एजुकेशनपत्र, काठमाण्डौं । कैलाली निवासी प्रनिषा भट्टराई कक्षा १२ को परीक्षा सफलतापूर्वक पास गरेर भर्खर काठमाडौं आइपुगेकी छिन् । हाल बागबजारको होस्टेलमा बसेकी उनले पुतलीसडकस्थित कन्सल्टेन्सीमा आईएलटीएस कक्षामा भर्ना गरेकी छिन् । कक्षा १२ को नतिजा र आईएलटीएसको तयारी पूरा भएपछि, प्रनिषाले आफ्नो पढाइलाई विदेशमा अगाडि बढाउने सोचमा छिन्।
प्रनिषासँगै काठमाडौंमा रहेका अन्य चार जना साथीहरू पनि आईएलटीएस परीक्षाको लागि तयारी गरिरहेका छन् । तिनीहरूको सामूहिक आकांक्षा उनीहरूको कक्षा १२ को नतिजा घोषणा हुने बित्तिकै उच्च शिक्षाको लागि विदेश जाने हो।
आफ्नो कुरा राख्दै प्रनिषाले भनिन्, जति पढे पनि नेपालमा जागिरको सुरक्षा न्यून छ। पढाइ र आम्दानी दुवैको राम्रो अवसर भएकाले विदेशमा करियर बनाउनु बढी फाइदाजनक हुन्छ। नेपालमा किन बेरोजगार बस्ने । पढेर अरु कतै काम गर्दै पैसा कमाउन सकिन्छ ।
प्रनिशा जस्तै, उनका २० भन्दा बढी सहपाठीहरू पनि काठमाडौं आएका छन् र सक्रिय रूपमा आईएलटीएस तयारीमा लागेका छन्। तिनीहरूको साझा उद्देश्य भनेको चाँडो भन्दा चाँडो विदेशी शैक्षिक यात्रामा लाग्नु हो।
यसैबीच दाङका पवन चौधरी पनि पुतलीसडकस्थित कन्सल्टेन्सीमा आईएलटीएसको तयारीमा जुटेका छन् । उनको लक्ष्य क्यानडामा अध्ययन गर्ने हो ।
तिनीहरूमध्ये धेरैले क्यानाडालाई उनीहरूको भावी अध्ययन गन्तव्यको रूपमा लिने गरेका छन्। उनीहरुका लागि क्यानाडा जान नपाएमा अष्ट्रेलिया वैकल्पिक विकल्प हुन सक्छ । त्यो पनि असफल भएमा अन्य कुनै देशहरूमा अध्ययनको अवसरहरू खोज्ने विचार गरेका छन।
चौधरीले भने, पढाई सकेर नेपालमा बेरोजगार भएर बस्नु भन्दा पनि समृद्ध देशमा बसोबास गर्नु उपयुक्त हुन्छ होला। त्यहाँ राम्रो आम्दानीको सम्भावना हुनुको साथै थप अध्ययन गर्ने अवसर पनि मिल्छ तर नेपालमा त्यो अबसर भने छैन् । उनको विचारमा नेपालमा अध्ययन गर्नु भनेको समयको बर्बादी गर्नु मात्र हो ।
अहिले पुतलीसडक, बागबजार, बानेश्वर, कोटेश्वर लगायतका प्रामर्स केन्द्रहरुमा प्लस टु पढेका विद्यार्थीको भीड लागेको छ । तिनीहरू लगातार विभिन्न परामर्श केन्द्र, अंग्रेजी भाषा कक्षाहरूमा सहभागी हुने र क्यानडा, अष्ट्रेलिया, यूके, फिनल्याण्ड, र जस्ता देशहरूमा अध्ययन गर्न जाने तयारी गरिरहेका छन्।
परिस्थितिलाई ध्यानमा राख्दै, शैक्षिक परामर्शदाताहरूले अहिले उच्च माग भइरहेको अनुभव गरिरहेका छन्। उनीहरू विद्यार्थीहरूलाई पढाउने, विदेशका बारेमा जानकारी दिने र भिसा आवेदनमा सहयोग गर्ने काममा व्यस्त छन्।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का महासचिव दिपकराज भुसालले हाल परामर्श सेवा लिन आउने अधिकांश विद्यार्थी प्लस टु पढेका विद्यार्थी रहेको एजुकेशनपत्रलाई बताए ।
विद्यार्थीहरू प्लस टुको परीक्षा सकिएलगत्तै विदेशमा पढ्न जाने प्रष्ट भएको छ । महासचिव भुसालले विद्यार्थीहरूले नेपालको वर्तमान शिक्षा प्रणाली अन्तर्गत सिमित जागिरको सम्भावना रहेको दाबी गर्दै असन्तुष्टि व्यक्त गरे।
उनले अगाडी भने, अधिकांश विद्यार्थीहरू मुख्यतया अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत र फिनल्याण्ड जस्ता देशहरूमा केन्द्रित छन्।
हिसानले भर्खरै आयोजना गरेको शैक्षिक मेलामा उच्च शिक्षाको अवसर खोज्ने विद्यार्थीको संख्या उल्लेखनीय रुपमा कम देखिएको थियो । हिसानका बरिष्ठ उपाध्यक्ष युवराज शर्माले विगतका वर्षको तुलनामा मेलाले विदेश अध्ययन गर्न चाहने विद्यार्थीको संख्यामा उल्लेख्य बृद्धि भएको बताए ।
पछिल्लो समय उच्च शिक्षा अध्ययन अनुमति (एनओसी) लिने व्यक्तिको सङ्ख्यामा निकै वृद्धि भएको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको एनओसी शाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०–०७१ मा २८ हजार १२६ जनाले एनओसी पाएका थिए ।
नेपाली विद्यार्थीहरूले अष्ट्रेलिया, क्यानडा, जापान, संयुक्त राज्य अमेरिका, बेलायत र दक्षिण कोरिया जस्ता लोकप्रिय गन्तव्यहरू भएका ७० भन्दा बढी देशहरूमा उच्च शिक्षा अध्ययन गर्ने गरेको पाइएको छ।
त्यस्तै आर्थिक वर्ष २०७१–०७२ मा ३० हजार ७९७, आर्थिक वर्ष २०७२-०७३ मा ३७ हजार १४८ जनाले अध्ययन अनुमतिपत्र लिएका छन् । २०७३-०७४ मा ५० हजार ७९६ जना, २०७४-०७५ मा ५८ हजार ७५८ जना, २०७५-०७६ मा ६३ हजार ४१७ जना, २०७६-०७७ मा ३३ हजार १९६ जना, २०७७-०७८ मा २७ हजार ९७८ जना, २०७८-७९ मा १ लाख २५ हजार ४ र २०७९-८० को जेठसम्ममा १ लाख १७ हजार जनाले एनओसी लिएका छन् । कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६-०७७ र २०७७-०७८ मा एनओसी लिनेको संख्या घटेको देखिन्छ ।
यसरी उच्च शिक्षा अध्ययनका लागि ७० भन्दा बढी देशमा नेपाली विद्यार्थीहरू जाने गरेको पाइएको छ । जसमा अष्ट्रेलिया, क्यानडा, जापान, अमेरिका, बेलायत, दक्षिण कोरिया लगायतका देशमा बढी जाने गरेका छन् ।
एनओसी शाखाका अनुसार गएको वर्ष अष्ट्रेलियाका लागि मात्रै ५० हजार ७४२ जनाले एनओसी लिएका थिए । त्यस्तै जापानका लागि २० हजार ३ जनाले, क्यानडाका लागि १६ हजार ७१६ एनओसी लिएका थिए । बेलायतका लागि ८ हजार ७०७ जनाले, अमेरिकाका लागि ५ हजार ८२ जनाले एनओसी लिएका थिए ।