा फिर्ता लिने निर्णय गरिसकेको छ।
तर त्रिविको निर्णयविरूद्ध बस्नेतले काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दासमेत दिएकी थिइन्। उनले दिएका दुवै मुद्दा दाबी नपुग्ने भन्दै अदालतबाट खारेज भएका थिए।
त्रिविले २०७९ फागुन १५ र पुस १७, २०७८ फागुन ३० र २०७७ चैत ६ मा पत्र काटेर जग्गा खाली गर्न भनेको थियो।
यो जग्गामा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयले अस्पताल बनाउने तयारी गरेको छ।
जग्गामा कम्पाउण्डवाल लगाउन बोलपत्रसमेत आह्वान गरी सम्झौतासमेत भइसकेको छ। अबको ५ दिनभित्र बस्नेतलाई उक्त जग्गा खाली गर्न त्रिविले निर्देशन दिएको छ। जग्गा खाली नगरे त्रिविले नै जग्गा खाली गर्ने सूचनामा उल्लेख छ।