एजुकेशनपत्र, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्न १९ संस्थालाई अनुमति दिएको छ। यी संस्थाहरूले वेबसाइट, एसएमएस र आईभीआर जस्ता विभिन्न प्लेटफर्महरू मार्फत नतिजा उपलब्ध गराउनेछन्। १९ संस्थामध्ये १४ संस्थाले आफ्नो वेबसाइटबाट नतिजा दिनेछन् भने ५ संस्थाले एसएमएस र आइभिआरमार्फत नतिजा दिनेछन् ।
यस वर्ष बोर्डसँगको सहकार्यमा नेपाल टेलिकम, एनआईसी एशिया बैंक, आइडियु सञ्जल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस प्रालि, खल्ती प्रालिलगायत विभिन्न संस्थाले आफ्नो वेबसाइटमार्फत नतिजा उपलब्ध गराउनेछन् । साथै, नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र अन्य पाँच संस्थाले MMS र IVR मार्फत नतिजामा पहुँच उपलब्ध गराउनेछन्।
बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको र शुक्रबारसम्ममा नतिजा सार्वजनिक गर्ने योजना रहेको बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने काम भइरहेको र तयारी तीव्र पारिएको बताए ।
पुरानो पाठ्यक्रम अनुसार अध्ययनको अन्तिम वर्ष भएकाले पुरानो लेटर ग्रेडिङ प्रणालीका आधारमा नतिजा सार्वजनिक गरिने भएको छ ।
बोर्डले २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्त निर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधन गर्दै सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।
चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट ८५ हजार ३९६ विद्यार्थीको सहभागिता रहेको थियो ।