एजुकेशनपत्र, काठमाण्डौं । रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनासम्बन्धी अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदन बुझाएको छ। पूर्वसचिव मानबहादुर विके संयोजकत्वको चार सदस्यीय कार्यदलले त्यसबारे विस्तृत अध्ययनपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदर किरातीलाई सुझाव र सिफारिससहितको प्रतिवेदन बुझाएको हो। सरकारले गत चैत २० मा गठन गरेको कार्यदलमा राजन मुकारुङ, भोगीराज चाम्लिङ र गीता चौधरी सदस्य छन्।
कार्यदलले प्रस्तावित रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापनाको अवधारणा, आधार, आवश्यकता र सम्भावनाका विषयमा विस्तृत प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको कार्यदलका संयोजक विकेले जानकारी दिए। कार्यदलले प्रस्तावित विश्वविद्यालय स्थापनाका लागि आवश्यक नीतिगत तथा संरचनागत पूर्वाधार तैयार गर्न विकास समिति गठनको माग समेत गरेको छ।
त्यसकालागि हालकै कार्यदलमा शिक्षा, श्रम र उद्योग मन्त्रालयका प्रतिनिधि र जानकार व्यक्ति थप गरी समितिलाई रैथाने शिल्पकला तथा संस्कृति विविध पूर्वाधार विकास समितिका नाममा विस्तार गर्न र आवश्यक बजेट विनियोजन गरिदिन माग गरिएको छ ।
त्यसरी बन्ने विकास समितिले विश्वविद्यालयको कानुनको मस्यौदा गर्ने, सम्भाव्य स्थानको यकिन गरी भौतिक पूर्वाधार निर्माण गर्ने, मुलुकका विभिन्न स्थानमा रहेका रैथाने सीप कला ज्ञान र संस्कृतिको नक्शांकन गरी सिकाइ कार्यक्रमका आधारभूत विषयवस्तु पहिचान गर्ने तथा ती विषयको सिकाइ विधि र प्रक्रिया तय गर्ने लगायत कार्यहरु गर्ने बताइएको छ ।
कार्यदलका संयोजक विकेले नेपाल स्वदेशी ज्ञान, सीप, संस्कृति र सम्पदामा धनी भएपनि पछिल्लो समय त्यस्तो कला संस्कृति लोप भएर जाने अवस्थामा रहेको बताए । ुनेपालको आधारभूत र उच्च शिक्षा आयातित ज्ञानबाट सुरु भएको पाइन्छ। स्वदेशी ज्ञान, सीप, संस्कृति र सम्पदाको अध्ययन, ज्ञानको प्रवर्द्धन र प्रसार हुन पाएको छैन,ु उनले भने, ुसरकारले जारी गरेको राष्ट्रिय संस्कृति नीति र उच्च शिक्षा आयोगको प्रतिवेदनअनसार रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना गर्न हामीले कार्यदलमार्फत् सरकारलाई केही तथ्यपरक सुझाव र सिफारिसहरु दिएका छौँ ।
कार्यदलले सो विश्वविद्यालयलाई समुदायमा आधारित गुठीयारी ढाँचामा स्थापना गर्न सकिने सिफारिस गरेको छ । जसमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र विभिन्न सामुदायिक संघसंस्था, व्यक्ति तथा व्यवसायिक प्रतिष्ठानहरु गुठीयार हुनेछन् । प्रदेशमा कम्तीमा एउटा विभाग वा महाविध्यालय संचालन गर्ने र स्थानीय तहमा रैथाने शिल्पकला तथा संस्कृति सिकाई केन्द्रहरु स्थापना गरिने कार्यदलको प्रतिवेदनमा उल्लेख छ । ुमानव विकासको नोक्सानीलाई दिगो रुपले अन्त्य गर्नका लागि मुलुकको मौलिक सीप, कला, ज्ञान, संस्कृति र सम्पदाको जगेर्ना गर्ने शिक्षा प्रणालीको खाँचो यसले पुरा गर्नेछ । समावेशी तथा संस्कृतिमैत्री विकासको ज्ञान निर्माणमा यो विश्वविध्यालय सहायकसिद्ध हुनेछ,ु संयोजक विकेले भने ।
कार्यदलले सिकाइका लागि व्यवहारिक विधि “रमाउँदै सिक्दै, सिक्दै कमाउँदै” को हरित उध्यमशिलताको ढाँचा अवलम्वन गर्ने अवधारणा तय गरेको छ भने आवधिक परीक्षा विधिबाट भन्दा पनि नियमित कार्यशाला मूल्याङकन विधिबाट ज्ञान, सीप र विवेकको सन्तुलित अन्तष्करणको स्तरका आधारमा सिकाइ प्रमाणीकरण गर्ने उल्लेख गरेको छ । विश्वविद्यालयले रोजगारमूखी व्यवहारिक सिकाई प्रदान गर्दा अध्ययनका लागि विदेश जाने वा बैदेशिक रोजगारीमा जाने क्रमलाई न्युनीकरण गर्ने कार्यदलको ठहर छ ।
ुअमेरिका, भारत लगायत विकसित देशहरुले आफ्नो मौलिक ज्ञान, सीप, संस्कृति र सम्पदाको जगेर्ना गर्ने यस्ता विश्वविद्यालय सन्चालनमा ल्याइसकेका छन् । हामी कहाँ यति धेरै रैथाने कला संस्कृति भए पनि यस्तो प्रकृतिको अवधारणा अघि बढेको थिएन,ु उनले भने, ुअमेरिकामा सन् १८६८ तिरै अश्वेत र रैथाने समुदायको शिक्षाका लागि राज्यस्तरबाटै कलेजहरु खुलेका थिए, अहिले पनि अमेरिकी शिक्षा विभागले त्यस्ता कलेजहरुको पहिचान गरेको छ ।ु
अमेरिकामा जस्तै भारतमा इन्दिरा गान्धी नेशनल ट्राइवल युनिभरसिटी नामको एक विशिष्ट विश्वविद्यालय सन्चालनमा रहेको छ भने बङ्गलादेशमा सांस्कृतिक मामिला मन्त्रालयअन्तर्गत बङ्गलादेश शिल्पकला एकेडेमी सन् १९७४ देखि नै संचालनमा छ ।