मेला रोकिएपछि १५ करोड रुपियाँबराबरको क्षति दाबीसहित मुद्दा दायर | Education Patra

मेला रोकिएपछि १५ करोड रुपियाँबराबरको क्षति दाबीसहित मुद्दा दायर


एजुकेशनपत्र, काठमाण्डौं ।  स्पष्ट आधारबिना काठमाडौँ महानगरपालिकाले राजधानीको शैक्षिक मेला रोकेको आरोप लगाउँदै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले १५ करोड रुपियाँबराबरको क्षति दाबीसहित मुद्दा दायर गरेको छ। आइतबार हिसानद्वारा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।

blog

हिसानका महासचिव लोकबहादुर भण्डारीका अनुसार मेला रोकिँदा भएको १५ करोड रुपियाँबराबरको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ।

हिसानले जेठ ३२ गतेदेखि भृकुटीमण्डपमा शैक्षिक मेला आयोजना गरेको थियो। तर माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक नहुँदै मेला स्थलबाटै विद्यार्थी भर्ना गरिएको, उनीहरूको नाम दर्ता गरेको तथा शुल्कबारे जानकारी दिइएको आरोप लगाउँदै महानगरपालिकाले सोही दिन मेला बन्द गराएको थियो।

महानगरपालिकाले मेला सञ्चालन गर्नुअघि नै सार्वजनिक सूचना जारी गरेर एसईईको नतिजा नआएसम्म कक्षा ११ को शुल्क निर्धारण तथा भर्ना प्रक्रिया सुरु नगर्न निर्देशन दिएको थियो। तर मेला आयोजकले आफूहरूको निर्देशनको अवज्ञा गरेको महानगरपालिकाको दाबी छ।

पत्रकार सम्मेलनमा हिसान, प्याब्सनलगायतका निजी शिक्षालय सञ्चालक सम्बद्ध नौ वटा संस्थाका प्रतिनिधिले स्पष्ट कानुनी आधारबिना महानगरपालिकाले मेला रोकिएको जिकिर गरे। उहाँले मेला स्थगित गरेकोबारेमा महानगरपालिकाले आधिकारिक पत्र नदिएको तथा आफूहरूले यसबारे जानकारी लिन खोज्दासमेत महानगरपालिका प्रमुख बालेन्द्र साहले बेवास्ता गरेको आरोप लगाउनुभयो।

मेला स्थगित भएपछि भृकुटीमण्डपस्थित सभा हलमा महानगरपालिकाले ताला लगाएको छ। मेलाका लागि तयार स्टल पनि त्यत्तिकै छन्। स्टल अवलोकन गर्न तथा त्यहाँको सामान उठाउन खोज्दासमेत महानगरपालिकाले अवरोध गरेको हिसान महासचिव भण्डारीले बताउनुभयो।

" Educationpatra.com!"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी एजुकेशन पत्र  [Email : info@educationpatra.com]

     
प्रतिक्रिया दिनुहोस्